डेंगुको जोखिम अझै एक महिना

हिमाल प्रेस १२ असोज २०८० २१:२७ | Friday, September 29, 2023
डेंगुको जोखिम अझै एक महिना प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेंगु संक्रमणका बिरामी बढेका छन्।

विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेंगुका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ। कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगुका बिरामी नगण्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन्।

डेंगु संक्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेंगु संक्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ।

‘असारको पहिलो सातादेखि नै बायो लार्भीसाइड पानी जमेको स्थानमा छर्केर नियन्त्रण गरिएको थियो, अहिले बिरामी देखिन थालेका छन्,’ उनले भने, ‘यसको जोखिम आगामी कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक छ।’

असोज पहिलो सातासम्म सबै वडामा संक्रमित शून्यको अवस्थामा थियो। कामपाको तथ्यांकअनुसार अहिले कामपाको विभिन्न वडामा गरी ३५ जना संक्रमित रहेका छन्।

प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरेका छन्।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखा पर्दछ।

नेपालमा डेंगु संक्रमण देखा पर्न थालेको १९ वर्ष भयो। सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो। रासस

प्रकाशित: १२ असोज २०८० २१:२७ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast