सुर्खेत पुगेका प्रचण्डको दाबी : एमाले फुट्दैछ

हिमाल प्रेस १४ भदौ २०८० १६:४१
26
SHARES
सुर्खेत पुगेका प्रचण्डको दाबी : एमाले फुट्दैछ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले फुट्ने संकेत देखेको दाबी गरेका छन्। आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘अहिले हाम्रो प्रतिपक्षी दल छ, त्यहाँभित्र ठुलो चिरा पर्ने संकेत देख्छु। हामी त्यसपछि सँगै हुन पनि‌ सकिन्छ’ उनले भने।
उनले कर्णाली समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली हुनुपर्ने बताए।

उनले समाजवादी मोर्चाको सन्देशसभा सबै प्रदेशसमा सकिएपछि लाखौँ जनता सडकमा उतार्ने पनि बताए।
‘अहिले त सातवटै सभामा सन्देशसभा र घोषणासभा गरेका छौँ,’ उनले भने, ‘हाम्रो सपना के छ भने अब वर्षा सिद्धिएपछि लाखौँ जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाको पक्षमा, सामाजिक न्यायको पक्षमा भ्रष्टाचारकाविरुद्ध जगैदेखि हल्लाउनुपर्ने हुन्छ।’

सरकारले मात्रै गरिदेला र खाउँला भन्ने कसैले सोचेको छ भने त्यो भुल भएको उनको भनाइ छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा संसद्‌ विघटन गर्दा पनि जनता सडकमा आएपछि विजयी भएको बताए।

सरकार भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लागेको पनि उनले दाबी गरे। ‘सामाजिक न्याय, सुशासनका पक्षमा यो मोर्चा एक भएर लड्दा हामी सफल हुनेछौँ। सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन,’ उनले भने, ‘मैले सिआइबीलाई पनि भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस्।’

प्रकाशित: १४ भदौ २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =