काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पाँचवटा कृषि संरचनाको सुरुवात गरेको छ। मुक्तिनाथ कृषि कम्पनीअन्तर्गत स्याङजा र चितवनमा ‘फार्म उत्कृष्टता केन्द्र’, कृषिमा लगानी प्रवर्द्धनका लागि ‘कृषि व्यवसाय परामर्श केन्द्र’, कृषकहरूलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘मुक्तिनाथ एप’ सुरु गरिएको छ। कम्पनीका इटहरी, बर्दिवास, काठमाडौँ, बुटवल, सुर्खेत र धनगढीमा क्षेत्रीय कार्यालयसमेत छन्।
कम्पनीले तयार गरेको पाँच बर्से रणनीतिक योजना ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीलगायतलाई देशव्यापीरूपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले यी संरचना सुरु गरिएको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषिजस्ता पब्लिक कम्पनीको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकासका लागि सार्वजनिक निजी सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड २०७५ सालमा स्थापना भएको हो। यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ। कम्पनीले कृषिको समग्र मूल्य श्रृङ्खला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यतः कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाको विकास गर्दै गएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

