लकडाउनमा रेल चल्दैन भनेर थकित प्रवासीहरूको एक समूह रेलवे ट्र्याकमा आराम गर्ने सोच बनाउँछ। लामो पैदलयात्राले थाकेका ज्यान छिट्टै निदाउँछ। ठीक त्यही बेला त्यहाँबाट रेल गुज्रिन्छ। रेलवे ट्र्याकमा सुतिरहेका प्रवासीहरूलाई कुल्चिएर रेल अगाडि बढ्छ।
यो भारतीय फिल्म निर्देशक अनुभव सिन्हाको फिल्म ‘भीड’को सुरुवाती दृश्य हो। जो कोभिड-१९ महामारीमा भारत सरकारले अचानक लकडाउन घोषणा गरेपछिको मुटु नै हल्लाउने एक भयानक वास्तविक घटनामा आधारित छ।
२०२० मार्च २४ मा विश्व स्वास्थ्य संगठनद्वारा कोभिड-१९ लाई महामारी घोषणा गरिएको थियो। त्यसको दुई सातापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राति ८ बजे राष्ट्रिय टेलिभिजनमा देखापरे। चार घण्टाको सूचना दिँदै उनले देशव्यापी लकडाउनको घोषणा गरे। मोदीको यस निर्णयलाई भारतको उच्च जातिका मध्यम वर्गीयले उनकै आग्रहमा आआफ्नो घरमा थाल ठट्याएर स्वागत गर्यो। तर मोदीको लकडाउन घोषणाले मजदुरी गरी आफ्नो र परिवारको छाक टार्ने निम्न वर्गीयको जीवन एक्कासि ध्वस्त बनाइदियो।
सहरमा अचानक आजीविकाका संशाधन समाप्त हुँदा, रेल र अन्य सार्वजनिक सवारीसाधन बन्द हुँदा मान्छेहरू अपर्झट सहर छोड्न थाले। सहरमा बाँच्ने उपाय नदेखेपछि प्रवासी मजदुर खाली खुट्टा सयौँ किलोमिटर टाढा आफ्नो गाउँतर्फ फर्किन बाध्य भए।
प्रवासीको संकटमा आधारित फिल्म ‘भीड’ मोदीको प्राइमटाइम घोषणाको तीन वर्षपछि सिनेमा हलमा प्रदर्शनमा आयो। १९४० र १९५० को दशकको नवयथार्थवादी सिनेमाबाट प्रेरित यो फिल्म श्यामश्वेत छ। फिल्मको कथा हाइवेमा रहेको एक सुरक्षा चौकी वरिपरि घुम्छ। जहाँ सूर्यकुमार सिंह टिकास नामक एक दलित प्रहरी ड्युटीमा छन्।
सूर्यकुमारको भूमिकामा अभिनेता राजकुमार राव छन्। फिल्ममा उनीसँगै भूमि पेडनेकर, दिया मिर्जा, आशुतोष राणा, पंकज कपुर, कार्तिका कामराले अभिनय गरेका छन्।
प्रदर्शनमा आउनुअघि नै फिल्म हिन्दू कट्टरपन्थीको तारो बन्यो। फिल्मको ट्रेलर नै युट्युबबाट हटाइयो। मोदीको लकडाउन घोषणा र पलायनको तुलना भारत विभाजनसँग गर्ने संवादलाई हटाएर ट्रेलर फेरि सार्वजनिक गरियो। टी-सिरिजले डराएर आफ्नो युट्युब च्यानलबाट ट्रेलर नै हटाइदियो। विवादका बीच २०२३ मार्च २४ मा फिल्म प्रदर्शनमा आयो।
निर्देशक सिन्हाले फिल्ममार्फत समाजमा धर्मको आधारमा हुने भेदभावमाथि प्रश्न गर्छन्। ‘मुल्क’, ‘आर्टिकल १५’ र ‘थप्पड’ उनको निर्देशनमा बनेका फिल्म हुन्। ‘भीड’ पनि यिनै फिल्मको निरन्तरता हो।
पत्रकार तथा फिल्म निर्माता विनोद कापडीको गुरिल्ला शैलीको वृत्तचित्र ‘१२३२ किमी’ पनि लकडाउनबाट प्रेरित छ। प्रधानमन्त्री मोदीले लकडाउन घोषणा गरेको एक महिनापछि कापडी सात प्रवासीहरूका साथ यात्रा गर्छन्। जो गाजियाबादबाट आफ्नो घर बिहार पुग्न साइकलमा यात्रा गर्छन्। ती सबै मजदुर हुन्। कापडीले उनलाई पछ्याए। विभिन्न चुनौतीको सामना गर्दै ती मजदुरले यात्रा गरे। प्रहरीको कुटाइबाट बच्न मुख्य राजमार्गभन्दा ससाना बस्तीबाट गुज्रिने बाटो रोजे। फिल्म एक वर्षपछि प्रदर्शित भयो। उत्कृष्टै भन्न नसकिए पनि कठिन समयको दस्तावेजका रूपमा त्यसलाई मानिएको छ।
कापडीले बाटोमा भेटिएका अपरिचितको दया र क्रूरतालाई भिडियोमा रेकर्ड गरेका छन्। सहरबाट घरतिर हिँडेका प्रवासीले बाटोमा खानेकुरा नपाउनु, बास नपाउनु, साइकल बिग्रिँदा मर्मतका लागि भाँैतारिनुलगायत थुप्रै घटना वृत्तचित्रमा समेटिएका छन्। जसले मार्मिक र पीडादायक निराशालाई दर्शाउँछन्। बाटो थाहा नहुँदा सही बाटोको खोजीमा घण्टौँ बिताउनु। एक साताको यात्रापछि बल्लतल्ल एक ट्रक चालकबाट उनीहरूले मद्दत पाउनु। जसले केही परसम्म ट्रकमा बस्ने अनुमति दिन्छ। उत्तर प्रदेश र बिहारको सीमामा उनीहरूले आफ्नो घर जाने बस पाउँछन्। जसले उनीहरूलाई गृहजिल्लासम्म पुर्याउँछन्।
घर पुगेपछि लकडाउनका दुःख र पीडा बिसाउने प्रवासीहरूको सपनामा तुषारपात हुन्छ, जब उनीहरूलाई अव्यवस्थित क्वारेन्टिन सेन्टरमा लगिन्छ। जहाँ उनीहरूले कैदीजस्तै व्यवहार भोगनुपर्छ। वृत्तचित्रको अन्तमा कापडीले लेखेका छन्, ‘प्रवासी मजदुरले भोगेका दुःख, उनीहरूको पीडा र उनीहरूसँग गरिएको दुव्र्यवहार चुनावमा मुद्दा किन बन्दैन?’
अनुभव सिन्हाको फिल्म ‘भीड’ प्रदर्शनमा आएको एक हप्तापछि हास्य कलाकार कपिल शर्मा अभिनीत फिल्म ‘ज्विगाटो’ रिलिज भएको थियो। नन्दिता दासको निर्देशन रहेको फिल्ममा कपिल मानसको भूमिकामा देखिएका छन्। जसले महामारीको सुरुवातमै जागिर गुमाउँछ। आठ महिनाको बेरोजगारीपछि ऊ खाना पुर्याउने कम्पनीमा जागिर गर्ने निर्णय गर्छ।
भारतीय बजारमा हाबी खाना पुर्याउने एप ‘स्विगी’ र ‘जोम्याटो’को मिश्रण गरी बनाइएको ‘ज्विगाटो’मा खाना पुर्याउने व्यक्तिको व्यस्तता, तनाव, उनीहरूले झेल्नुपर्ने समस्याबारे देखाइएको छ। महामारीले पुर्याएको आर्थिक असरको कथा फिल्मले भन्छ।
महामारीमा आधारित भारतीय फिल्ममध्ये सबैभन्दा सफल ‘धुइन’ लाई मानिन्छ। अचल मिश्राको निर्देशनमा बनेको फिल्म बिहारको सहर दरभंगामा आधारित छ। महामारीको आर्थिक र सामाजिक प्रभाव ठूला सहरमा भन्दा साना सहरमा बढी देखिएको थियो। फिल्मका मुख्य नायक पंकज अवकाशप्राप्त बुबाजस्तै रेलवेको जागिर गर्नुभन्दा मुम्बई जाने र अभिनेता बन्ने सपना देख्छन्। तर दरभंगाबाट बाहिर निस्किन नसक्नु नै उसको सबैभन्दा ठूलो समस्याहो। महामारीले गर्दा बढेको अवसाद झन् बढ्छ। उनी मानसिक समस्याबाट ग्रस्त हुन्छन्।
कोभिड-१९ महामारी एक विश्व ऐतिहासिक घटना थियो। त्यसताका असमानता, भेदभाव, दुःख, पीडाका अनेक घटना भए। कतिपय फिल्मकर्मीले ती घटनालाई कथामार्फत भन्ने प्रयास गरे। महामारीका सिनेमा उतिखेर भएका घटनाहरूको संग्रह हुन्। महामारीमाथि एक अन्तरिम निर्णय। महामारीको डर र क्रूरतालाई सिनेमाबाहेक अरू कसैले राम्ररी व्यक्त गर्न सक्दैन। त्यस्ता फिल्मसमाजलाई अझै चाहिएको छ।
-भारतीय सञ्चारमाध्यमको सहयोगमा