चन्द्रयान-३ सफल बनाउने वैज्ञानिक

हिमाल प्रेस ८ भदौ २०८० १७:३७
62
SHARES
चन्द्रयान-३ सफल बनाउने वैज्ञानिक

काठमाडौँ–भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेर इतिहास रचेको छ। ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)’ले गत जुलाई १३ मा दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–३ प्रक्षेपण गरेको थियो। ‘एलभीएम–३’ रकेटले अन्तरिक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो।

अमेरिका, रुस र चीनपछि चन्द्रमामा पुग्ने भारत चौथो देश बनेको छ। अझै चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने त पहिलो राष्ट्र नै हो। भारतले पहिलोपटक सन् २००८ मा चन्द्रयान–१ पठाएको थियो। सतहमा अवतरण गर्न नसके पनि चन्द्रयान–१ ले त्यहाँ पानी भएको पत्ता लगाएको थियो। त्यसपछि सन् २०१९ मा चन्द्रयान–२ प्रक्षेपण गरिएको थियो। तर त्यो चन्द्रमामा अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनले पनि इसरोलाई बधाई दिएका छन्। उनले भनेका छन्, ‘चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरणका लागि बधाई। चन्द्रमामा अन्तरिक्षयानलाई सफल अवतरण गराउने चौथौ देश बनेकोमा भारतलाई बधाई। यस सफलताको साक्षी बन्न पाउँदा हामी खुसी छौँ।’
भारतको यस ऐतिहासिक सफलताका पछाडि इसरोका सयौँ वैज्ञानिकको संयुक्त प्रयास छ।दिनरात नभनी गरिएको कडा मेहनत छ। चन्द्रयान–३ मिसन सफल बनाएर भारतलाई चन्द्रमामा पुर्‍याउने वैज्ञानिकहरू :

एस सोमनाथ

भारतको महत्त्वाकांक्षी ‘मून मिसन’लाई सफल बनाउनमा इसरोका अध्यक्ष एस सोमनाथको मुख्य भूमिका छ। इसरोका विभिन्न अन्तरिक्ष अभियानमा उनको भूमिका सधैँ महत्त्वपूर्ण रहने गर्छ। इसरो प्रमुख बन्नुअघि उनले विक्रम साराभाइ स्पेस सेन्टर (भीएसएससी) र लिक्विड प्रोपल्सन सिस्टम सेन्टर (एलपीएससी) का निर्देशकको जिम्मेवारी सम्हालेका थिए। एलपीएससीले इसरोका लागि रकेट टेक्नोलोजी विकसित गर्ने गर्छ।

प्रक्षेपण वाहनको सिस्टम इन्जिनियरिङ सोमनाथको विशेषज्ञता हो। चन्द्रयान–३ को प्रक्षेपण गर्दा सोमनाथले भनेका थिए, ‘चन्द्रयान–३ आफ्नो कक्षामा पुगिसकेको छ। उसले चन्द्रमातिर आफ्नो यात्रा सुरु गरिसकेको छ। यान सुरक्षित छ।’ चन्द्रयान–३ ले चन्द्रमामा सफल अवतरण गरेपछि उनले भने, ‘चन्द्रयान–२ को असफलताबाट हामीले धेरै कुरा सिक्यौँ। त्यसैले आज सफल हुन सक्यौँ।’

पी वीरमुथुवेल

तमिलनाडुको विल्लुपुरममा एक साधारण परिवारमा जन्मिएका पी वीरमुथुवेलचन्द्रयान–३ परियोजना निर्देशक हुन्। उनले सन् २०१९ मा चन्द्रयान–३ को परियोजना निर्देशकको कार्यभार सम्हालेका थिए। आईआईटी मद्रासका पूर्वछात्र उनी इसरोको मुख्य कार्यालयमा स्पेस इन्फ्रास्ट्रक्चर प्रोग्राम कार्यालयका उपनिर्देशक थिए।

वीरमुथुवेलश्रेष्ठ प्राविधिकका रूपमा चिनिन्छन्। चन्द्रयान–२ मिसनमा पनि उनले मुख्य भूमिका निर्वाह गरेका थिए। त्यस्तै चन्द्रयान–३ मिसनमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँगको सम्पर्कमा उनको अहम भूमिका रहेको छ। लेन्डरमा विशेषज्ञ वीरमुथुवेलको विक्रम लेन्डरको डिजाइनिङमा पनि उनको सक्रिय भूमिका रहेको छ।

कल्पना के

कल्पमान के चन्द्रयान–३ परियोजना उपनिर्देशक हुन्। भारतको स्याटलाइट कार्यक्रमपछाडि यिनै प्रतिबद्ध इन्जिनियरको भूमिका रहेको छ। चन्द्रयान–३ को सफल अवतरणपछि उनले पत्रकारहरूसँग भनेकी थिइन्, ‘यो क्षणको हामी वर्षौंदेखि प्रतीक्षा गरिरहेका थियौँ। आज त्यसको उचित परिणाम पाएका छौँ। यो मेरो र मेरो टोलीका लागि अविस्मरणीय क्षण हो। हामीले आफ्नो लक्ष्य प्राप्त गरेका छौँ।’

एस मोहन कुमार

एस मोहन कुमार भीएसएससीका वरिष्ठ वैज्ञानिक हुन् भने चन्द्रयान–३ को मिसन निर्देशक पनि हुन्। लन्च भेहिकल मार्क (एलभीएम)–३–एम–३ मिसनमा रहेको वन वेब इन्डिया २ उपग्रहको सफल व्यावसायिक प्रक्षेपण गर्ने निर्देशकको रूपमा काम गरेका छन्।

‘एलएम ३–एम–४ इसरोको हेभी लिफ्ट भेहिकल हो भन्ने कुरा एकपटक फेरि सिद्ध भएको छ,’ चन्द्रयान–३का सफल अवतरणपछि उनले भने। इसरोका रकेटहरूका लागि त्यही एमभीएम ३ निकै महत्त्वपूर्ण साबित हुँदै आएको छ। चन्द्रयान ३ लाई पृथ्वीबाट उडाउन प्रयोग गरिएको एलभीएम–३–एम–४ तयार पार्न उनको भूमिका महत्त्वपूर्ण छ। उनी त्यसका आर्किटेक्ट इन्जिनियरसमेत हुन्।

एस उन्नीकृष्णन नायर

एस उन्नीकृष्णन नायर विक्रम साराभाइ अन्तरिक्ष केन्द्र(भीएसएससी)का निर्देशक हुन्। नायर र उनको टोलीले चन्द्रयान–३ मिसनका विभिन्न काम हेरेका थिए। उनले सन् १९८५ मा भीएसएससी तिरुवन्तपुरमबाट आफ्नो करियरको सुरुवात गरेका थिए। नायर बेंगलुरुको ह्युमन स्पेस फ्लाइट सेन्टरका पहिलो निर्देशक पनि हुन्। मानव अन्तरिक्ष उडानलगायत विभिन्न उन्नत परियोजनाको नेतृत्व उनले गरेका छन्।

एम शंकरन

सन् २०२१ देखि एम शंकर यूआर राव स्याटलाइट सेन्टर (यूआरएससी)का निर्देशक हुन्। उनले उपग्रह विकसित गरेका छन्, जसले भारतको सञ्चार, मौसम पूर्वानुमान, ग्रहको खोजीलगायत विविध आवश्यकता पूरा गर्छ।

यूआरएससीको निर्देशक बन्नुअघि शंकरन त्यसका सञ्चार र पावर सिस्टम क्षेत्रका उपनिर्देशक थिए। यूआरएससी र इसरोमा आफ्नो ३५ वर्षको कार्यकालमा शंकरनले स्याटलाइट पोजिसन सिस्टम, बिजुली प्रणालीलगायत क्षेत्रमा योगदान पुर्‍याएका छन्। चन्द्रयान–१, चन्द्रयान–२, मार्स अर्बिटर मिसन, एस्ट्रोस्याटलगायत अन्तरग्रहीय मिसनका लागि बिजुली उत्पादन र वितरण प्रणालीको डिजाइन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

ए राजराजन

ए राजराजन सतीश धवन स्पेस सेन्टरका निर्देशक र वैज्ञानिक हुन्। चन्द्रयान–३ मा उनको टोलीले लन्च कम्प्लेक्स इन्फ्रास्ट्रक्चरमा काम गरेको थियो।

डा. रितु करिधल श्रीवास्तव

चन्द्रयान–३ मिसनमा डा. रितु करिधल श्रीवास्तवको भूमिका निकै महत्त्वपूर्ण रहेको छ। ‘रकेट वुमन’ भनेर चिनिने उनी भारतको मंगल ग्रहको परिक्रमा गर्ने मिसन ‘मंगलयान’मा डेपुटी अपरेसन डाइरेक्टर थिइन्।

इसरोका वरिष्ठ वैज्ञानिकमध्ये एक उनले लखनऊ विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक गरेकी हुन्। त्यसपछिइन्डियन इन्स्टिच्युट अफ साइन्सबाट एयरोस्पेस इन्जिनियरिङमा एमई गरेकी हुन्। सन् १९९७ मा इसरोसँग जोडिएकी उनी चन्द्रयान–२ को मिसन निर्देशक थिइन्।

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा २० भन्दा बढी शोधपत्र प्रकाशित गरिसकेकी छन्। उनले ‘इसरो युवा वैज्ञानिक पुरस्कार’, ‘इसरो टिम अवार्ड फर मम–२०१५, ‘वुमन एचिभर्स इन एरोस्पेस’ लगायत पुरस्कार पाएकी छन्।

प्रकाशित: ८ भदौ २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =