विपद्‍मा ‘ड्रोन’ सहयाेगी

हिमाल प्रेस १ भदौ २०८० १७:३३
6
SHARES
विपद्‍मा ‘ड्रोन’ सहयाेगी

काभ्रे- काभ्रेपलाञ्चोकमा विपद्‍का घटनामा ‘ड्रोन’को प्रयोग गरी थप जनधनको क्षति हुनबाट जोगाउन थालिएको छ। जिल्लास्थित नेपाली सेनाको कालीजंग गण धुलिखेलले एउटा घटनामा ड्रोनको प्रयोग गरी थप क्षति हुनबाट रोकेपछि यसलाई विपद्को सहयोगीको रूपमा प्रयोगमा ल्याइने भएको हो।

धुलिखेल नगरपालिका-१० स्थित शारदा बतासेमा हालै भएको आगलागीको घटनामा ड्रोनको सहायताले आगलागी भएको स्थान, आगलागीको फैलावटलगायत जानकारी लिइएपछि उक्त घटनामा आगलागी नियन्त्रणका लागि गर्नुपर्ने पूर्वतयारी, आवश्यक पर्ने सामग्री र जनशक्तिको व्यवस्थापन गर्न गणलाई सजिलाे भएकाे थियो। ‘ड्रोनका माध्यमबाट आगलागीको जानकारी लिइएपछि आवश्यक सामग्रीसहितको जनशक्ति लिएर घटनास्थल पुगी आगो नियन्त्रणमा लिइएको थियो,’ गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने।

उनका अनुसार खोज तथा उद्धारमा जानुअघि नै ड्रोनका माध्यमबाट सूचना र अवस्थाबारे जानकारी लिई थप क्षति हुन नदिन प्रविधिलाई प्रयोगमा ल्याइएको हो। गणले प्रयोगमा ल्याएको ड्रोनको क्षमता १८ किलोमिटर टाढासम्म छ।

जिल्ला सदरमुकाममा रहेको गणले धुलिखेल नगरपालिका क्षेत्रभित्र जुनसुकै स्थानमा विपद्का घटना भएमा सो ड्रोनबाट जानकारी लिई व्यवस्थापन गर्न सकिने सिंहले बताए।

स्थानीय तहले ड्रोनको ज्ञान, सीप तथा जनशक्ति व्यवस्थापन गरे स्थानीय नागरिकलाई विपद्‍बाट हुनसक्ने थप जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताइन्छ। काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्। यसैबीच जिल्लामा यस वर्षको ‘मनसुनजन्य विपद्’मा ३ हजार ७ सय ५७ घर उच्च जोखिममा रहेका छन्।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका ३ हजार ७ सय ५७ घर उच्च जोखिममा रहेको उल्लेख गर्दै यसमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा १ सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्‍बाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन जिल्लास्थित स्थानीय तहलाई निर्देशन दिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहलाई बाढी, डुबान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सहजीकरण गर्न आग्रह गर्दै आएको छ। रासस

प्रकाशित: १ भदौ २०८० १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + thirteen =