बंगलादेशमा बिजुली बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

हिमाल प्रेस ३२ साउन २०८० १३:५०
8
SHARES
बंगलादेशमा बिजुली बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

काठमाडौँ- नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ।

नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजाने छ।

४० मेगावाट धेरै नभए पनि तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण हो। नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी (एनभीभिएन)सँग बिजुलसँग बंगलादेश निर्यातका लागि सहमति गरिसकेको छ। सोही संस्थामार्फत नेपालको बिजुली बंगलादेश पुग्नेछ।

बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ।
इमेलमार्फत सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको छ। कुन आयोजनाको बिजुली

बंगलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुन बाँकी छ।
यसलाई निष्कर्षमा पु¥याउन धेरै समय नलाग्ने यसमा संलग्न पदाधिकारीको भनाइ छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीका अनुसार यो सहमति नेपालका लागि निकै महत्त्वपूर्ण हो।

अध्यक्ष कार्कीले निजी क्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गरेका छन्। ‘हामीले अनुमति पाएको खण्डमा भारत र बंगलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौँ” उनले भने, ‘यसमा सरकार र निजी क्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ। हामी त्यसका लागि तयार छौँ।’

सन् २०४० सम्म बंगलादेशले नेपालबाट ९००० मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ। हाल भारतले बंगलादेशलाई बिजुली निर्यात गरिरहेको छ।

स्वच्छ ऊर्जाको खोजीमा रहेको बंगलादेशले नेपालका केही महत्त्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ। गत जेठ २ मा बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो।

बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायत विषयमा गम्भीर छलफल भएको थियो।

सोही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत् व्यापार निगम, भारत र बंगलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो।

नेपाल र भारतका ऊर्जा सचिवबीच गत फागुनमा सम्पन्न १०औँ बैठकमा बंगलादेश बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो। तत्कालका लागि ५० मेगावाट बिजुली निर्यातका लागि भारतीय प्रसारण प्रणाली प्रयोग गर्न दिन भारतीय पक्ष सहमत भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणमा समेत यस विषयमा सहमति भएको छ। आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्नेदेखि नेपालको बिजुली बंगलादेश निर्यातका लागिसमेत भारत सहमत भएको थियो।

कुल ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारीको काम समेत भइरहेको छ। गत जेठमा सम्पन्न नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय बैठकले ६ महिनाभित्र आयोजना विकासका लागि संयुक्त उपक्रम तयार पार्ने सहमति भएको थियो।

बंगलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ। यद्यपि यो आयोजनाको प्रवर्द्धक ग्रान्धी माल्ल्किाजुर्न राव (जीएमआर)ले वित्तीय व्यवसथापन गर्न नसक्दा अगाडि बढ्नसकेको छैन।

लगानी बोर्ड नेपालको प्रस्तावमा सरकारले आयोजनाको म्याद अन्तिम पटक दुई वर्षका लागि थप गरे पनि हालसम्म कुनै प्रगति हुनसकेको छैन। रासस

प्रकाशित: ३२ साउन २०८० १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =