सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टि हुने दिन (बुधबार वा बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेम्वाङका छोराहरू विदेश (बेलायत र अस्ट्रेलिया)मा रहेकाले उनीहरू आएपछि मात्र अन्त्येष्टि गर्ने तयारी छ।
‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकपछि पर्यटनमन्त्री सुदन किराँतीले भने, ‘संविधान निर्माण प्रक्रियामा खेल्नुभएको भूमिकालाई सम्मान गर्दै उहाँको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ।’
साथै बैठकले नेम्वाङको अन्त्येष्टी राजकीय सम्मानका साथ गर्ने निर्णय पनि गरेको छ।
नेम्वाङ गएराति आफ्नै निवासको बाथरुममा अचेत अवस्थामा भेटिएका थिए। राति नै शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई तत्काल मृत घोषणा गरिएको थियो।





