उपचार अभावमा कुनै पनि बालबालिका छट्पटिनु नपरोस् भनेर अस्पताल निर्माणमा जुटेको हुँ : डा. भगवान कोइराला (अन्तर्वार्ता)

हिमाल प्रेस २४ साउन २०८० १३:०७
4
SHARES
उपचार अभावमा कुनै पनि बालबालिका छट्पटिनु नपरोस् भनेर अस्पताल निर्माणमा जुटेको हुँ : डा. भगवान कोइराला (अन्तर्वार्ता)

नेपालमा मुटुरोगीको संख्या कुन ‘ट्रेन्ड’मा छ?

नेपालमा मुटुरोगीको संख्या वास्तवमै वृद्धि भइरहेको छ। यसो हुनुको मुख्य कारण जीवनशैली, आहारविहार नै हो। पछिल्लो समय क्षयरोग, मलेरिया, झाडाबान्ताजस्ता सर्ने रोगको सङ्क्रमण घट्यो तर मुटु रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्न थाल्यो। नेपालीको औसत आयु बढेसँगै नसर्ने रोगको चाप पनि बढेको देखिन्छ। खासगरी पछिल्लो समय युवा वर्गमा मुटुरोगको समस्या देखिनुको मुख्य कारण खानपिन र खराब जीवनशैली नै हो।

मुटुरोग लाग्न नदिन के कुरामा ध्यान दिनुपर्ने हुन्छ?

मुटुरोगका कतिपय कारण जस्तैः उमेर, लिङ्ग, जेनिटिकजस्ता कुरा हाम्रो अधीनमा हुँदैनन्। तर धेरैजसो जोखिम न्यूनीकरण हाम्रै हातमा हुन्छन्। धुम्रपान तथा मद्यपान नगर्ने, जीवनशैलीमा परिवर्तन तथा नियमित व्यायाम एवं मोटोपन घटाएमा मुटुरोग लाग्नबाट बच्न सकिन्छ।

वायु प्रदूषणले पनि मुटुरोगलगायत विभिन्न स्वास्थ्य समस्या ल्याउने गरेको छ। समयमै गर्न सकिने उपचारप्रति बेवास्ता गर्ने वा हेलचेक्र्याइँ गर्ने बानीले पनि पछि गएर गम्भीर समस्या ल्याउने गरेको छ।

बालबालिकालाई घाँटीमा सामान्य समस्या हुँदा समयमै उपचार नहुँदा पछि गएर उनीहरू मुटुका रोगी बन्नुपरेको छ। मानिसहृमा आध्यात्मिक चिन्तन, योग, ध्यान गर्ने आदत बढाउन सकेमा शरीरमा स्वतः सकारात्मक ऊर्जा उत्पन्न हुन्छ। यसले मुटुलगायत कुनै पनि जटिल समस्या आउन नदिन सहयोग पुग्छ।

नेपालमा मुटु रोगको उपचार सेवाको पहुँच आम जनतासम्म पुगेको छ की छैन?

स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हुँदा सबैको पहुँचमा पुर्‍याउन आवश्यक छ। कतिपय स्वास्थ्य सेवालाई विकेन्द्रित गरी स्थानीय तहसम्म पुर्‍याउन जरुरत हुन्छ भने कतिपयलाई केन्द्र वा प्रमुख सहरी क्षेत्रसम्म पुर्‍याउँदा पनि हुन्छ। मुटु रोगको प्रारम्भिक पहिचान गर्न सकिने स्वास्थ्य सेवालाई विकेन्द्रित गरी जिल्ला अस्पतालदेखि स्थानीय तहका स्वास्थ्य केन्द्रसम्ममा पुर्‍याउनुपर्छ।

विशेषज्ञसहितको सेवालाई राजधानीलगायत प्रमुख सहरमा पुर्‍याउनुपर्छ। अहिले काठमाडौँमा गङ्गालाल, मनमोहन कार्डियोथोरासिक सेन्टरमा मुटुरोगको सम्पूर्ण उपचार सेवा उपलब्ध छ। वीर अस्पतालमा ८० को दशकमा सुरु भएकामा बीचमा केही वर्ष बन्द भएको र अहिले पुनः सञ्चालनमा ल्याइएको छ। उपत्यकाबाहिर चितवन, पोखरा, बुटबल, नेपालगञ्ज, वीरगञ्ज, धरान, विराटनगर र झापामा मुटुरोगको स्तरीय उपचार सेवा उपलब्ध छ।

नेपालको मुटुरोगको उपचार सेवा विश्वका अन्य देशको तुलनामा कत्तिको भरपर्दो र स्तरीय छ?

नेपालमा मुटुरोगको उपचार सेवालाई हेर्दा विश्वका अन्य देशको तुलनामा कमजोर मान्न सकिँदैन। धनी देशको तुलनामा प्रविधिमा केही कमी छ तर नेपाली चिकित्सकहरू कोहीभन्दा कम छैनन्। आम जनतालाई चाहिने शल्यक्रियासहितको उपचार सेवा नेपालमा उपलब्ध छ। गङ्गालाल हृदयरोग केन्द्र देशकै महत्त्वपूर्ण अस्पतालमा रूपान्तरण भएको छ। त्यस्तै मनमोहन कार्डियोथोरासिक सेन्टर पनि उत्तिकै प्रभावकारी छ।

कान्तिजस्तो बालबालिकाको ‘डेडिकेटेड’ अस्पतालले यो सेवा विकेन्द्रीकृत गर्नुपर्ने थियो तर विविध कारणले कार्यान्वयन गर्न सकेको छैन। त्यसैले सरकारको सहयोगमा सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौँमा एक विशिष्टीकृत बाल अस्पताल (काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)) नामक बाल अस्पताल निर्माण गरिँदैछ। पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन्।

तपाईंकै पहलमा ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ स्थापना हुँदैछ। यसको आवश्यकता किन पर्‍यो?

बाल स्वास्थ्यलाई समग्र रूपमा हेरिनुपर्छ, मुटुको उपचारका रुपमा मात्रै होइन। स्वास्थ्य सेवामा लागेको लामो अनुभवबाट यो निष्कर्षमा पुगेको हुँ। समयमा सम्पूर्ण उपचार नपाएको कारण धेरै बच्चाहरूले जुन पीडा भोगे, त्यसकै कारण अस्पतालको आवश्यकता महसुस भयो। त्यही अभाव पूरा गर्न पैसाको कमी वा प्रविधिको कमी वा पहुँचको कमीबाट कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाएँ।

कान्तिजस्तो बालबालिकाको ‘डेडिकेटेड’ अस्पतालले यो सेवा विकेन्द्रीकृत गर्नुपर्ने थियो तर विविध कारणले कार्यान्वयन गर्न सकेको छैन। त्यसैले सरकारको सहयोगमा सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौँमा एक विशिष्टीकृत बाल अस्पताल (काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)) नामक बाल अस्पताल निर्माण गरिँदैछ। पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन्। त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल सञ्चालनमा आइसकेको छ।

यसको आवश्यकता किन पर्‍यो भन्दा नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चारजनाले आफ्नो पाँचाँै जन्मदिन देख्न पाउँदैनन्। आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरूले ज्यान गुमाउँछन्।

मलाई नेपालमा बालबालिकाको उपचारका निम्ति विशिष्टीकृत अस्पतालको अभाव खड्किँदै आएको थियो। त्यही अभाव पूरा गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नै बाल अस्पताल स्थापना गर्ने निर्णय गरेको हुँ।

सरकारले हालै उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमै गर्नका लागि तपाईंसमेत रहेको एक समिति गठन गरेको छ। काम के हुँदैछ?

राज्यको महत्त्वपूर्ण निकायमा कार्यरत अति विशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) को स्वास्थ्य उपचारका लागि स्वास्थ्य उपचार समिति गठन गरेको छ।
यसले एउटा सकारात्मक सन्देश जनतामा गएको छ। तर विशेष किसिमको स्वास्थ्य सेवा भीआईपीलाईलाई मात्र दिने भन्ने नभई सबै जनताले स्वदेशमै पाउँछन् भन्ने सन्देश आवश्यक छ। सबैलाई एउटै (वीर अस्पताल)बाट सेवा दिन कत्तिको सम्भव होला? भीआईपीहरूको चाहना र व्यावहारिकतालाई पनि हेर्नुपर्ने हुनसक्छ।

जे होस् विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टीकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी सबै मुख्य अस्पतालहरूबाट उपचार व्यवस्थापन गर्न सकिन्छ। विशिष्टीकृत व्यक्तिको स्वदेशमा उपचार गर्दा सरकारी ढुकुटी पनि जोगिने र चिकित्सकमाथि विश्वास पनि हुने भएकाले हामी चिकित्सकहरू खुसी भएका छौँ।

केही समयअघि प्रकाशित तपाईंकोे पुस्तक हृदयका बारेमा केही भन्नुहुन्छ कि?

मैले विभिन्न स्वास्थ्य संस्थाहरूमा रहेर काम गर्ने अवसर पाएँ। जोखिम र जटिल किसिमको स्वास्थ्य सेवा स्थापित गर्न कस्तो किसिमको हण्डर खानुपर्छ भन्ने बारेमा पुस्तकमा उल्लेख गरेको छु। आफूले जीवनमा भोगेका संघर्षका अनुभवदेखि स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा राखेको छु।

३० बर्से जागिरे जीवनका अनगिन्ती याद समेटिएको पुस्तकमा अनेक तनाव, छटपटी र खुसीका क्षण पनि पाउनु हुनेछ। पुस्तकमा जो सुकैले पनि प्रतिबद्ध भएर लाग्यो भने जस्तोसुकै समस्याको पनि समाधान गरी सफलता पाउन सक्छ भन्ने सन्देश दिन खोजिएको छ।

[वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालासँग राससका कृष्ण अधिकारीले गरेको कुराकानी]

प्रकाशित: २४ साउन २०८० १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =