संयुक्त राष्ट्रसंघकाे ७८ औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त / रासस
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्युयोर्क(अमेरिका) बाट शुक्रबार चीन भ्रमणमा जान लागेका छन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड हाङझाव पुग्नेछन्।
न्युयोर्कबाट स्थानीय समयअनुसार राति साढे १ बजे प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर चीन जान लागेको हो।
हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। शनिबार सुरु हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेट हुनेछ।
चीनको सातदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेसनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्नेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल-चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारी छन्।





