काठमाडाैँ- नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने बताएका छन्। पार्टी प्रचारप्रसार विभागको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्यान प्रधानमन्त्री प्रतिबद्ध रहेको भन्दै तथ्य र प्रमाणले पुष्टि भए पार्टीकै नेतामाथि पनि छानबिन र कारबाही हुने बताए।
निर्दोष नफस्ने र दोषी कोही पनि नउम्कने गरी अनुसन्धान गर्न सरकारले सुन तस्करी प्रकरणको छानबिनको जिम्मेवारी सीआईबीलाई दिएको उनले बताए। सापकोटाले सुन तस्करी प्रकरण, ललिता निवास प्रकरण लगायतअनुसन्धानलाई जनताले पनि हेरिरहेकाले तलमाथि गर्न नमिल्ने बताए।
केन्द्रीय समिति बैठकमा सबै सदस्यहरूले सुन तस्करी प्रकरणमा सरकारलाई सघाउने दृढता व्यक्त गरेकाे उनकाे भनाइ छ।