‘क्वार्ज किष्टल’ गोरखा दरबारमा राखिने

हिमाल प्रेस २९ साउन २०८० १५:२५
10
SHARES
‘क्वार्ज किष्टल’ गोरखा दरबारमा राखिने बरामद गरिएको क्वार्ज किष्टल। तस्बिर : रासस

गोरखा- गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुंगा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रूपमा प्रतिस्थापन गरिने भएकाे छ।

अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कुल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रूपमा लिएकाले जिल्ला बाहिर नपठाउने निर्णय गरिएकाे नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले जानकारी दिइन्।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी संघसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार बसेकाे सर्वपक्षीय बैठकले क्वार्ज किष्टललाई गोरखा दरबार परिसरभित्रै सुरक्षितसाथ भगवती शिलाका रूपमा विधिपूर्वक प्रतिस्थापन गर्ने निर्णय गरेको थियो। ‘औलौकिक शिला मन्दिरमा राखिएपछि यसले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनलाईसमेत थप आकर्षण गराउँछ,’ उपप्रमुख थोकरले भनिन्, ‘गोरखाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रूपमा लिएकाले बाहिर लैजान नहुने भन्दै सर्वपक्षीय बैठकले दरबार परिसरमै प्रतिस्थापन गर्ने निर्णय गरेको हो।’

बरामद गरिएको क्वार्ज किष्टल कहाँ राख्ने भन्ने विषयमा चर्चा चलिरहेका बेला गोर्खाली जनताको चाहाना र भावनाअनुसार नै दरबार परिसरमा राख्न स्थानीय सरकारसहित सरोकारवाला सहमत भएका छन्। ‘खानी तथा भूगर्भ विभागमा राखे पनि पनि राज्यकै हुने र गोरखा दरबारमा राखे पनि पनि राज्यकै सम्पत्तिको हुने हो,’ उपप्रमुख थोकरले भनिन्, ‘राज्यले नै सुरक्षा दिएर राख्ने भएकाले क्वार्ज किष्टललाई जिल्ला बाहिर पठाउन नहुनेमा गोरखास्थित संघसंस्था, बुद्धिजीवी, घरधनी, नागरिक समाजका अगुवाको पनि चाहना थियो।’

आफ्नो घरबाट बरामद गरिएको उक्त क्वार्ज क्रिष्टललाई गोरखकाली मन्दिर परिसर भित्रै नै राख्नुपर्ने र समयसमयमा आफूहरूले पूजा गर्न पाउनुपर्ने घर धनीले पनि इच्छा व्यक्त गरेको उनले बताइन्।

सर्वपक्षीय बैठकमा औलोकिक शिला गोरखामा नै राख्ने निर्णय गरेपछि नगरपालिकाले आवश्यक प्रक्रियाका लागि नेपाल सरकार, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भूगर्भ विभाग र पुरातत्व विभागमा पत्राचार गर्ने निर्णयसमेत गरिएको थियो।

त्यस्तै जिल्ला प्रशासन कार्यालय, गोरखा, जिल्ला प्रहरी कार्यालयलाई समेत बैठकले गरेको निर्णय तत्काल जानकारी गराउन आवश्यक निर्देशन दिइएको उपप्रमुख थोकरले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयको आग्रहमा प्रहरी कार्यालयमा विशेष सुरक्षाका साथ राखिएको टल्कने ढुंगाको अध्ययन गर्न गत सोमबार आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले उक्त ढुंगा ‘क्वार्ज किष्टल’ नै भएको पुष्टि गर्दै विभागमा पठाउन प्रशासनलाई सुझाव दिएको थियो।

भूगर्भविद्को टोलीले दुई दिन लगाएर परीक्षण गरेको थियो। विभागको टोलीले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिइ उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमार्फत आग्रह गरेको थियो।

परीक्षणबाट उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य पत्थर भएको र संसारभरका धातुलाई कडापनका आधारमा १० भागमा वर्गीकरण गर्ने गरिएकामा बरामद गरिएको ढुंगा सातौँ नम्बरमा पर्ने भूगर्भविद्ले जानकारी गराएका थिए।

उक्त ढुंगा ५२ किलो तीन सय ३० ग्राम रहेको रहेको छ। गएको असार १४ गते प्रहरीले उक्त टल्कने ढुंगा सतिपीपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरिएको थियो। रासस

प्रकाशित: २९ साउन २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast