सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ : वर्षमान पुन

हिमाल प्रेस १६ भदौ २०८० १२:२८
6
SHARES
सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ : वर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताएका छन्।

नेकपा माओवादी केन्द्रले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’को आज गोँंगबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताए। वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सुरु गरेको उनको भनाइ थियो।

‘समाज, राज्य र पार्टीको शुद्धिकरणका लागि माओवादीले रुपान्तरण अभियान सञ्चालन गरेको छ’, उपमहासचिव पुनले भने, ‘लामो समयपछि जनताको गुनासो सुन्न तथा सरकारले गरेका राम्रा कामलाई जनतासामु लैजानका लागि पार्टीले रूपान्तरण अभियान सुरु गरेको हो।’

आजदेखि सुरु भएको अभियान देशभरका छ हजार सात सय ४३ वटै वडामा सञ्चालन गरिने उल्लेख गर्दै उनले अभियान तीन महिनासम्म सञ्चालन हुने जानकारी दिए।

उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धीकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पारे।

देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उनले बताए।

प्रकाशित: १६ भदौ २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =