ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

हिमाल प्रेस ७ असोज २०८० ७:११ | Sunday, September 24, 2023
ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

गलकोट- बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरको स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन्।

उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरेका थिए। तर यसपटक भने उनको स्याउ बगान रित्तै छ। गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ बगानको उत्पादनमा कमी आएको छ।

उनले २०४८ देखि परम्परागत तरिकाले स्याउखेती गर्दै आएका छन्। उनको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउखेती छ। दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको उनले बताए। ‘गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो,’ किसान बुढाथोकीले भने, ‘चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो।’

असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको अगुवा स्याउ किसान बुढाथोकीले बताए। परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए। उनले आफ्नो व्यक्तिगत रूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राखेका छन्।

उनले यस वर्ष दुई सय इटालियन प्रजातिका बिरुवा थप गरेका छन्। ‘ढोरपाटन स्याउ ब्लकको अध्यक्षसमेत भएँ, अहिले समूहमा काम गरेका छौँ, ढोरपाटन र निसेलढोका स्याउ किसानको नेतृत्व म आफैँ गरिरहेको छु, परम्परागत स्याउ भएन,’ उनले भने, ‘इटालियन प्रजातिको स्याउ फस्टाएको छ तर यस वर्ष भने स्याउ उत्पादनमा निकै कमी आयो असिनाले स्याउका फूल झार्दा उत्पादन न्यून भएको हो।’ रासस

प्रकाशित: ७ असोज २०८० ७:११ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast