अलबिदा नेम्वाङ

पूर्वप्रधानमन्त्री खनालले सम्झिए ‘आफ्ना सहपाठी’

हिमाल प्रेस २६ भदौ २०८० १०:०५ | Tuesday, September 12, 2023
पूर्वप्रधानमन्त्री खनालले सम्झिए ‘आफ्ना सहपाठी’

काठमाडौँ- संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि शीर्ष राजनीतिक वृत स्तब्ध छ। सोमबार राति १ः ४० मा निधन भएका नेम्वाङप्रति देशभित्र र देशबाहिरबाट श्रद्धान्जली अर्पण गर्ने क्रम चलिरहेको छ। शीर्ष नेताहरू उनको शव भएको स्थान महाराजगन्ज पुगिरहेका छन्।

उनका गृहजिल्लाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि नेम्वाङप्रति भावुक शब्दमा श्रद्धाञ्जली प्रकट गरेका छन्। नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको खनालले बताएका छन्। खनालले नेम्वाङ भद्र र शालिन नेता भएको उल्लेख गरेका छन्। खनालले नेम्वाङसँगको गृहजिल्ला (इलाम)को बारेमा स्मरण गरेका छन्।

‘सुवासचन्द्र नेम्वाङ मेरो सातौँ कक्षा देखिको सहपाठी साथी हुनुहुन्थ्यो। हामीले माध्यमिक शिक्षा सँगै पढ्यौ । त्रिचन्द्र कलेजमा आईएससीसँगै पढ्यौ। हामीले त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्यौं।’ खनालले शोक मन्तब्यमा भनेका छन्,‘मैले नै उहाँलाई २०२९ साल देखि प्रगतिशिल पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेको हो । कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको काल सम्म वहाँ र म एउटै पार्टीमा लामो समय सँगै काम गर्‍यो।’

खनालले ०४६ सालको परिवर्तनपछि सुरुमा नेम्वाङ राष्ट्रियसभा सदस्य बनेको र त्यसपछि आफूले नै प्रेरित गरेर इलामबाट जनप्रतिनिधि बन्न सल्लाह दिएको बताएका छन्।

‘हामी सँगैँ अनेक पटक इलामबाट संसद्मा पनि प्रतिनिधित्व गर्‍यौ। उहाँ पटकपटक प्रतिनिधिसभाको सभामुख बन्नुभयो। संविधानसभामा समेत हामीसँगै निर्वाचित भयौ। त्यही सिलसिलामा एकै समयमा म प्रधानमन्त्री भए, वहाँ संविधानसभाको अध्यक्ष निर्वाचित हुनुभयो। यी इतिहासका सुखद संयोगहरू हुन्।’

नेम्वाङ एक कुशल सांसद भएको खनालले उल्लेख गरेका छन्। ‘निकै लामो समय उहाँले सभामुख भएर संसद परिचालनमा पनि महत्वपूर्ण योगदान दिनुभयो। संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।’

खनालले भनेका छन्, ‘हामी अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध भइरहन्थ्यो। पार्टी विभाजन भएको प्रति उहाँ निकै दु:खी हुनुहुन्थ्यो। मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा हाम्रा बीच चर्चा भइरहन्थ्यो। आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि वहाँको यो दु:खद निधन भएको छ।’

प्रकाशित: २६ भदौ २०८० १०:०५ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast