विभिन्न सहरमा जोडिए ११ हजार स्मार्ट सडक बत्ती

हिमाल प्रेस १८ भदौ २०८० १४:४२
विभिन्न सहरमा जोडिए ११ हजार स्मार्ट सडक बत्ती
काठमाडौँ- ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत विभिन्न सहरमा ११ हजारभन्दा बढी स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा हाइमास्ट लाइट र ११ हजारभन्दा बढी स्मार्ट बत्ती जडान गरेको हो।
प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब ४२ करोड योगदान गरेको छ। प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत स्थानीय तहसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ। यसबाट सहरको सौन्दर्य बढ्ने हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ।
प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका मठमन्दिर र पर्यटकीय क्षेत्रमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि विद्युत् नपुगेका ठाउँको विद्युतीकरण र सहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए। ‘घरघरमा विद्युत् बालेर मात्र नहुने रहेछ, सहरी सौन्दर्यता तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनुपर्ने रहेछ, त्यसैले स्थानीय तहको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो, अहिले देशभरका स्थानीय तहबाट सडक बत्ती जडानको माग आइरहेको छ,’ उनले भने।
प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइट नियन्त्रण गर्न सकिन्छ। यसका लागि फिडर प्यानल जडान गरिएको छ। सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएका छन्। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधैँ जोडिएको हुन्छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था भएको प्राधिकरणको भनाइ छ। सफ्टवेरबाट विद्युत् महसुलको बिलिङ गरिन्छ भने बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। महसुल सम्बन्धित पालिकाले तिर्नेछन्।
ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भीमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान भइसकेको छ। भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ।
काठमाडौँसहित तीन महानगरपालिका, तीन उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ। प्राधिकरणका अनुसार सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खू सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ।
बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी साझेदारी रहने छ। उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ। त्यस्तै नगरपालिकामा ६५ प्रतिशत र ३५ प्रतिशत प्राधिकरणको लगानीमा नगरपालिका क्षेत्रमा बत्ती जडान भइरहेका छन्। यसैगरी गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले व्यहोर्ने छ।
लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गरिरहेको छ। जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने जनाइएको छ। नगरपालिकाले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
प्रकाशित: १८ भदौ २०८० १४:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =