इन्जिनियरिङ : कसले पढ्न पाउँछन्, कहाँ पढ्ने?

हिमाल प्रेस ३२ साउन २०८० १७:३५
114
SHARES
इन्जिनियरिङ : कसले पढ्न पाउँछन्, कहाँ पढ्ने?

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०/८१ का लागि बीई र बीआर्कको प्रवेश परीक्षाका लागि आवेदन माग गरेपछि इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीको चासो त्यसतर्फ सोझिएको छ। इच्छुक विद्यार्थीले अनलाइनमार्फत भदौ ५ गते बिहान १० बजेदेखि १९ गते साँझ ५ बजेभित्र आवेदन दिनुपर्ने त्रिविको सूचनामा उल्लेख छ।

त्रिवि सम्बद्ध आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित विभिन्न १२ वटा कार्यक्रममा इन्जिनियरिङ अध्ययनका लागि आवेदन माग गरिएको हो। ती कार्यक्रममा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इलेक्ट्रिकल इन्जिनियरिङ, एग्रिकल्चर इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्डस्ट्रियल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ र केमिकल इन्जिनियरिङ छन्।

प्रवेश परीक्षा भदौ २५ देखि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक र पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुनेछ।

कसले पढ्न पाउँछ ?

त्रिवि वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह वा A Level वा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कुल पूर्णांकको कम्तीमा ४५ प्रतिशत तथा Letter Grading भएमा (NEB को हकमा) प्रत्येक विषयको Final Grade मा न्यूनतम C Grade प्राप्त गरी उत्तीर्ण गरेका वा कक्षा १२ वा सोसरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैटौँ सेमेस्टरको परीक्षामा सम्मिलित भएका विद्यार्थीले समेत आवेदन दिई प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।

रोजाइको विषय

उच्चशिक्षा लिने विद्यार्थीका लागि इन्जिनियरिङ शिक्षा रोजाइको विषय हो। प्रतिवर्ष करिब १८ हजार नेपाली विद्यार्थी इन्जिनियरिङ शिक्षा अध्ययन गर्न स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय/शिक्षण संस्थामा जाने गरेका छन्। नेपालका ६ वटा विश्वविद्यालयले उच्चशिक्षामा इन्जिनियरिङ शिक्षा अध्ययनको व्यवस्था गरेका छन्। नेपाल इन्जिनियरिङ परिषद्को तथ्यांकअनुसार ती विश्वविद्यालयका ५० वटा संस्थान/कलेजमा प्रतिवर्ष १० हजार ९ सय ७३ विद्यार्थी सहभागी हुन सक्ने गरी सिट निर्धारण गरिएको छ। त्यसमध्ये करिब ७ हजार विद्यार्थी मात्र भर्ना हुने गरेको तथ्यांक छ।

इन्जिनियरिङ अध्ययनकै लागि विदेश जाने विद्यार्थीको संख्या पनि धेरै छ। तर यसको यकिन तथ्यांक छैन। परिषद्का रजिस्ट्रार शिवमंगल गिरीका अनुसार नेपालको इन्जिनियरिङ डिग्री विदेशको भन्दा कमजोर छैन। यद्यपि नेपालमा विद्यार्थीको कोटा पूरा नहुने तर बिदेसिने विद्यार्थीको संख्या धेरै छ। उनले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार गर्न परिषद्ले ध्यान दिएको र लाइसेन्स परीक्षा व्यवस्थित गरिने बताए। ‘इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई एकीकृत प्रवेश परीक्षा र अध्ययनपछि कार्यक्षेत्रमा जाने जनशक्तिका लागि इन्जिनियरिङ लाइसेन्स परीक्षाको व्यवस्था गर्न लागिएको छ’, उनले भने।

सूचना प्रविधि क्षेत्रको तीव्रतर विकासले इन्जिनियरिङमा आकर्षण बढेको छ। नेपालका विश्वविद्यालयले समयानुसार पाठ्यक्रम पनि परिमार्जन गर्दै लगिरहेका छन्।  ‘गुणस्तर वृद्धि गर्न व्यवस्थित गर्दै लैजाने विषयमा परिषद् सरोकारवाला निकायसँग निरन्तर छलफलमा छ,’ गिरी भन्छन्, ‘इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई एकीकृत प्रवेश परीक्षा र अध्ययनपछि कार्यक्षेत्रमा जाने जनशक्तिका लागि इन्जिनियरिङ लाइसेन्स परीक्षाको व्यवस्था गरेका छौँ। परीक्षा व्यवस्थित गर्दै लाने योजना बनाएका छौँ।’

विकासोन्मुखबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने प्रक्रियामा रहेको नेपालले अब पूर्वाधार विकासमा लगानी बढाउनुपर्नेछ। अर्थतन्त्रको ठूलो हिस्सा पूर्वाधार विकासमा खर्च हुने भएकाले इन्जिनियरसहितको दक्ष जनशक्तिको माग बढेको रजिस्ट्रार गिरीको भनाइ छ।

कुन फ्याकल्टीमा कति सिट?

परिषद्ले सिभिल इन्जिनियरिङतर्फ ४ हजार ४१६ सिट संख्या निर्धारण गरेको छ। इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ५ सय ३२, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका लागि १ हजार ३९४, मेकानिकल इन्जिनियरिङका लागि ३६० सिट छुट्याइएको छ।

केमिकल इन्जिनियरिङमा ३०, कम्प्युटर इन्जिनियरिङमा २ हजार १४०, इन्भ्यारोमेन्टल इन्जिनियरिङका लागि ३५, एग्रिकल्चर इन्जिनियरिङका लागि २४, आर्किटेक्चरतर्फ ६१० सिट संख्या कायम गरिएको छ। इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा ३ सय, बायोमेडिकल इन्जिनियरिङतर्फ ७२, सफ्टवेयर इन्जिनियरिङतर्फ १९२, बीईआईटीमा ४३२, इन्डस्ट्रियल इन्जिनियरिङतर्फ ४८, जियोमेटिक्स इन्जिनियरिङतर्फ १४८, सिभिल एन्ड रुलर एन्जिनियरिङमा ९६ कोटा निर्धारण गरिएको छ।

यसैगरी अटोमोबाइल इन्जिनियरिङमा ९६, एरोस्पेस इन्जिनियरिङतर्फ ४८ जना गरी १८ वटा विषयमा नेपालभरका शिक्षण संस्थामा १० हजार ९ सय ७३ सिट संख्या कायम गरिएको परिषद्ले जनाएको छ। नेपालमा रहेका ५० वटा इन्जिनियरिङ क्याम्पसमध्ये काठमाडौँ उपत्यकामा ५० वटा छन्।

विदेश जानुपर्छ भन्ने छैन

काठमाडौँ इन्जिनियरिङ कलेजका प्रिन्सिपल प्रा. हिरेन्द्रमान प्रधानले नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर राम्रो रहेको बताए। ‘परिषद्ले विद्यार्थी अनुत्तीर्ण गराएर क्याम्पसलाई सुकाउन हुँदैन। शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्छ’, उनले भने, ‘अर्थतन्त्रको ठूलो हिस्सा पूर्वाधार विकासमा खर्च हुन्छ। पूर्वाधार विकासको न्यूनतम सर्त दक्ष जनशक्ति हो। नेपालजस्तो देशमा दक्ष इन्जिनियरको आवश्यकता दिनानुदिन बढ्दै गएको छ।’

प्रधान स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज भएकाले इन्जिनियरिङ शिक्षाका लागि नेपाल उत्तम हुने सुझाव दिन्छन्। ‘नेपालमा पढ्दा नेपालीपन हुन्छ। नेपाली व्यावसायिक र पेसागत वातावरण बुझ्न पनि सजिलो पर्छ। फिल्डमा काम गर्न सजिलो हुन्छ,’ उनी भन्छन्।

कति खर्च लाग्छ?

इन्जिनियरिङ शिक्षण संस्थामा शुल्क महँगो हुने भएकाले छात्रवृत्तिमा नाम निकाल्न विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा हुन्छ। सीमित सिट हुने भएकाले सबै विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउँदैनन्। स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्न ८ सेमेस्टर (४ वर्ष) का लागि ८ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ। इन्जिनियरिङका लागि हरेक वर्ष थुप्रै नेपाली विद्यार्थी भारत जाने गरेका छन्। भारतमा २० लाख रुपैयाँसम्म खर्च हुने गरेको त्यहाँ अध्ययन गरी फर्किएकाहरू बताउँछन्।

परिषद्ले नेपालबाहेक ४४ देशका ८ सय ४ वटा विश्वविद्यालयमा अध्ययन गर्न पाइने अनुमति दिएको छ। सबैभन्दा बढी भारतमा ३ सय १४, चीनका ५८, रुसका ३९, अमेरिकाको ७२, बेलायतका २५, जापानका १२, अस्ट्रेलियाका १६ विश्विद्यालय/शिक्षण संस्थालाई परिषद्ले दर्ता अनुमति दिएको छ।

पढेपछि पनि विदेश मोह

अधिकांश इन्जिनियरमा विदेश मोह छ। नेपालमा इन्जिनियरिङ पढाइ सक्ने थुप्रै इन्जिनियर पनि बिदेसिने गरेका छन्। प्राज्ञिक र पेसागत अवसर राम्रो हुने भएकाले इन्जिनियरहरूमा विदेश मोह भएको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार विदेशमा इन्जिनियरको माग र आम्दानी नेपालको तुलनामा राम्रो हुने लोभले पनि आकर्षण बढेको हो।

सबल आर्थिक हैसियत भएका युरोपेली देश, क्यानाडा, अस्ट्रेलिया, अमेरिकाजस्ता देशमा जान चाहने शैक्षिक परामर्शदाता बताउँछन्। यद्यपि राम्रो आम्दानी हुने भएकाले खाडी राष्ट्र र मलेसियामा जाने इन्जिनियरको संख्या उतिकै छ। नेपाली इन्जिनियरलाई नेपालमा आकर्षण गर्न नसक्दा बजारमा दक्ष इन्जिनियरको अभाव हुने गरेको छ।

आकर्षणमा केके छन्?

इन्जिनियरिङ पेसामध्ये सबैभन्दा बढी आकर्षणको विषय हो सिभिल इन्जिनियरिङ। निर्माण कार्य जहिल्यै भइरहने भएकाले यसमा विद्यार्थी आकर्षण बढिरहेको जानकारहरू बताउँछन्। काठमाडौँ इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विभागका प्रमुख अर्जुन पौडेलका अनुसार तत्काल काम पाइने भएकाले पनि सिभिलमा धेरैको रुचि बढेको हो। त्यसपछि कम्प्युटर, आर्किटेक्चर र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा उत्तिकै आकर्षण हुन्छ। उक्त कलेजमा सिभिल, कम्प्युटर, आर्किटेक्चर, इलेक्ट्रिकल र इलेक्ट्रिोनिक्स, कम्प्युनिकेसन एन्ड इन्फरमेसन गरी पाँचवटा फ्याकल्टी छन्। कम्प्युटरमा ९६, सिभिलमा ९६, आर्किटेक्टमा ४८, इलेक्ट्रिकल ४८ र इलेक्ट्रोनिक्समा ९६ सिट भए पनि सबैमा विद्यार्थीको चाप असाध्यै बढिरहेको उनको भनाइ छ। पौडेल भन्छन्, ‘हामीकहाँ सबै फ्याकल्टी भरिने गरेका छन्।’

पछिल्लो समय एग्रिकल्चर, बायोमेडिकल, सफ्टवयर, जियोमेटिक्स इन्जिनियरिङमा पनि विद्यार्थीको आकर्षण बढ्दै गएको छ। नेपाल इन्जिनियरिङ परिषद्‌मा दर्ता भएका ६४ हजारभन्दा बढी इन्जिनियरमध्ये ११ क्षेत्रमा अहिलेसम्म कुनै पनि इन्जिनियर छैनन्। परिषद्ले सूचीकृत गरेका विभिन्न ५५ वटामध्ये ४४ वटा विषय अध्ययन गरेका इन्जिनियर नेपालमा दर्ता भएका हुन्।

परिषद्को तथ्यांकमा सिभिल एभिएसन अपरेसन तथा इन्जिनियरिङ विषय पढेका इन्जिनियरहरू दर्ता छैनन्। त्यस्तै एभिओनिक्स, भूकम्प इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ साइन्स एन्ड इन्जिनियरिङ, मेटेरोलोजी, मेट्रोलोजी, साउन्ड एन्ड भिडियो, ब्याचलर अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी अफ विपेनोरी, लजिस्टिक इन्जिनियरिङ, हाइड्रोपावरतर्फका इन्जिनियर नेपालमा छैनन्।

त्रिविमा इन्जिनियरिङ पढाइ हुने कलेज 

आ‌ंगिक क्याम्पस र जम्मा सिट संख्या

आईओई, पुलचोक, ललितपुर : ५२८
पश्चिमाञ्चल क्याम्पस, पोखरा : ४३२
पूर्वाञ्चल क्याम्पस, धरान :  ४५६
थापाथली क्याम्पस, थापाथली : ३३६
चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवन :  २४ (आर्किटेक्ट मात्र)

त्रिवि सम्बन्धन प्राप्त क्याम्पस र जम्मा सिट संख्या 

काठमाडौँ इन्जिनियरिङ कलेज, काठमाडौँ : ३८४
कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुर : २८८
हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुर : २४०
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर : ३३६
नेसनल कलेज अफ इन्जिनियरिङ, ललितपुर : २४०
काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर : १९२
जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुर : १९२
ख्वपः कलेज अफ इन्जिनियरिङ, भक्तपुर : १९२
सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर : ९६
ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर : ४८

इन्जिनियरिङ पढाइ हुने अन्य विश्वविद्यालयका कलेज र सिट संख्या

गण्डकी इन्जिनियरिङ कलेज, पोखरा : ९६
कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी, ललितपुर : ४३२
नेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, धनगढी : १४४
नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, ललितपुर : ५२८
नेपाल इन्जिनियरिङ कलेज, ललितपुर : ५७६
लुम्बिनी इन्जिनियरिङ कलेज अफ म्यानेजमेन्ट एन्ड साइन्स, रूपन्देही : २४०
पोखरा इन्जिनियरिङ कलेज, पोखरा : १९२
अक्सफोर्ड इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट, गैँडाकोट,नवलपरासी : २४०
एभरेस्ट इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट : ३३६
राप्ती इन्जिनियरिङ कलेज, दाङ : ९६
युनाइटेड टेक्निकल कलेज, चितवन : १९२
पोखरा युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ : २८८
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, ललितपुर : १४४
कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट : १४४
मदन भण्डारी मेमोरियल कलेज : १९२
रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट : ९६
स्कुल अफ साइन्स, धुलिखेल : ३५
स्कुल अफ इन्जिनियरिङ, धुलिखेल : ४२०
एक्मी इन्जिनियरिङ कलेज, सीतापाइला : ३४४
हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज, ललितपुर : १७६
कान्तिपुर सिटी कलेज, पुतलीसडक : १८४
इस्ट्रन कलेज अफ इन्जिनियरिङ, विराटनगर : १६६
कलेज अफ इन्फरमेसन टेक्नोलोजी, काठमाडौँ : ८०
हिमालय इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, काठमाडौँ : ६०
स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, विराटनगर : २६४
कलेज अफ बायोमेडिकल इन्जिनियरिङ, विशालनगर, काठमाडौँ : ७२
आर्यन स्कुल अफ इन्जिनियरिङ, मध्यबानेश्वर : ९६
सेन्ट्रल इन्जिनियरिङ कलेज, जनकपुर : ४८
जियोमेटिक्स इन्स्टिच्युट अफ टेक्नोलोजी, काठमाडौँ : ४०
कान्तिपुर इन्टरनेसनल कलेज, लुभु, ललितपुर : १४४
नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुर : ९६
हिलसाइड कलेज अफ इन्जिनियरिङ, कोटेश्वर, काठमाडौँ : १४४
मोर्गन इन्जिनियरिङ कलेज एन्ड म्यानेजमेन्ट, काठमाडौँ : ४८
स्कुल अफ इन्जिनियरिङ, सुदूरपश्चिम, महेन्द्रनगर : ९६
स्कुल अफ इन्जिनियरिङ, वीरेन्द्रनगर, सुर्खेत : १९२

प्रकाशित: ३२ साउन २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast