[अन्तर्वार्ता]

समाजवादी मोर्चाको औचित्य छैन : झलनाथ खनाल (अन्तर्वार्ता)

किरण पौडेल १३ भदौ २०८० १२:२६
26
SHARES
समाजवादी मोर्चाको औचित्य छैन : झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल वैचारिक नेतामा गनिन्छन्। भाषणमा प्रायः कम्युनिस्ट विचार राख्ने उनी समाजवादी क्रान्तिमा विशेष जोड दिन्छन्। पछिल्लो समय नेपाली कांग्रेससँग भएको गठबन्धन र समाजवादी मोर्चाप्रति खनाल सन्तुष्ट छैनन्। मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को खुलेरै विरोध गर्नेमा खनालको नाम अग्रपंक्तिमा आउँछ। पूर्वप्रधानमन्त्री र एमालेका पूर्वअध्यक्षसमेत रहेका नेता खनालसँग समसामयिक विषयमा हिमाल प्रेसका किरण पौडेलले गरेको संक्षिप्त कुराकानी :

तपाईँको पार्टी (एकीकृत समाजवादी) महाधिवेशन मिति घोषणा भयो। यसको तयारी केकसरी हुँदैछ।

हामीले आउँदो माघमा पार्टीको महाधिवेशन तोकेका छौँ। हाम्रो लक्ष्य पार्टीलाई नयाँ ध्रवीकरणमा लगेर क्रान्तिकारी पार्टी बनाउनु हो। हामी यसको तयारीमा छौँ। पटकपटक बैठक बसिरहेको छ। हामी पार्टीलाई कसरी नयाँ ढंगबाट अघि बढाउन सकिन्छ भनेर लागेका छौँ। समाज र समयअनुसारको पार्टी निर्माणमा सक्रिय छौँ। महाधिवेशन सोहीअनुसार गर्ने तयारी छ।

हामी वर्गविहीन स्वरूपको पार्टी बनाउँदैछौँ। विचार, सिद्धान्त र आन्दोलनमा रूपान्तरका लागि महाधिवेशन गर्न लागिएको हो। साथै पार्टीको एकताका लागि पनि महाधिवेशन अपरिहार्य छ।

आउँदो महाधिवेशनमा तपाईँ अध्यक्षमा उठ्दै हुनुहुन्छ भन्ने हल्ला छ, के हल्ला साँचो हो?

हेर्नुहोस्, म क्रान्तिकारी व्यक्ति हुँ। राष्ट्र निर्माणका लागि म सदैव लाग्नेछु। अब आयो पार्टीको कुरा। समयले पार्टीमा जुन भूमिका दिन्छ। त्यसलाई पूरा गर्न म राजी छु। यसमा को अध्यक्ष बन्ने भन्ने प्रश्न रहेन। एउटा क्रान्तिकारी व्यक्ति जुन भूमिका रहँदा क्रान्ति अघि बढ्छ त्यो भूमिकामा जानुपर्छ। त्यसैले नेतृत्वको विषय हाम्रो केन्द्रबिन्दुमा छैन। राजनीतिक दिशा र कार्यदिशा ठिक भएपछि मात्र नेतृत्वको कुरा आउँछ। कुनै पनि किसिमको स्वार्थ नराखीकन हामी महाधिवेशनमा होमिनेछौँ। पहिलो कुरा त हाम्रो पार्टी वैचारिक राजनीतिक कार्य दिशा ठिक बनाउन लाग्नुपर्छ। मलगायत सबै कमरेड कार्यदिशा निर्माणमा लागेका छौँ।

तपाईंहरू पार्टीमा समाजवादी क्रान्तिको कुरा गर्नुहुन्छ। तर कार्यकर्ताचाहिँ एमालेमै फर्किरहेका छन्। यसरी पार्टीको अस्तित्व संकटमा पर्दैन र?

हेर्नुहोस्, ठूलो लक्ष्य बोकेर हिँडेपछि त्यसमा तलमाथि त भइ नै हाल्छ। हामीले पार्टीका विषयमा अहिले धेरै कुरा बुझाउन सकिरहेका छैनौँ। यो हाम्रो पनि कमजोरी हो। हाम्रो पार्टीको लक्ष्य र यात्रा बुझाउन सकेपछि अन्य पार्टीमा जाने वा पार्टी छाड्ने भन्ने हुँदैन। यद्यपि, अलिअलि कार्यकर्ता कतै गएर फरक पर्दैन।

चार पार्टीको समाजवादी मोर्चा बन्नुको औचित्य के हो?

समाजवादी मोर्चा भनेको के हो? के गर्छ र त्यसले? (आवेशपूर्ण शैलीमा)

समाजवादी मोर्चाको घोषणासभामा त तपाईँ पनि हुनुहुन्थ्यो। समाजवाद रूपान्तरणका लागि मोर्चा बनाइएको उद्घोष सबै नेताबाट भएकै हो। आज आएर तपाईँ फेरि कसरी त्यसको विरोधमा?

एउटा बन्दकोठामा बसेर कहिल्यै समाजवादी मोर्चा बन्न सक्दैन। अहिलेको कार्यक्रम प्रदेशमा भएको होइन। त्यो प्रदेशको एक स्थानको बन्द कोठामा भएको हो। यस्ता कार्यक्रमले देश र क्रान्तिलाई कहीँ पुर्‍याउँदैन।

समाजवादी मोर्चाको औचित्य छैन भन्न खोज्नुभएको हो?

हो, यस्तो किसिमको समाजवादी मोर्चाको औचित्य छैन। पुँजीवादी शक्तिको काखमा बसेर हामीले कहिल्यै समाजवादी क्रान्ति गर्न सक्दैनौँ। त्यो सम्भव छैन। हामी समाजवादी क्रान्ति अघि बढाउन चाहन्छौँ भने पुँजीवादले ग्रस्त शक्तिलाई छाड्नुपर्छ। पुँजीवादविरुद्ध लड्न आवश्यक छ। तर पुँजीवादीसँग मिलेर लड्न सकिन्न। अहिले यो नै भइरहेछ। हाम्रा प्रतिस्पर्धीसँग मिलेर हामी समाजवादी क्रान्तिकारी अघि बढाउन सक्दैनौँ।

मतलब, पुँजीवादी शक्ति भन्नाले नेपाली कांग्रेस भन्न खोज्नुभएको हो?

हो, नेपाली कांग्रेस पुँजीवादी शक्ति हो। अहिलेको हाम्रो प्रतिस्पर्धी पनि पुँजीवादी शक्ति नै हो। कांग्रेसले पुँजीवादको नेतृत्व गर्छ। हामी सरकारमा सँगै छौँ। तर हामी उसैका विरुद्धमा लड्न खोजिरहेछौँ। यो कदापि सम्भव छैन। प्रतिस्पर्धीसँगै मिलेर हामी कहिले समाजवादी बाटो कोर्न सक्छौँ? मैले त घोषणासभामै पनि विरोध जनाएको थिए।

अनि तपाईँले भन्न खोज्नुभएको समाजवादी मोर्चा कस्तो हो?

दक्षिणपन्थीहरूलाई परास्त गर्न बनेका, समाजवादको सिद्धान्तमा अडिग नयाँ शक्तिहरूको मोर्चा नै समाजवादी मोर्चा हो। तर अहिलेको मोर्चा त्यस्तो होइन।

उसो भए मोर्चा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता सहयात्राका लागि सहज बनाउन बनाइएको हो?

हो, यो सत्तारुढ गठबन्धनको एक घटक हो। तर यसलाई हामीले समाजवाद रुपान्तरणकै लागि अघि बढेको भन्न मिल्दैन। समाजवादी रुपान्तरणका लागि बनेको मोर्चाले पुँजीवादका दलालको अवसान गर्न सक्नुपर्छ। पुँजीवादको दबदबा चिर्न सक्नुपर्छ।

अनि अर्को प्रसंग, आजदेखि एमसीसी कार्यान्वयनमा जाँदैछ। यसलाई कसरी लिनुभएको छ?

आजदेखि नेपालले कलंकको टीका लगाउँदैछ। हाम्रो स्वाधीनता र अखण्डतामाथि कुनै राज्य शक्तिले राज गर्ने संकेत गर्दैछ। हामीले विगतमा गलत गरेकै कारण एमसीसीलाई भित्र्याउन बाध्य भयौँ।

एमसीसी त कार्यान्वयनमै गइसक्यो। अब यसको विरोध गर्नुको के औचित्य?

नेपालले एमसीसी सम्झौता गरेर गम्भीर गल्ती गर्‍यो। हामीले यसको सधैँ विरोध गर्नुपर्छ। यसको मात्र होइन, हामी १९५० को सन्धिको पनि विरोध गर्छौँ। नराम्रो र गलत कामको विरोध नै गर्ने हो। तर यसले नेपाललाई भलो गर्दैन। शक्ति राष्ट्रहरूको राज गर्ने थलो बनेको छ। यो नै हाम्रो दुर्भाग्य हो। संसद्‌बाट  एमसीसी पारित गर्ने बेलामा म एक्लै विरोधी भएँ। अहिले पनि सडकबाट विरोध गर्नुको विकल्प छैन।

प्रकाशित: १३ भदौ २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =