काठमाडौँ- त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणको थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई फाइल बुझाएको छ।
योसँगै अब यो प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने भएको छ। साउन ३ गते विमानस्थल बाहिरबाट विभागले सुन बरामद गरेको थियो। प्रधानमन्त्री कार्यालय मातहतमा रहेको विभागले सुरुमा आफैं अनुसन्धान गरिरहेको थियो।
आइतबार हालसम्म गरिएको अनुसन्धानको फाइल विभागले सीआईबीलाई बुझाएको हो। सुन तस्करी प्रकरणमा अन्तरदेशीय संगठित अपराध देखिएकाले अनुसन्धान लागि फाइल प्रहरीलाई बुझाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।
नेपालको रेडी ट्रेड कम्पनीको नाममा हङकङबाट कार्गो गरी ल्याइएको ब्रेकसुभित्र सुन भेटिएको थियो। यो प्रकरणमा विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ नागरिक, नेपाली र भारतीय नागरिक छन्।