विपन्न विद्यार्थीलाई न्यौपाने बन्धुको साथ

हिमाल प्रेस ८ भदौ २०८० १३:२१
32
SHARES
विपन्न विद्यार्थीलाई न्यौपाने बन्धुको साथ

सिन्धुपाल्चोक-  सिन्धुपाल्चोकको पीपलडाँडाका न्यौपाने बन्धुले विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनका लागि छात्रवृत्ति कोष स्थापना गरेका छन्। जिल्लाका तीनवटा विद्यालय सिद्धिकमला माध्यमिक विद्यालय पीपलडाँडा, दक्षिणकाली आधारभूत विद्यालय पीपलडाँडा र श्री कृष्ण रत्नगंगा मावि चौतारामा न्यौपाने बन्धुले कोष स्थापना गरेका हुन्।

पीपलडाँडाका न्यौपाने थरका एकै घरका तीन दाजुभाइ पुण्यप्रसाद, नेत्रप्रसाद र इन्द्रप्रसादले सिद्धि कमलादेवी माविमा बद्रीनाथ गंगादेवी स्मृति छात्रवृत्तिका लागि रु. दुई लाख ११ हजारको कोष स्थापना गरेका छन्।

कोषको ब्याजको रकमबाट विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनमा सघाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम सापकोटाले बताए।

त्यसैगरी न्यौपाने दाजुभाइले जिल्लाकै जेठो विद्यालय श्री कृष्णरत्न गंगा मावि चौतारामा वि.सं. २०५५ मा नै बद्रीनाथ शर्मा स्मृति छात्रवृत्तिका लागि एक लाखको कोष स्थापना गरेका थिए। कोषको रकमलाई बैंकको मुद्दती खातामा राखिएको र ब्याजको रकमबाट वार्षिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिइँदै आइएको छ।

यसैगरी दक्षिणकाली आवि पीपलडाँडामा पनि एक लाखको छात्रवृत्ति कोष स्थापना गरिएको छ। कोषको रकम पनि विपन्न तथा जेहेनदार विद्यार्थीको पठनपाठनमा उपलब्ध गराउने गरिएको कोषका संस्थापक पुण्यप्रसाद न्यौपानेले बताए।

बुबा बद्रीनाथ र आमा गंगादेवी न्यौपानेका तीनैजना छोरा नेपाल सरकारका उच्चपदस्थ अधिकारी भएर काम गरेका व्यक्तित्व हुन्। जेठा पुण्यप्रसादले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अनि स्थानीय विकास मन्त्रालयको सचिव एवं नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरिसकेर सेवानिवृत्त भएका छन्।

माइँला नेत्रप्रसाद सरकारको सहसचिवसम्म भई सेवानिवृत्त भएका छन्। उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी पूरा गरिसकेका छन् भने कान्छा इन्द्रप्रसाद न्यौपाने नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक भई हाल सेवानिवृत्त जीवन बिताइरहेका छन्।

प्रकाशित: ८ भदौ २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =