परराष्ट्रमन्त्री र भारतीय राजदूतद्वारा संयुक्तरूपमा हिमालय क्याम्पस भवनको उद्घाटन

हिमाल प्रेस २१ भदौ २०८० ९:२३ | Thursday, September 7, 2023
परराष्ट्रमन्त्री र भारतीय राजदूतद्वारा संयुक्तरूपमा हिमालय  क्याम्पस भवनको उद्घाटन

काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको भवनको परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गरेका छन्।

भवनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्‍याएको बताए। उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरुको करियरमा सहयोग पुर्‍याउने भएकाले विशेष महत्व रहेको बताए।

परराष्ट्रमन्त्री साउदले नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा रहेको बताए।

राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए। यो सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको उनले बताए।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार ३.७४ करोडको लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण गरिएको हो। यस नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल आदि रहेका छन्। जिल्ला समन्वय समिति संखुवासभाले यस परियोजनाको कार्यान्वयन गरेको हो।

हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो। सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखियो। यस क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा ६० प्रतिशत छात्रा रहेका छन्।

हाल यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ। स्थापनाकालदेखि नै यस क्याम्पसले गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गरेको छ।

सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन्। ती मध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन्।

यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकको छ।

भारत सरकारले हालसम्म संखुवासभा जिल्लालाई १३ वटा एम्बुलेन्स र गत जुलाईमा यस क्याम्पसलाई प्राप्त स्कुलबस समेत गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

प्रकाशित: २१ भदौ २०८० ९:२३ | Thursday, September 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast