गलेश्वर- गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को धार्मिकस्थल कागबेनीको पुनर्निर्माण थालिएको छ।
समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिए पनि स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ। घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र समाजसेवी जुटिरहेका छन्।
विपद्मा परेका कागबेनीवासीको व्यवस्थापन र पुनःनिर्माणमा श्रमदान गरिरहेका छन्। गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनःस्थापनाको काम गर्न सुरु गरेको छ।
घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायत सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए।
त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू-संरक्षणलगायत काम गरिरहेको उनले बताए।
कागबेनीको पुनःनिर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरकफरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिए।
स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिक खटिरहेका छन्। बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ।
दुईपांग्रे १६ सवारीसाधन तथा ४ पांग्रे २ वटा गरी १८ सवारीसाधन, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुंगे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, ९ वटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङको विवरण छ। यसैगरी गाउँपालिकाको ४ नं वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्रसमेत बगाएको छ। रासस
गेग्रानसहितको बाढीले कागबेनी बन्यो खण्डहर, २९ घर क्षतिग्रस्त