 
                             
                                            चितवन- प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा ४ दशकदेखि उनकै नाममा खाली छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि बीपीकै सम्झनामा खाली राखिएको छ।
त्यतिबेला बीपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ। ‘घर बनेपछि यो कोठामा बीपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन,’ ९० वर्षीया गौरीदेवीले भनिन्। उनका श्रीमान स्व. श्यामकृष्ण प्रधानसँग बीपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो।
विसं २००६ मा बन्दीपुरमा प्रधानको बीपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो। गौरीदेवीले भनिन्, ‘अरु नेता आउँदा पनि बीपीको कोठामा कसैलाई पनि बस्न दिइएन।’
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन्। ‘घर बनेदेखि बीपी यही घरमा बस्नुभएको हो,’ गौरीदेवीले भनिन्।
छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा बीपी बस्ने गर्थ्ये। रातो रङको यो घर २०२६ सालमा निर्माण गरिएको हो।
घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘बीपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ। ‘गिरिजा चिन्यौँ, घरको परिवारजस्तै हो, जहिले पनि यही आएर बस्नु है।’
गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि बीपीप्रतिको श्रद्धा बढी भएको हो। ‘बीपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्थ्ये। कहिले के हुन्छ, थाहा हुँदैनथ्यो,’ त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर बीपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो।’
बीपी कतिपटक घरमा आउनुभयो गौरीदेवीलाई यकिन सम्झना छैन। उनले भनिन्, ‘कति पटक आउनुभयो आउनुभयो। चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो।’
बीपीले सादा खाना रुचाउने गरेको गौरीदेवी बताउँछिन्। ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो। मैले सोध्ने गर्थेँ, ‘बीपीबाबु के खाने? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो।’
बीपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ। जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न बीपी यही घरमा आउने गरेको गौरीदेवीले स्मरण गरिन्। साँझ बीपी भन्नुहुन्थ्यो, ‘जहाँ घुमे पनि आफ्नै घरजस्तो लागेर यही आउन मन लाग्छ,’ उनले वीपीको भनाइ उदृत गरिन्।
बीपी आउँदा विवाहको घरजस्तै हुने गरेको उनले बताइन्। तनहुँ र चितवनमा महिला संघको स्थापना गरेकी प्रधानले बीपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक संकलनसमेत गरेकी थिइन्।
बीपीसँगै कांग्रेसका शीर्ष नेताको बस्ने थलो यही घर हो। पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन्। बीपीको देहवसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ। ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन,’ उनले भनिन्। साराका सारा विदेश जान थालेकामा चिन्ता उनलाई छ।
गौरीदेवीका ससुरा लालप्रसाद खरदारको जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ। गौरीदेवीलाई बीपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि वीपीको झल्को आउँछ। राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर उनी जाने गरेको स्मरण गौरीदेवीलाई अहिले पनि ताजै छ।
गौरीदेवीका कान्छा छोरा सुवोधलाई बाल मानसपटलदेखि बीपीको स्मरण ताजा छ। बीपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले गाडीमा बीपीसँग राखेर गाउँ डुलाएको उनी सम्झन्छिन्। गाडी पछिपछि नेविसंघका विद्यार्थी हुने भए पनि उनलाई के हुन्छ भर थिएन। ठाउँठाउँमा प्रहरीले रोकेर सोधपुछ गर्थ्यो। रासस
‘विश्वेश्वरप्रसाद’ भुलेर ‘बीपी साहित्य महोत्सव’ गर्दै कांग्रेस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 