विद्युतीय सवारीसाधनको प्रयोग बढाउने सरकारको लक्ष्य : ऊर्जामन्त्री बस्नेत

हिमाल प्रेस १५ भदौ २०८० १५:२५
विद्युतीय सवारीसाधनको प्रयोग बढाउने सरकारको लक्ष्य : ऊर्जामन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत। तस्बिर: रासस

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने सरकारको लक्ष्य भएको बताएका छन्।

विद्युतीय सवारीसाधन तथा सामग्रीको मेला उद्घाटन गर्दै शुक्रबार मन्त्री बस्नेतले सरकारले विद्युतीय उपकरण बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताएका हुन्।

‘मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिनुपर्छ,’ उनले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रम पनि यसमै केन्द्रित छ। यो मुलुकको हित र दीर्घकालीन विकासका लागि आवश्यक हो।’

विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रूपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको मन्त्री बस्नेतले दाबी गरेका छन्। उनका अनुसार दुई वर्षभित्र सरकारले देशभर ५०० वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ।

ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले नयाँ विद्युत् विधेयक तय गरेको र संघीय संसद्‌मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतले जानकारी गराए।

प्रकाशित: १५ भदौ २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =