नेम्वाङको सम्झनामा सात प्रदेशमै विचार गोष्ठी

हिमाल प्रेस २ असोज २०८० ६:३३ | Tuesday, September 19, 2023
नेम्वाङको सम्झनामा सात प्रदेशमै विचार गोष्ठी

काठमाडौँ- नेकपा एमालेले आज संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमाविचार गोष्ठी आयोजना गर्ने भएको ।

संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो।

शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्।

पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा छन्।

त्यस्तै जनता समाजवादीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्य पनि वक्तामा रूपमा छन्।

बाँकी ६ प्रदेशमा भने उपाध्यक्षहरूलाई खटाइएको छ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ। कोशी प्रदेशमा इलाममै गोष्ठी हुने एमालेले बताएको छ। नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए। इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाँदैछन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ। कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाँदै छन्।

नेम्वाङको अघिल्लो सोमबार राति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङ एमाले उपाध्यक्षसमेत थिए।

प्रकाशित: २ असोज २०८० ६:३३ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast