दोषीमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २२ साउन २०८० १६:३१
6
SHARES
दोषीमाथि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपको अनुसन्धान गरी दोषी प्रहरीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन्।

तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिएपनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिइएको थियो। सोही धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी धर्नाकारी घाइते भएका थिए।

सोही दिन पक्राउ अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भए पनि धर्नाकारीलाई भने प्रहरी हिरासतभित्र समेत चरम यातना दिएको तामाङ घेदुङ र मगर संघले बताएका छन्। मरणासन्न घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार जारी छ।

अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।

प्रकाशित: २२ साउन २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =