फाइल तस्बिर।
                                            काठमाडौँ– १० वर्षको अवधिमा करिब ३ लाखले कृषक परिवारको संख्या बढेको छ। केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको कृषि गणना, २०७८ अनुसार देशभर ३९ लाख ९९ हजार परिवारले खेतीपाती गर्दै आएका छन्। यसमा थप १ लाख ३२ हजार परिवारले पशुपन्छी मात्रै पाल्ने गरेका छन्।
कृषि गणना, २०६८ को तथ्यांकमा ३७ लाख १६ हजार परिवारले खेतीपाती र १ लाख १६ हजार परिवारले पशुपन्छी पालन गरेको तथ्यांक थियो। तथ्यांक कार्यालयले खेतीपाती गर्ने परिवार र पशुपन्छी मात्रै पालन गर्ने गरी दुई प्रकारका कृषक परिवारमा वर्गीकरण गरेको छ।
तथ्यांक कार्यालयले खेतीपाती गर्ने कृषक परिवारअन्तर्गत ०.०१ हेक्टर अर्थात् ८ धुरभन्दा बढीमा खेती गर्ने परिवारलाई समेटेको छ। त्यस्तै खेतीपाती नभएका र भए पनि ०.०१ हेक्टरभन्दा कम जग्गामा खेतीपाती गरेका र पशुपन्छी पालेका परिवारलाई पशुपन्छीमात्र पाल्ने कृषकका रूपमा समेटेको छ।
नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो। त्यसपछि हरेक १० वर्षमा यस्तो गणना हुँदै आएको छ। हरेक गणनामा कृषक परिवारको संख्या बढ्दै गएको छ। २०१८ सालमा खेतीपाती गर्ने कृषक परिवारको संख्या १५ लाख १८ हजार तथा पशुपन्छी मात्र पाल्ने कृषक परिवारको संख्या २२ हजार थियो।

                                             
                                             
                                             
                                             
                                             
                                             

