भीभीआईपी र भीआईपीको स्वदेशमै उपचारका लागि बन्यो वरिष्ठ चिकित्सकहरूको समिति

हिमाल प्रेस २१ साउन २०८० १२:३३
18
SHARES
भीभीआईपी र भीआईपीको स्वदेशमै उपचारका लागि बन्यो वरिष्ठ  चिकित्सकहरूको समिति स्वास्थ्य मन्त्रालय

काठमाडौँ- सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी)को स्वास्थ्य उपचार स्वदेशमै गर्ने उद्देश्यले समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा समिति गठन भएको हो। मन्त्रिस्तरीय निर्णयअनुसार समिति बनेको हो।

डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा. भोला रिजाल, डा. शैली प्रधान, डा. रविमान श्रेष्ठ, डा. किरणप्रसाद श्रेष्ठ, डा. रत्नमणि गजुरेल, डा. सुवास आचार्य, डा. शशि शर्मा, डा. रमेश चाखनी, डा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा अनन्त अधिकारी रहेको समिति गठन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

नेपालको स्वास्थ्य संस्थाहरूको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्त्वपूर्ण निकायमा कार्यरत भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले समिति गठन गरिएको बताइएको छ।

समितिले वीर अस्पतालबाट भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ।

समितिको आइतबारको वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए।

प्रकाशित: २१ साउन २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =