सुत्केरीका लागि घरजस्तै स्वास्थ्य चौकी

विनोद परियार १३ भदौ २०८० १०:५८
32
SHARES
सुत्केरीका लागि घरजस्तै स्वास्थ्य चौकी

लुम्बिनी– रूपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा रहेको एउटा स्वास्थ्य चौकीमा सुत्केरीलाई घरमा जस्तै स्याहारसुसार गर्ने गरिएको छ। सम्मरीमाई–६ स्थित असुरैना स्वास्थ्य चौकीमा सुत्केरीले घरमा जस्तै गरी स्याहारसुसार र खानेकुरा पाउने गरेका हुन्।

असुरैना स्वास्थ्य चौकीमा विगत ८ महिनादेखि ‘सुत्केरी कुरुवा कक्ष’ मा सुत्केरीले यस्तो सुविधा पाइरहेका छन्। सुत्केरीका आफन्तले घरमा जस्तै गरी सुत्केरीलाई खाना पकाएर खुवाउँछन्।

सम्मरीमाई र छिमेकी पालिकाबाट स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीले सुत्केरी कुरुवाकक्षबाट लाभ लिएका छन्। बस्तीको मध्यभागमा असुरैना स्वास्थ्य चौकी छ। दक्षिणी क्षेत्रका टाढा–टाढाबाट उपचार गर्न स्वास्थ्य चौकी आउँछन्। खानाबस्नको समस्या हुने भएकाले सम्मरीमाई गाउँपालिकाले इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयर मेड फाउन्डेसन नेपालको सहकार्यमा करिब १३ लाख रुपैयाँ लागतमा सुत्केरी कुरुवा कक्ष निर्माण गरेको हो।

सुत्केरी कुरुवा कक्षमा किचनसहित २ बेडको छ। सुत्केरी हुन आउनेलाई खानाबस्न समस्या भएपछि सुत्केरी कुरुवा कक्ष निर्माण गरिएको असुरैना स्वास्थ्य चौकीका प्रमुख सुखनन्दन पालले बताए।

‘पहिले सेवा लिन आउनेले तातोपानी पनि खान पाउने अवस्था थिएन। खाना घरबाटै बनाएर ल्याउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘सुत्केरी कुरुवा कक्ष बनेपछि सबैलाई सजिलो भएको छ।’

सुत्केरीलाई तुरुन्तै खाना पकाएर खान पाएको उनको भनाइ छ। कुरुवा भवन बनेपछि सुत्केरीका कुरुवालाई सहज बनाएको प्रमुख पालले बताए। असुरैना स्वास्थ्य चौकीमा सम्मरीमाई गाउँपालिकालगायत अन्य गाउँपालिकाबाट समेत सेवा लिन आउने गरेका छन्। सुत्केरी कुरुवाकक्ष निर्माण गरी सञ्चालनमा आएपछि उक्त स्वास्थ्य चौकीबाट १५३ जनाले सुत्केरी सेवा लिएका छन्। सुत्केरी कुरुवा कक्षबाट ६१ जना सुत्केरीका परिवारले सेवा लिएको पालले बताए।

‘नजिकै खानेबस्ने कुनै पनि ठाउ छैन सुत्केरीहरूले निकै दुःख पाएको देखेपछि परियोजनामार्फत सुत्केरी कुरुवा कक्ष निर्माण गरिएको हो’, इन्द्रेणी  ग्रामीण विकास केन्द्रका कार्यकारी निर्देशक प्रदीप शाहले भने, ‘यसको उपयोगले सुत्केरीलाई फाइदा भएको छ।’

आधारभूत स्वास्थ्य परियोजनाअन्तर्गत उक्त भवन निर्माण गरिएको फेयर मेड फाउन्डेसन नेपालका गुणस्तर सुधार तथा अनुगमन विशेषज्ञ विपिन थापाले बताए। भवनमा संस्थाले ग्यास र खाना पकाउने भाँडा राखिदिएको छ। जुनसुकै ठाउँका व्यक्तिले पनि उक्त भवनबाट सेवा लिन सक्छन्। ‘सुरुमा ५ केजी चामल राखिदिएको हो। त्यसपछि चामल राख्नुपरेको छैन’, थापाले भने, ‘सुत्केरी कुरुवा कक्षमा सेवा लिएका व्यक्तिहरुले एक केजी चामल खर्च गरे दुई केजी थपिदिएर जान थालेकाले सहज भएको छ।’

प्रकाशित: १३ भदौ २०८० १०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + six =