भरतपुर-बर्दघाट डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

हिमाल प्रेस ३० साउन २०८० १३:२४
4
SHARES
भरतपुर-बर्दघाट डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ- पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर-बर्दघाट २२० किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।

चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नवलपरासीको बर्दघाट सबस्टेसनसम्ममा ७४ किलोमिटर लम्बाइको प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। प्रसारण लाइनले १००० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्छ।

२२० केभी डबल सर्किट प्रसारण लाइनलाई सुरुमा १३२ केभीमा सञ्चालनमा ल्याइने छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माण सम्पन्न भएपछि भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाह गर्न थप सहज भएको बताए।

‘प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयको अवरोध, रुख कटानको समस्या, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले जीर्ण बनेको आयोजना निरन्तरको प्रयासपछि सम्पन्न भएको छ,’ उनले भने। भरतपुरबाट पश्चिमतर्फ विद्युत् प्रवाहका लागि हाल १३२ केभी सिंगल सर्किट सञ्चालनमा छ।

यसको क्षमताले नधान्दा भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् पठाउन समस्या भएको थियो। अब भरतपुरबाट बर्दघाटसम्म विद्युत् पठाउनका लागि पुरानोसहित तीन वटा सर्किट भएका छन्।

कुल २२० केभीको लाइनलाई हाल १३२ केभीमा चार्ज गर्दा एउटा सर्किटबाट १७० मेगावाटसम्म विद्युत् प्रवाह हुन सक्छ। पुरानो सर्किटबाट करिब ९० मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो।

बर्दघाटबाट नवलपरासीको सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको २२० केभी प्रसारण लाइन निर्माणाधीन छ।

यो प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ। त्यसपछि हेटौँडाबाट नयाँ बुटवल सबस्टेसम्म २२० केभी प्रसारण लाइन जोडिने छ।

प्रकाशित: ३० साउन २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =