बीपी जयन्ती विशेष

अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको बीपीको एउटा ‘असाधारण’ तस्बिरको कथा

सन्तोष खडेरी २४ भदौ २०८० ९:५८
20
SHARES
अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको बीपीको एउटा ‘असाधारण’ तस्बिरको कथा

काठमाडाैँ- बीपी कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन्। थोरै अवधि मुलुकको शासनसत्ता सम्हाले पनि मध्ययुगीन व्यवस्थामा पिल्सिएका ‘रैती’ लाई जनताका रूपमा परिवर्तन गर्न ल्याउन बीपीको ठूलो योगदान छ।

राणा शासनविरुद्ध २००७ सालको क्रान्तिका नायक बीपी नै थिए। बीपीको कद जति उच्च थियो, त्यति नै उनको जीवन सादगीपूर्ण थियो। उनी प्रधानमन्त्री भएका बेला सार्वजनिक एउटा तस्बिरले पनि त्यसलाई पुष्टि गर्दछ।

घरको सुत्ने कोठामा खिचिएको त्यो तस्बिरले अन्तर्राष्ट्रिय छापामा खूब चर्चा र स्थान पाएको थियो। तस्बिर साधारण छ। सादगीले भरिपूर्ण छ। साधारण भएकाले नै त्यस तस्बिरले ‘असाधारण’ चर्चा पाएको हो।

तस्बिरमा प्रधानमन्त्री कोइरालासँग चियाको कप र बिहानको खाजाको प्लेट देखिन्छ। उनले दाहिने हातमा कलम समातेका छन्। अगाडि केही फाइल राखिएका छन्। उनी अध्ययन गर्ने, टिप्पणी लेख्ने र हस्ताक्षर गर्न लागेको हुन कि जस्तो देखिन्छ।
घाँटीमा सेतो मफलर बेरेका छन्। शरीरमा सेतो रङको कमिज र सुरुवाल छ। उनको त्यो तस्बिर ‘हेर्दा कुनै अस्पतालका युवा प्रशिक्षार्थीजस्तो देखिने’ भनेर समाचार टिप्पणी थियो।

तस्बिर सन् १९५९ को अक्टोबरको अन्तिम दिनको हुनुपर्छ। २००७ सालको क्रान्तिका नायक बीपी राणा शासनको अन्त्यपछि निर्वाचन नहुँदासम्मको आठ वर्ष जनमानसमा व्यापक लोकप्रिय हुँदाहुँदै पनि प्रधानमन्त्री हुन पाएका थिएनन्। मुलुकमा सम्पन्न पहिलो आमनिर्वाचनबाट अभूतपूर्व बहुमत प्राप्त गरी बीपी प्रधानमन्त्री बनेका थिए। त्यतिबेला नेपालप्रति अन्तर्राष्ट्रिय स्तरमा समेत निकै चासो थियो।

काठमाडौँबाट अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस (एपी)’ ले यो तस्बिरसहित संवाददाता हेनरी एस. ब्राडसेरले तयार गरेको समाचार सम्प्रेषण गरेको थियो।

१ नोभेम्बर १९५९ का दिन उक्त एजेन्सीमार्फत खबर छाप्ने संसारभरका अखबारले पहिलोपटक यस तस्बिरसहित समाचार प्रकाशित गरेका थिए।

प्रजातन्त्रका लागि आजीवन संघर्ष गरेका प्रजातान्त्रिक योद्धा बीपी सादगी जीवनका पर्याय थिए। प्रधानमन्त्रीमा निर्वाचित हुनासाथ उनले प्रधानमन्त्रीको मासिक तलब २५ सय रुपैयाँबाट घटाएर १५ सय रुपैयाँ बनाएका थिए।

उनको सरकारले आर्थिक मितव्ययिता व्यवहारमा नै लागू गरेको थियो। राजाले सत्ता हातमा लिँदा भ्रष्टाचारको आरोप लगाए पनि पछि उनले त्यसको छानबिन गर्ने, मुद्दा दायर नगरेकाले त्यो फगत राजनीतिक आरोपमात्र थियो भन्ने देखिन्छ।

बीपीबारे ‘सामन्ती राजतन्त्रबाट आधुनिक प्रजातन्तसम्म’, ‘नयाँ समाजतर्फ’, ‘नेपालका प्रधानमन्त्रीले सामन्ती राजतन्त्रलाई बदलने प्रयास गरे’, ‘एक व्यक्तिले नेपाललाई आधुनिक राज्य बनाउन प्रयास गरिरहेको छ’लगायत शीर्षकका समाचार त्यतिखेर प्रकाशित भएका थिए।

हामीले एउटा नयाँ समाजको निर्माण गरिरहेका छौँ। जसरी आर्थिक प्रगति हुनेछ। त्योसँग तिमीहरूले सोच्ने गरेको छवि धेरै हदसम्म हट्नेछ। हामीले अहिलेसम्म प्रजातान्त्रिक संरचनाको विकास गर्न सकेका छैनौँ।’

बीपीको प्रशंसा गर्दै छापिएको समाचारमा लेखिएको थियो, ‘नेपाललाई सामन्ती राजतन्त्रदेखि आधुनिक प्रजातन्त्रतर्फ बदल्नका लागि एक व्यक्तिलाई जिम्मेवारी सुम्पिएको छ। उनी हुन् प्रथम जननिर्वाचित लोकप्रिय प्रधानमन्त्री बीपी कोइराला।’

अर्को समाचारमा बीपीको भनाइ राखिएको थियो। जसमा उनले भनेका थिए, ‘विदेशीहरूले हाम्रो नेपालको जेजस्तो रोमाञ्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदै छ। किनकि हामीले एउटा नयाँ समाजको निर्माण गरिरहेका छौँ। जसरी आर्थिक प्रगति हुनेछ। त्योसँग तिमीहरूले सोच्ने गरेको छवि धेरै हदसम्म हट्नेछ। हामीले अहिलेसम्म प्रजातान्त्रिक संरचनाको विकास गर्न सकेका छैनौँ।’

एक अर्को समाचारमा लेखिएको थियो, ‘राजा महेन्द्रले प्रजातान्त्रिक संविधान र आम निर्वाचनमार्फत सुरु गरेको प्रजातान्त्रिक प्रणालीलाई अगाडि बढाउन प्रधानमन्त्री कोइरालाले काम गरिरहेका छन्। संसद्मा कोइरालाको बलियो उपस्थिति छ र उनको दलमात्र मुलुकभर संगठन विस्तार गरेको राष्ट्रिय संगठन हो। यिनले आर्थिक सामन्तवादको अन्त्य गरेर निम्न स्तरको जीवनस्तरलाई माथि उठाउने प्रयास गरेका छन्। चीन र भारतको बीचमा रहेको नेपालले असंलग्न नीति अपनाएर अन्तर्राष्ट्रिय मामिलामा आफूलाई उभ्याउने कोसिस गरिरहेको छ।’

एकजना विदेशी पर्यवेक्षकले भनेका छन्, ‘अहिलेसम्म त सबै प्रक्रिया राम्रोसँग अगाडि बढिरहेको छ। पछिल्लो निर्वाचनमार्फत घटिरहेको आफ्नो शक्तिलाई राजाले कहिलेसम्म र कति चाँडो स्वीकार गर्न सक्छन् त भन्ने मात्रै मुख्य प्रश्न हो?’

ती विदेशी पर्यवेक्षकले प्रश्न तेर्साएबमोजिम निर्वाचनमार्फत बनेको सदन र सरकारका कारण आफ्नो घटिरहेको शक्तिलाई राजा महेन्द्रले धेरै परसम्म स्वीकार गर्न सकेनन्। १८ महिनामा दरबारिया सेना (दरबारको सुरक्षार्थ रहेको सेना) को मद्दतमा संसद् र सरकार भंग गर्दै सम्पूर्ण शक्ति आफ्नो हातमा लिए।

संसद्का सदस्य, सभामुखसहित नेपालमा रहेका मन्त्रिपरिषद्का सबै सदस्यलाई राजाले जेलमा कोचे। आफूलाई सघाउने र आफ्नो कदमको पक्षमा उभिनेलाई रिहा गरे। केहीलाई आफ्नै नेतृत्वमा गठित मन्त्रिमण्डलमा सहभागी गराए भने बाँकीलाई लामै समय जेलमा राखे।

उनी संवैधानिक राजा भएर बस्न चाहेनन्। कार्यकारी प्रमुख आफैँ भएर शासन गर्ने महत्वाकांक्षा उनमा बढ्दै गयो। सरकार लोकप्रिय भयो भने भोलि कतै आफ्नै अस्तित्व खतरामा पर्ने त होइन भन्ने अत्यन्तै छोटो सोच राखे र मुलुकलाई अर्कै बाटोमा अगाडि बढाए। [अर्काइभबाट]

तस्बिर स्रोत : मनीषा कोइरालाको फेसबुक

प्रकाशित: २४ भदौ २०८० ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =