नियात्रा

गोसाईंकुण्डको यात्रा : प्रकृति र ईश्वरसँग साक्षात्कार

राजाराम बर्तौला १६ भदौ २०८० १४:३७
88
SHARES
गोसाईंकुण्डको यात्रा : प्रकृति र ईश्वरसँग साक्षात्कार
समुद्र मन्थनमा निक्लिएको विष सेवन गर्दा त्यसको जलनले शिवजीको घाँटी नीलोमात्र भएको थिएन, त्यो जलनलाई शीतलता प्रदान गर्न उनले त्रिशूल नै रोपेका थिए। त्रिशूल रोप्दा तीनधाराबाट प्रवाहित जलधाराले भरिएको कुण्डमा लम्पसार परेर विषको जलनलाई शान्त पारेका थिए रे देवाधिदेव महादेवले। त्यो पर्वत जहाँबाट पानीको तीनजलधारा प्रवाहित हुन्छ, जुन त्रिशूली नदीको स्रोत पनि हो। महादेवको त्रिशूल भेदनबाट बनेको कुण्डलाई गोसाईंकुण्ड भनिन्छ। भगवान् नीलकण्ठको वास भएर होला गोसाईंकुण्ड पर्वतलाई ‘निलाद्री’ भनिन्छ। निलाद्रीको अर्थ नीलो हुन्छ र साउन महिना घना बादलले छोपिँदा नीलो नै देखिँदा नाम सादृश्य छ।
गोसाईंकुण्ड हिन्दू तथा बौद्धमार्गीको पवित्र तीर्थस्थल हो। भाद्र पूर्णिमाको दिन अर्थात् जनैपूर्णिमाको दिन यहाँ ठूलो मेला लाग्छ। मेला हेर्न नेपाल र भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु आउने गर्छन्।  गोसाईंकुण्ड काठमाडौँबाट सीधा नाप्यो भने ४३ मिलोमिटर टाढा छ। यो रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकाअन्तर्गत लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्छ। यसको पूर्वमा हेलम्बु र पश्चिममा लाङटाङ उपत्यका छ। सुन्दरीजल चिसापानी भएर जाँदा तीन बास बढीमा चार बासमा सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड पुगिन्छ। काठमाडौँबाट छोटो मार्गचाहिँ रसुवाको धुन्चे हुँदै जाँदा बढीमा तीन दिनमा पुगिन्छ।
सुन्दरीजल चिसापानी भएर जाँदा ३३ किलोमिटरको दूरीमात्र हिँड्नपर्ने भए पनि बीचबीचमा तीनवटा भन्ज्याङ र चुली नाघेर हिँड्नुपर्ने हुँदा एकबास बढी लाग्छ। उकालो हिँड्न सक्नेहरू धुन्चेबाट एकै दिनमा नै गोसाईंकुण्ड पुगेर बास बस्न सक्छन् भने ठिक्कै हिँड्नेहरू बीच बाटोमा बास बसेर अर्को दिन बिहान कुण्डमा पुग्छन्।
गोसाईंकुण्ड वरिपरि १०८ कुण्ड छन् भनिन्छ। तर धुन्चेबाट गोसाईंकुण्डतर्फ लौरीबिनाको उकालो काटेर गएपछि बाटैबाट देखिने कुण्ड भने नागकुण्ड र भैरवकुण्ड हुन्। यहाँको सरस्वतीकुण्ड पनि चर्चामा आउने कुण्डमध्ये पर्छ। गोसाईंकुण्डको गहिराइ ८७ फिट छ भनिन्छ भने भैरवकुण्डको १९४ फिट। गोसाईंकुण्डको यात्रा धार्मिक दृष्टिकोणले मात्र नभई पर्यावरण, साहसिक पदयात्रा, वनस्पतिक विविधता र रेडपाण्डाको वासस्थान भएकाले पनि महत्त्वपूर्ण छ। राष्ट्रिय निकुञ्ज भएका कारण यसको उचित संरक्षणमा नेपाली सेना खटिएको छ।
साथीहरूसहित म जनैपूर्णिमाको ११ दिनअघि काठमाडौँबाट त्यसतर्फ गएको थिएँ। तीनवटा बाटो भएर रसुवा जान सकिन्छ। पहिलो, बालाजुबाट रानीपौवा हुँदै, दोस्रो बालाजु माछापोखरीबाट छहरे हुँदै र तेस्रो, बालाजुबाट गल्छी हुँदै विदुर पुग्ने। तर जुन बाटो गए पनि नुवाकोटको बिदुर हुँदै उत्तर गया नामले परिचित बेत्रावती भएर जानुपर्छ धुन्चे। रानीपौवा भएर जाने वा छहरे भएर जाने दुवै बाटोको अवस्थाभन्दा गल्छी भएर जाने बाटोको अवस्था राम्रो छ। नागढुंगाबाट नौबिसे हुँदै गल्छी भएर जाँदा लामो बाटो हिँडेको जस्तो लाग्छ। तर बाटो सहज भएकाले यात्रामा तुलनात्मक रूपमा कम समय लाग्छ।
हामी टिमुरे यातायातको टिकट काटेर धुन्चे बासका लागि हिँड्यौँ। टिमुरे तिब्बतको सीमानजिकैको सानो बजार हो। नेपाल-चीनबीचको व्यापारमा बिस्तारै स्थान ग्रहण गर्दै आइरहेको नाम पनि हो। यहाँ जान एउटा छुट्टै कार्यक्रम बनाउन आवश्यक छ। हाम्रो कार्यक्रम गोसाईंकुण्डसम्मको मात्रै भएकाले लाङटाङ उपत्यका र हिमालको अवलोकन गर्न अर्को पटक आउने विचार गर्‍यौँ।
गल्छीको पुल कटेर त्रिशूलीको किनारैकिनार हुइँकियौँ उत्तरतर्फ। बर्खाको भेलले त्रिशूली उर्लिएको थियो। त्रिशूलीको अमृतधाराले सिञ्चित किनाराका बस्ती, खेतका गरा-कान्ला किसानका पौरखले सजिएका र प्रकृतिको सुन्दरताले छपक्क छोपेका दृश्यले हाम्रो यात्रालाई रोमाञ्चित बनायो। तादी र त्रिशूलीको दोभान देवीघाटले नेपाल एकीकरणको इतिहासलाई सम्झाउँछ। धानका हरिया फाँट हेर्दै र रमाउँदै अगाडि बढ्यौँ। विदुर, नुवाकोट जिल्लाको प्रशासनिक केन्द्र पुग्यौँ।
नुवाकोट भएर यात्रा गर्दा बजारभन्दा केही माथि डाँडा चढेर नुवाकोट दरबार घुम्न सकिन्छ। २०७२ सालको महाभूकम्पले क्षति गरेको दरबार चिनियाँ सहयोगमा पुनर्निर्माण गरिएको छ। ऐतिहासिक स्थल नुवाकोट दरबार अवलोकन गरेर रसुवा जाँदा पनि हुने थियो। तर त्यहाँ घुम्दा एक दिन थप लाग्ने हुँदा हामी धुन्चे हिँड्यौँ।
विदुरबाट उकालो लागेपछि बेत्रावती पुगिन्छ। बेत्रावतीले सानो बजारको रूप लिइरहेको छ। बेत्रावती र त्रिशूलीको संगमलाई उत्तरगया पनि भनिन्छ। यहाँ पितृश्राद्ध गर्न श्रद्धालु आउँछन्। धार्मिक तथा सांस्कृतिक हिसाबले मात्र यो ठाउँको महत्त्व बढेको होइन। नेपाल-तिब्बत युद्ध हुँदा तिब्बतको सहयोगमा आएको चिनियाँ सेनासँग समेत नेपाल लडेको थियो।
सन् १७८९ मा भएको युद्धमा नेपालले विजय प्राप्त गरेको थियो। युद्धको क्षतिपूर्ति दिने गरी भएको सन्धिमा तिब्बतले रकम भुक्तानी नगरेपछि पुनः सन् १७९२ मा युद्ध हुँदा तिब्बतको सहयोगमा आएको चिनियाँ सेनासँग नेपाली सेनाले युद्ध लड्दा बेत्रावतीमा सन्धि भएर शान्ति कायम भयो। यो सन्धिले नेपालका राजाले प्रत्येक पाँच वर्षमा उपहारसहित एउटा कूटनीतिक मिसन बेइजिङ पठाउनुपर्ने व्यवस्था गरेको थियो। जुन धेरै पछिसम्म पनि कायम रह्यो।
पश्चिम किल्लाका कमान्डर अमरसिंह थापा युद्धमा नेपालको हार र सुगौली सन्धिपछि विरक्तिएर हिँडेका थिए। मनमा शान्ति र चैन थिएन सायद। हारको पीडाले हो वा मनको अशान्तिले उनी पनि गोसाईंकुण्डको तीर्थ गर्न भनेर हिँडे। उनले यहाँ आएर आफ्नो देह त्याग गरेका भनिन्छ। त्यस हिसाबले गोसाईंकुण्ड नीलकण्ठको विष शमन गर्न मात्र नभएर सामान्य मानिसको पीडाहरण गर्न र मनोवाञ्छित फल प्राप्त गर्ने ध्येयले समेत विशिष्ट तीर्थस्थल हो भनेर मानिन्छ।
बेत्रावती छिचोलेर हामी बास बस्न धुन्चे पुग्यौँ। ‘धुन्चेको मौसम रुन्चे’ एउटा मित्रले भने। हामी धुन्चे पुग्दा मौसम घमाइलो थिएन। उत्तर भारतमा भएको मनसुनको न्यूनचापीय प्रणालीले नेपालमा भारी वर्षा हुन सक्ने भन्दै मौसम विभागले सूचना जारी गर्दै थियो।
परम्परागत विश्वास पनि यही छ कि गोसाईंकुण्डको मेलामा झरी नपर्ने भन्ने हँदैन। त्यसैले धेरैले भन्ने गर्छन्- ‘गोसाईंकुण्डबाट फर्कनेले पानी लिएर आउँछन्। जाडो लिएर आउँछन्।’   यही झरीबाट जोगिन हामी केही दिनअघि नै यात्रामा निस्किएका थियौँ। तर सोचेको जस्तो कहाँ हुन्छ! धुन्चेमा एक रात बास बसेर बिहान ७ बजे उकालो लाग्यौँ।
पहाडको उकालो सुरु हुनुअघि नै फेदीमा ‘मिनी गोसाईंकुण्ड’  बनाइएको रहेछ। हाम्रो उमेर देखेर धुन्चेका होटल साहुजीले बिस्तारै जाने र पहिलो बास मिनी गोसाईंकुण्डमा गर्न सुझाएका थिए। कपाल पाकेका हामी गोसाईंकुण्डसम्म पुग्न सक्दैनौँ कि भन्ने लागेको हुनुपर्छ। हामीचाहिँ ‘भोलि साँझ यही होटलमा बास बस्न आउँछौँ’ भन्दै हिँडेका थियौँ।
हाम्रो हिँडाइ देखेर बाटोमा भेटिएजति सबैले प्रशंसा गरे। हामी पनि फुर्कियौँ। बाटोमा भेटिएका किशोरी, चिकित्सक, इन्जिनियरले नपुग्दासम्म हाम्रो साथ छोडेनन्। कुण्ड पुगेपछि भने उनीहरू सूर्यकुण्डतर्फ लागे हाम्रो यात्रा गोसाईंकुण्डमै सकियो।
उकालो उक्लिँदा सुरुमा गाह्रो भयो। बिस्तारै अभ्यस्त हुँदै जाँदा उकालो पनि बाध्यताभन्दा रहर बन्दै जान्छ। यो मेरो दोस्रो गोसाईंकुण्ड यात्रा हो। यात्रामा मलाई निकै मन पर्ने ठाउँ हो, चन्दनबारी। धुन्चे २०३० मिटर उचाइमा अवस्थित छ। चन्दनबारी ३०४५ मिटरमा। धुन्चेबाट हिँडेपछि चन्दनबारीमा खाना खाने हाम्रो योजना थियो। बिहान ७ बजे हिँडेको १० बज्दा देउराली पुगिएछ। देउराली २६२५ मिटरको उचाइमा छ।
यहाँ दुईवटा आवासीय होटल छन्। जहाँ खान र बस्ने व्यवस्था छ।  जनैपूर्णिमाको मेला भर्न आउनेको लागि भनेर बाटैभरि छाप्रोको व्यवस्था गरिएको छ। निश्चित रकम तिरेर उक्त थार्पुमा सुत्न र खान पाइन्छ। हामीले पनि यस्तै थार्पुमा खाना खायौँ। हामीसँगै हिँडेका दुई किशोरीले चन्दनबारीमा पुगेर खाने निर्णय गरे। हामी चन्दनबारी पुग्दा २ बजेको थियो। बाटो अझै लामो थियो। जानु टाढा थियो। उद्देश्य लौरीबिनामा पुगेर बास बस्ने थियो। चन्दनबारीको परिवेशको आनन्द नलिई कसरी जाने? एकछिन सुस्ताइयो। कफीको चुस्कीले ज्यानमा ताजगी भरियो। चन्दनबारीलाई बादलले छपक्के छोपेको थियो। हरियो जंगल, सिमसिम पानी, मसिनो हावाको गतिसँगै लेक चढिरहेका बादल हेरेर आनन्दित भइयो।  जति सकस चन्दनबारीसम्म हिँड्न हुन्छ, त्यति गाह्रो हुँदैन चोलाङपाटी पुग्न। पसलेले ‘एकछिन बसेर, चिया पिएर जानोस्’ भनेर कराइरहेका थिए। एक बहिनीले ‘लसुनको सुप पिएर जानुस् लेक लाग्दैन’ भन्दा हामीलाई पनि उनको कुरा ठीक लाग्यो।
कुण्डमा पुगेर फर्किइरहेका एक जनाले हाम्रो हातमा लसुनको पोटी र अदुवा थमाइदिएका थिए। यात्रामा यस्ता शुभेच्छुक भेटिँदा रमाइलो लाग्छ। झन् लसुनको सुप पिउन पाउने भएपछि मौका किन छोड्ने भनेर सुप खायौँ। अनि उकालो लाग्यौँ। साँझ पर्दै थियो। खुट्टा गल्दै थिए। लौरीबिनाको फेदीमा दुइटा होटल छन्। हामी त्यहीँ बास बस्यौँ।
लौरीबिनाको उकालोले मान्छेलाई लगाउँछ। ठूला रूख, बुट्यान र भुइँफूलको सुगन्धले यात्रुलाई गलाउँछ। लौरो नटेकी ठिमठिम हिँडौँला भनेर कमैले आँट्छन्। उहिलेउहिले गोसाईंकुण्डको तीर्थ आउँदा घरव्यवहारको हिसाबकिताब बुझाएर आउँथे रे! हामी उकालो लाग्दा एक जना महिलालाई नेपाली सेनाका जवान बोकेर झार्दै थिए। लेक लाग्दा समयमै विचार पुर्‍याइएन भने ज्यान जोखिममा पर्न सक्छ। लेकमा टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिए भने लेक लागेको हुन सक्छ। यस्तो अवस्थामा माथि चढ्नुभन्दा तल ओर्लनु ठीक हुन्छ।
बिहान ५ बजे उठेर लौरिबिनाको उकालो चढेर बुद्ध गुम्बा हुँदै गोसाईंकुण्ड पुग्दा ९ बजेको थियो। चट्टान काटेर बनाएको बाटो भएर हिँड्नुपर्छ केही किलोमिटर। लौरिबिना काटेपछि चट्टानी बाटोबाट भैरवकुण्ड, नागकुण्ड आदि लघुकुण्ड देखिनुपर्ने थियो। मौसमको प्रतिकूलताका कारण देख्न सकिएन। बादलले छपक्क छोपेको थियो।
पसिना चुहाउँदै, थाकेका खुट्टालाई विश्राम दिँदै, उकालो कति छ भन्दै ठाडो घाँटी पारेर हेर्दा रूखको छिद्रबाट नीलो आकाश नाप्दै, एकपछि अर्को भञ्ज्याङ र चौतारी पार गर्दै शिखरतर्फको यात्रा अद्भुत र अविस्मरणीय रह्यो। लौरिबिनाको उकालो काटेपछि ठूलै सफलता हात लागेको महसुस भयो।
गोसाईंकुण्डमा डुबुल्की लगाउँदै भगवान् शंकरको दर्शन गरेर कुण्डको परिक्रमा गर्नेहरू पनि हुन्छन्। हामीले कुण्डको परिक्रमा गरेनौँ। भगवान् नीलकण्ठको त्रिशूल भेदनबाट प्रवाहित तीनधाराको पानी बोतलमा भरेर झोलामा राख्यौँ। जुन बाटो गएका थियौँ सोही बाटो फर्कियौँ।
लौरीबिनाको ओरालो सकेर तल झर्दै गर्दा बाटोमा एकल पथिक भेटिए। ब्याक प्याक बोकेर यायावरझैँ आफ्नै धुनमा हिँडेका। यिनी रहेछन्, बीबीसी नेपालीका पूर्वपत्रकार सुरेन्द्र फुँयाल। हामीलाई देखेर उनी टक्क अडिए र सोधे, ‘के रहरले हो यो उमेरमा धर्म कि कर्म?’  उत्तरमा एक जना साथीले भने, ‘दुवै’। जबाफ दिएर हामी खुरुखुरु हिँड्यौँ।
नेपालीहरूको बानी नै छ। बाटोमा भेटेको अपरिचतसँग पनि नाम, ठाउँ सोध्ने। त्यही भएर मैले पनि उनको परिचय सोधेँ। बीबीसीको जागिर छाडेर यस्तै यायावर भएर हिँड्न रमाउने भएका रहेछन्। अनलाइन चलाउँछु भन्थे। ब्याकप्याकको पछाडि च्याउले भरिएको झोला बोकेर हिँडेका रैछन्। ‘यो उकालो लाग्दै गर्दा च्याउ बोकेको चाहिँ किन होला?’ मेरो जिज्ञासामा उनले भने, ‘नेपाल अद्भुत, अकल्पनीय र अलौकिक ठाउँ हो। यो स्वर्गतुल्य छ। यसलाई नजिकबाट नियाल्न सक्नुपर्छ। यो च्याउ आज बिहानको मेरो लन्च हो। यसैलाई उमालेर खाएर हिँड्दै छु। बाँकी दिउँसो खाने विचार छ। यो अति पौष्टिक छ। जापानिज सिताकाने च्याउभन्दा यो कैयौँ गुणा शक्तिवर्धक छ।’
यो च्याउ विशिष्ट रहेछ भन्ने हामीले स्थानीयबाट पनि सुनेका थियौँ। बाटोमा खाएमात्र झोलामा बोकेर बाहिर लिएर जान नपाइने रहेछ। निकुञ्जको पहरामा बसेका सिपाहीको नजरबाट लुकाएर बाहिर ल्याउन कठिन रहेछ। यो च्याउचाहिँ सेतो थियो। अर्को पहेँलो च्याउचाहिँ लिएर जान दिन्छ भन्दै किन्न कर गरिरहेका थिए स्थानीय पसले।
यहाँको भूगोल, जनजीवन, जनजाति, रहनसहन, संस्कार, संस्कृति, वनस्पति, फूल, कन्दमूल, चरा, जनावर सबै अतुलनीय छन्। मानिस अदम्य साहसका धनी छन् भने जनजीवन कष्टकर र दुरुह छ। र पनि स्वान्त सुखाय देखिन्छ।
बाटोभरि प्लास्टिकका बोतल फालिएका छन्। बिस्कुट, चाउचाउ, गुटखा, पानसुपारीका खोल छरपस्ट देखिन्छन्। यो फोहोर पर्यावरणका लागि हानिकारक हो। यात्रुले सामान्य चेतना र सतर्कता राख्ने हो भने फोहोरलाई व्यवस्थापन गर्न सकिन्छ। धुन्चेमा गाउँपालिका अध्यक्षसँग भेट हुँदा हामीले यो कुरा राख्यौँ। उनले यसबारे काम गर्ने बाचा गरे।
उकालो उक्लिनुभन्दा ओरालो ओर्लनु कठिन हुने रहेछ। पिँडौला र तिग्रा बाउँडिएर खुट्टाले पिङ खेल्न खोज्न थालेपछि लौरोको भरले मात्र हिँड्न सकिने स्थिति रहेन। देउराली आएपछि सहयात्री विश्वनाथको हालत रूखको लहरोजस्तो भयो। साँझ पर्दै थियो। ७ बजेसम्ममा धुन्चे पुग्ने भनेर हिँडेको, बाटो अझै टाढा थियो। खुट्टाले लत्तो छाडिदिएपछि बोकाएर ल्याउनुपर्ने भयो। तल फेदीको मिनी गोसाईंकुण्डसम्म बोकाएर ल्याएपछि त्यहाँबाट मोटरसाइकलमा हालेर धुन्चे ल्याइयो। भोलिपल्ट बस चढेर काठमाडौँ आयौँ।
धुन्चेबाट गोसाईंकुण्ड जाँदा दुई दिन र आउँदा दुई दिन गरी कम्तीमा चार दिनको कार्यक्रम बनाउँदा शरीरलाई कम बोझ पर्छ। तनावमुक्त भएर यात्राको आनन्द लिन सकिने रहेछ। गोसाईंकुण्डको यात्रा सहयात्री साथी नारायणको भनाइमा त्यो हाम्रो  ‘प्रयासको पूर्णता’ हो। चेतनाको आलोक हो, प्रकृति र ईश्वरसँगको साक्षात्कार हो।
प्रकाशित: १६ भदौ २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =