गौर हत्याकाण्डबारे जसपाले भन्यो : माओवादीकै कारण द्वन्द्व र मूठभेड भएको थियो, दोषी प्रभु साह हुन्

हिमाल प्रेस २६ साउन २०८० १६:१२
28
SHARES
गौर हत्याकाण्डबारे जसपाले भन्यो : माओवादीकै कारण द्वन्द्व र मूठभेड भएको थियो, दोषी प्रभु साह हुन्

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले २७ मारिएको गौर घटनाको मुख्य दोषी नेकपा माओवादी नै भएको बताएको छ। यस घटनामा पार्टी अध्यक्ष उपेन्द्र यादवको नाम मुछिएपछि आज पत्रकार सम्मेलन गरी जसपाले आफ्नो धारणा सार्वजनिक गरेको हो।

जसपाले गौर हत्याकाण्डमा माओवादीकै कारण भएको दोहोर्‍याएको हो। ‘तराई-मधेशका विभिन्न भूभागमा तत्कालीन मधेशी जनअधिकार फोरम, नेपालले आयोजना गरेका आमसभा र विरोध प्रदर्शनलगायत कार्यक्रममाथि आक्रमण गर्ने निर्णय तत्कालीन नेकपा (माओवादी) ले गर्‍यो। मधेशी जनअधिकार फोरम नेपालले आयोजना गरेको कार्यक्रमहरू खासगरी, भैरहवा, नेपालगञ्जलगायतका स्थानमा नेकपा (माओवादी) का छापामारद्वारा हातहतियारसहित भीषण आक्रमण गरी मञ्च तोडफोड र आगजनी गर्ने, सभा बिथोल्ने कार्यसमेत गर्दै मुलुकलाई थप द्वन्द्व र मूठभेडतर्फ धकेले’ जसपाका प्रवक्ता मनिष सुमनले भने।

उनले फोरमले प्रशासनसँग अनुमति लिएर गर्न लागेको आमसभामा माओवादीले नै बम पड्काएको आरोप पनि लगाए। उनले भने, ‘२०६३ चैत ७ गते पनि फोरमले जिल्ला प्रशासनसँग १२ दिनअगाडि नै स्वीकृति लिई गौरमा कार्यक्रम गर्न लागेको हो। तर माओवादीले बिथोल्न बम पड्कायो। मानवीय क्षति भयो।

‘गौरस्थित राइस मिलको मैदानमा आमसभाको आयोजना गरिएको थियो। उक्त कार्यक्रम आयोजना हुने स्थलमा नेकपा ( माओवादी) ले दुई दिनअघि मात्र कार्यक्रम गर्ने निर्णय गर्‍यो। स्थानीय प्रशासनले रोक्दारोक्दै प्रशासनको अनुमतिबिना जबर्जस्ती सोही स्थानमा कार्यक्रम गर्ने हठ लियो।’

जसपाका नेता कार्यकर्तामाथि वाइसीएल लेखेको पोषाक लगाएकाहरूले आक्रमण गरेपछि स्थानीय प्रतिकार गरेको सुमनको दाबी छ। ‘सर्वप्रथम सभास्थल नजिकै बम विस्फोट गराए र त्यसपछि फाइरिङ गर्दै सभाका लागि तयार गरिएका मञ्चमा आक्रमण गरी फोरमका नेता, कार्यकर्तामाथि प्रहार गरे,’ उनले अघि भने, ‘माओवादीका कार्यकर्ताले फाइरिङ गर्न थालेपछि फोरमका कार्यकर्ताहरू सभा र मञ्च छाडेर भागे। तर उक्त सभामा उपस्थित भएका हजारौं जनताहरू माओवादीविरूद्ध आक्रोशित बने। आक्रोशित जनता र माओवादीबीच कार्यक्रम स्थल र टाढा–टाढा गाउँ–गाउँमा भिडन्त भई उक्त दु:खद् घटना हुन गयो।’

घटना हुनुमा तत्कालीन नेकपा (माओवादी) का भ्रातृ संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहसहित नेताको हठ रहेको जसपाको आरोप छ।

घटनापश्चात् तत्कालीन नेकपा (माओवादी) ले केही व्यक्तिहरुलाई उक्साई काठमाडौँमै रहेका र घटनास्थलमा हुँदै नभएका तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत नेता-कार्यकर्तामाथि राजनीतिक पूर्वाग्रहले प्रतिशोध साँध्न जाहेरी दिन लगाइएको जसपाले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =