केशरशमशेरको विश्व भ्रमणको नालीबेली

सन्तोष खडेरी २८ साउन २०८० ६:११
1.3k
SHARES
केशरशमशेरको विश्व भ्रमणको नालीबेली केशरशमशेर आफ्नो विश्व भ्रमणबाट नेपाल फर्किने क्रममा सिंगापुर आइपुगेको बारेमा सिंगापुरस्थित दी स्ट्रेट्स टाइम्स पत्रिकाको ०६ जनवरी १९४० मा प्रकाशित समाचार अंश।

राणाहरूमध्ये केशरशमशेरलाई बढी विद्वान्‌का रूपमा लिने गरिन्छ। विश्व भ्रमण गर्ने पहिलो नेपालीका रूपमा पनि उनको नाम चर्चामा छ। उनको ज्ञान र विद्वत्ता अन्य राणाहरूको तुलनामा धेरै थियो। आफ्नो ज्ञान, जानकारी र तर्कबाट उनले विदेशीलाई पनि प्रभाव पार्न सक्दथे भन्ने उनीसँग भेटका विदेशीका विवरणबाट पुष्टि हुन्छ।

सन् १९३० को दशकमा जुद्धशमशेरको उदयपछि कतिपय युरोपेली मुलुकसँग नेपालको तक्मा आदानप्रदानको सम्बन्ध विकास भएको थियो। धेरै मुलुकले प्रधानमन्त्री र उनी पछिका दोस्रो वरीयताका कमान्डर इन चिफलाई तक्मा पठाउने गर्दथे। राणाकालीन प्रशासनको शक्ति सन्तुलनको अभ्यास त्यस्तै थियो। तर सन् १९३४ मा फ्रान्सबाट नेपालका प्रधानमन्त्रीलाई त्यहाँको सर्वोच्च सम्मानको तक्मा आउँदा अर्को तक्मा दक्षिणतर्फका कमान्डिङ जनरल केशरशमशेरलाई आएको थियो। नेपालले पूर्वीय संस्कृति र संस्कृतका फ्रेन्च विद्वान् सिल्भा लेभीलाई अध्ययनअनुसन्धानमा सहयोग गरेको थियो। उनलाई आवश्यक सहजीकरण एवं सहायताका लागि केशरशमशेर आफैँ खटिएका थिए। बुद्ध जन्मस्थल लुम्बिनीको जीर्णोद्धार, संरक्षण र संवर्द्धनमा कदरस्वरुप फ्रान्सले उनलाई उक्त तक्मा प्रदान गरेको थियो। (गोरखापत्र साप्ताहिक, १९९१ जेष्ठ १९)

केशरमशेर नेपाली राहदानी वाहकका रूपमा विश्व भ्रमण गर्ने प्रथम नेपाली हुन्। त्यसअघि विश्व भ्रमण गर्ने अन्य दुई नेपालीमा उनका भिनाजु बझाङी राजा कर्नेल जयपृथवीबहादुर सिंह र विमातृ भाइ मे.ज.विष्णुशमशेर थिए। दुवैले नेपाल सरकारले आफ्नो राहदानी जारी गर्नुपूर्व नै विदेश भ्रमण गरेका थिए।

जयपृथ्वीबहादुर सिंहले पहिले ब्रिटिस, फ्रेन्च राहदानी र पुनः ब्रिटिस सरकारद्वारा प्रमाणित यात्रा अनुमतिपत्रले विदेश भ्रमण गरेका थिए। उनी युरोप र अमेरिकाका साथै जापान र चीन पनि पुगेका थिए। विष्णुशमशेरले ब्रिटिस भारत सरकारद्वारा प्रमाणित परिचयपत्रले युरोप र अमेरिका भ्रमण गरेका थिए। विष्णुशमशेरलाई पछि नेपाल सरकारले नेपाली राहदानी जारी गरेको थियो। जयपृथवीबहादुर सिंह र विष्णुशमशेर दुवैको भ्रमणलाई नेपाल सरकारले स्वीकृति दिएको थिएन। उनीहरू आआफ्नै तरिकाले विदेश भ्रमणमा गएका थिए।

जयपृथवीबहादुर सिंह र केशरशमशेर सन् १९०८ मा सम्पन्न प्रधानमन्त्री चन्द्रशमशेरको भ्रमण दलमा सहभागी थिए। केशरशमशेर राणा प्रधानमन्त्री चन्द्रशमशेर र उनकी जेठी बडामहारानी लोकभक्तदेवीका साइँला छोरा हुन्। जेठीपट्टिबाट सबैभन्दा जेठी एक छोरी र अन्य पाँच भाइ छोराको जन्म भएको थियो।

केशरशमशेरको जन्म सन् १८९२ जनवरीमा काठमाडौँ थापाथली दरबारमा भएको थियो। उनको जन्म हुँदा पिता चन्द्रशमशेर राणा रोलक्रममा तेस्रो वरीयताका वरिष्ठ कमान्डिङ जनरल (जंगीलाठ) थिए। सन् १९०४ को अप्रिलमा उनको विवाह तत्कालीन राजा पृथ्वीवीरविक्रमकी जेठी छोरी अधिराजकुमारी लक्ष्मीदिव्यश्वरीसँग भएको थियो।

सन् १९०८ मा पितासँग बेलायत भ्रमणमा जाँदा उनको उमेर १६ वर्षको थियो। त्यतिबेला देखि नै उनी पुस्तक संकलनमा लागेको देखिन्छ। बेलायत भ्रमणकै क्रममा प्रकाशित एक समाचारअनुसार त्यहाँ आफ्ना बाबुका लागि सामान किन्न सधैँ उनी अगाडि हुन्थे। (ग्लोब लन्डन,२३ जुन १९०८)

केशरशमशेरलाई पिता चन्द्रशमशेरले नेपालको विदेश विभागको तालुकवाला हाकिम अर्थात् डाइरेक्टर जनरलको जिम्मेवारी दिएका थिए। सँगसँगै उनी विदेशबाट सामान आयात गर्ने जिन्सी अड्डाका प्रमुख  थिए। उनलाई सानैदेखि चन्द्रशमशेरले नेपालस्थित ब्रिटिस रेजिडेन्टसँग आफ्नो तर्फबाट कुराकानी गर्न लगाउँथे। ब्रिटिस भारतका भाईसराय, ब्रिटिस राजकुमारका सिकार कार्यक्रममा पनि उनको उपस्थिति रहने गर्दथ्यो।

सन् १९२४-२५ मा राजा पृथ्वीवीरविक्रम शाहका रानीहरू कीर्तिदिव्यश्वरी र लक्ष्मीदिव्यश्वरीको भारतको तीन धाम यात्राको सुपरीवेक्षणको जिम्मेवारी पनि केशरशमशेरले नै पाएका थिए। (सिभिल एन्ड मिलिटरी गजेट, लाहोर २१ जनवरी १९२५)

त्यतिबेला उनी द्वारकाका लागि बम्बई, जगन्नाथपुरीका लागि उडिसा र रामेश्वरमका लागि मदराससम्म पुगेका थिए। सन् १९३४ को मार्चमा तत्कालीन कमान्डर इन चिफ रुद्रशमशेर र हिरण्य, तेज र प्रतापशमशेरलाई रोलबाट झिकी काठमाडौँ बाहिर धपाएपछिको नयाँ रोलक्रमअनुसार केशरशमशेर कमान्डिङ जनरल नियुक्त भएका थिए।

सन् १९३६ को फेब्रुअरीमा उनी आफ्नो औषधोपचारका लागि बम्बई पुगेका थिए। त्यहाँ रहँदा उनले बम्बईका गभर्नरसँग भेट गरेका थिए। (नेपालस्थित ब्रिटिस मिनिस्टरको सन् १९३६ को वार्षिक रिपोर्ट, राष्ट्रिय अभिलेखागार नयाँ दिल्ली)

सन् १९३७ मा लन्डनमा हुने नयाँ ब्रिटिस सम्राट् जर्ज छैटौँको राज्याभिषेक समारोहमा भाग लिन केशरशमशेरको नेतृत्वमा एक प्रतिनिधिमण्डल लन्डन पुगेको थियो। समारोहमा नेपाललाई ब्रिटिस सरकारले निमन्त्रणा पठाएको थियो। राजा त्रिभुवनको प्रतिनिधिका रूपमा लन्डन पुगेको नेपाली प्रतिनिधिमन्डलले राजा जर्ज छैटौँलाई ओजस्वी राजन्य तक्मा हस्तान्तरण गरेको थियो।

ब्रिटिस सम्राट्को राज्याभिषेक समारोहमा सहभागिता जनाउन नेपाली प्रतिनिधि लन्डन पुगेको त्यही नै पहिलो घटना थियो। केशरशमशेरको नेतृत्वमा लन्डन जाने प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा नारायणशमशेर, सुरेन्द्रशमशेर र सुब्बा नगेन्द्रमान सिंह सामेल थिए। (गोरखापत्र, २ अप्रिल १९३७)

संसारको ठूलो भूभागमा उपनिवेश कायम गरेर बसेका ब्रिटिस सम्राट्को राज्याभिषेक समारोहमा भाग लिन विश्वभररबाट राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि राजपरिवार सदस्यहरू लन्डन पुगेका थिए। त्यहाँ रहँदा केशरशमशेरले विश्वभरबाट आएका थुप्रै अतिथिहरूसँग भेट गरे। तिनमा फ्रान्सका तत्कालीन राष्ट्रपति अल्वर्ट लेब्रुन र जापानका राजकुमार चिचिबु थिए। फ्रान्सका राष्ट्रपतिसँगको आत्मीयताका कारण उनी नेपाल फर्कंदा फ्रान्स पुगेका  थिए। त्यहाँ केशरशमशेरलाई राष्ट्रपति लेब्रुनले राष्ट्रपति हाउसमा स्वागत गरेका थिए। उनले युरोप भ्रमणका क्रममा आफ्नो उपचार पनि गरेका थिए।

केशरशमशेर भीमशमशेरदेखि जुद्धशमशेरको समयसम्म विदेश विभागका डाइरेक्टर जनरल थिए। उनी सन् १९३७ मा राज्याभिषेक समारोहमा भाग लिन लन्डन पुगेको समयमा जुद्धशमशेरले त्यो जिम्मेवारी खोसेर आफैँसँग राखे। उनलाई त्यसबारे जानकारी लन्डनमा रहेका बेला नै गराइएको थियो। केशरशमशेरले त्यसलाई त्यति सहज रूपमा लिएनन्। नेपाल फर्किएपछि उनलाई वन तथा वनस्पति र संग्रहालयको डाइरेक्टर जनरलको जिम्मेवारी दिइएको थियो।

नयाँ जिम्मेवारीमा उनी त्यति सन्तुष्ट थिएनन्। केशरशमशेर र प्रधानमन्त्रीका हजुरिया जनरलसमेत रहेका कमान्डिङ जनरल बहादुरशमशेरका बीचमा केही मनमुटाव थियो। त्यतिबेलाको शक्ति सन्तुलनअनुसार केशरशमशेरबाट विदेश विभागको जिम्मेवारी खोस्नासाथ प्रधानमन्त्रीले तत्काल उक्त जिम्मेवारी तत्काल आफ्ना छोरा बहादुरशमशेरलाई दिन सकेनन्। केही समयपछि मात्र बहादुरशमशेरलाई डाइरेक्टर जनरल बनाए।

सन् १९३९ को सुरुदेखि केशरशमशेरले आफ्नो मुखको बिरामीको व्यथा बल्झेकोकाले उपचारका लागि युरोप जाने योजना बनाएका थिए। सत्तारुढ राणा परिवारले औषधोपचारका लागि मात्र मुलुक छोड्ने अनुमति पाउँथे। श्री ३ जुद्धशमशेरबाट अनुमति पाएपछि भान्से, नोकर र बैठकेलगायत ६ जना सहयोगीसहित केशरशमशेर युरोप  भ्रमणमा निस्किएका थिए।

सन् १९३९ को १ मार्चमा काठमाडौँबाट प्रस्थान गरेका केशरशमशेर ४ मार्चमा बम्बई पुगेका थिए। उनी  ९ मार्चमा इटाली हुँदै २६ मार्चमा भियना पुगेका थिए। सत्तारुढ राणापरिवारका वरिष्ठ सदस्य भएकाले उनलाई बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकले डिप्लोमेटिक भिसा प्रदान गरेका थिए। त्यतिबेला सत्तारुढ राणापरिवारका वरिष्ठ सदस्यहरुलाई ब्रिटिस सरकारले भन्सारमा केही सुविधा प्रदान गरेको थियो। नेपालका तर्फबाट उनलाई उक्त सुविधा र अन्य आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गर्दै प्रधानमन्त्री जुद्धशमशेरले नेपालस्थित ब्रिटिस मिनिस्टरलाई पत्र पठाएका थिए। नेपाल सरकारको आग्रहबमोजिम ब्रिटिस सरकारले उनलाई आवश्यक सबै किसिमका सुविधा उपलब्ध गराएको थियो।

केशरशमशेरले त्यतिबेला इटाली, अस्ट्रिया, फ्रान्स, जर्मनीलगायतका विभिन्न मुलुकको भ्रमण गरेका थिए। सन् १९०८ मा पिता चन्द्रशमशेरसँग पहिलोपटक युरोप यात्रा गरेका उनी दोस्रो पटक सन् १९३७ मा राज्याभिषेक समारोहका सहभागी हुन युरोप पुगेका थिए। उनी सरकारी अनुमतिमा तीन पटकसम्म युरोप यात्रा गर्ने र नेपाली राहदानीमा यात्रा गर्ने प्रथम नेपाली थिए।

मे.ज. विष्णुशमशेर पनि त्यतिबेला युरोपमा थिए। भीमशमशेरको समयदेखि नै युरोप भासिएका विष्णुशमशेरले युरोपमा अमेरिकी युवतीसँग बडो रंगीन जीवन बिताउँदै थिए। केशरशमशेरले विष्णुशमशेरसँग भेट गरेका थिए। त्यही समयमा उनका भाइ जनरल सिंहशमशेर नेपाली मिनिस्टरका रूपमा लन्डन जाँदै थिए। सिंहशमशेरसँग उनको भेट फ्रान्समा भएको थियो। अर्का भाइ जनरल कृष्णशमशेर लन्डनमा नेपाली मिनिस्टरको कार्यकाल सम्पन्न गरी नेपाल फर्कंदै थिए। तिनीसँग पनि युरोपमा कतै उनको भेट भएको हुँदो हो।

केशरशमशेर विभिन्न युरोपेली मुलुकको भ्रमणपछि अगस्ट पहिलो साता अमेरिकाको न्युयोर्क ओर्लिएका थिए। उनी अमेरिका पुगेको बारेमा न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा नेपाली सेनाका प्रमुख जनरल केशरले अमेरिकामा तीन महिनासम्म अमेरिकी सैनिक प्रणालीबारे अध्ययन गर्नेछन् भन्ने उल्लेख थियो। त्यस्तै उनी एक हप्ता न्युयोर्कमा रहेर वेस्ट पोइन्टस्थित मिलिटरी एकेडेमी र अनापोलिसस्थित नवल एकेडेमीको समेत भ्रमण गर्नेछन् भन्ने उल्लेख थियो। (दी न्युयोर्क टाइम्स, ८ अगस्ट १९३९)

केशरशमशेर अमेरिकामा रहेको समयमा सन् १९३९ सेप्टेम्बरमा दोस्रो विश्वयुद्ध प्रारम्भ भयो। झन्डै तीन महिनाको बसाइपछि उनी सोही नोभेम्बरमा अमेरिकी राज्य क्यालिफोर्नियाबाट नेपाल फर्कनका लागि जापानतर्फ प्रस्थान गरेका थिए। पहिले युरोपेली मुलुकहरू, त्यसपछि अमेरिका हुँदै उनी एसियाली मुलुकहरूको भ्रमणको सिलसिलामा जापान पुगेका थिए। (लस एन्जल्स टाइम्स, २७ नोभेम्बर १९३९)

सम्बन्धित मुलुकमा रहेका आफ्ना कूटनीतिक, सुरक्षा र गुप्तचर निकायमार्फत केशरशमशेरको भ्रमणलाई नजिकबाट हेरिरहेको ब्रिटिस पक्षले उनको जापान यात्रालाई भने  निगरानी नै गरेको थियो। केशरशमशेर जापान पुगेका बेला ब्रिटिसले थाहा पाए पनि उनी त्यहाँ पुग्नुको कारण र उद्देश्यबारे भने उनीहरु बेखबर रहेको भन्ने ब्रिटिस गुप्तचर रिपोर्ट थियो। उक्त अवधिभर केशरशमशेर जहाँजहाँ पुगे त्यसको जानकारी ब्रिटिस पक्षले नेपालस्थित ब्रिटिस मिनिस्टरमार्फत प्रधानमन्त्री जुद्धशमशेरलाई गराएका थिए। केशरशमशेर सन् १९४१ को जनवरी पहिलो साता सिंगापुर हुँदै नेपाल फर्किएका थिए। (दी स्ट्रेट्स टाइम्स, ६ जनवरी १९४०) दोस्रो विश्वयुद्ध सुरु भएपछिको बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा उनी नेपाल फर्किएका थिए।

नेपालस्थित ब्रिटिस मिनिस्टरका अनुसार नेपालमा वैदेशिक मामिला डाइरेक्टर जनरलको जिम्मेवारी खोसिएपछि केशरशमशेर विरक्तिएर औषधोपचारको बहानामा  बिदेसिएका थिए। त्यहाँ युरोपमा विष्णुशमशेरलाई भेट्नुको कारण आफू पनि केही समय त्यता बस्ने संकेत थियो। विश्वयुद्ध सुरु नभएको भए उनी नेपाल फर्किन्थे वा फर्किँदैनथे त्यसै भन्न नसकिने भन्ने उनको विश्लेषण थियो। (नेपालस्थित ब्रिटिस मिनिस्टर र भारतको विदेश विभागका बीचमा भएका विभिन्न पत्राचारहरू, राष्ट्रिय अभिलेखागार नयाँ दिल्ली)

केशरशमशेर सन् १९४७ मा बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए। आफू राजदूत भएर बेलायत पुग्दा केशरशमशेरले त्यसलाई आफ्नो चौथो युरोप यात्रा को नाम दिएका थिए। त्यतिबेला उनलाई बेलायतसँगसँगै अमेरिकाको लागि समेत पहिलो मिनिस्टर तोकिएको थियो। सन् १९४८ फेब्रुअरीमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमेनसमक्ष ओहदाको प्रमाणपत्र पेस गर्दा आफ्नो सन् १९३९ को अमेरिका भ्रमणको स्मरण गरेका थिए। (गोरखापत्र, २००४ फागुन १८)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =