नियात्रा

स्कुलदेखि गुरुकुलसम्म ‘श्रावणी यात्रा’

राजाराम बर्तौला २० साउन २०८० १८:३९
86
SHARES
स्कुलदेखि गुरुकुलसम्म ‘श्रावणी यात्रा’

हुन त यसपाला श्रावण महिना पुरुषोत्तम मास, बोलीचालीको भाषामा मलमास परेको छ। पुरुषोत्तम मासमा भगवान् विष्णुको आराधना गरिन्छ। सनातन धर्मावलम्बीले भागवत् पुराण श्रवण गरिनै रहेका छन्। शिवभक्तचाहिँ श्रावण महिनालाई भगवान् महादेवको नाममा समर्पण गर्छन्।

महिलाहरू हरियो रङमा सजिएर सोमबार देवाधिदेव महादेवको भक्तिमा निराहार व्रत बस्ने गर्छन्। श्रावणभरि माछामासुको आहार नगरेर शाकाहारी आहार ग्रहण गर्नेहरू पनि छन्।

यस महिनामा प्रायः जंगली जनावरको प्रजननको समय हुने भएको हुँदा जनावरको वध गर्न हुँदैन र तिनको मासु खानु हुँदैन भन्ने सनातनी परम्परा छ। यसमा धार्मिकभन्दा पनि जैविक पर्यावरणीय अर्थ लुकेको हुनाले वैज्ञानिक आधारसमेत देखिन्छ।

साउनको दोस्रो शनिबार धार्मिक भावनाका साथ पदयात्रा गरियो। चार महादेवको दर्शन गर्ने, बाटोमा परेका देवदेवी, पुराना परम्परागत स्थानीय कलाकृति र संस्कृतिको अवलोकन गर्दै पदयात्राको योजना बन्यो।

चारवटा महादेव नाटारम्भेश्वर, महाकालेश्वर, चण्डेश्वर र गोसाइँकुण्ड रहेका छन्। त्यसैगरी पदयात्राको बीचमा पर्ने पलाञ्चोक भगवती, राधाकृष्ण मन्दिर, सेतो मच्छिन्द्रनाथ, उग्रचण्डी भगवती, चामुण्डा र चण्डेश्वरी भगवतीका मन्दिर पनि पर्ने रैछन्।

पदयात्रा साँगा भञ्ज्याङबाट सुरु गरेर बनेपा-६ गोसाइँथानसम्म २० किलोमिटरको रह्यो। यो पदमार्गलाई ‘महादेव सर्किट’ नामकरण गर्न स्थानीय लागिपरेका छन्। पदयात्रीका लागि नयाँ ट्रेलसमेत भएको हुँदा यसलाई हामीले ‘श्रावणी पदयात्रा’ भन्यौँ। यो पदमार्ग बने थप अरू एकदुई महादेवलाई पनि यसमा मिसाउन सकिने देखिन्छ। यो पदमार्ग धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहसिकसमेत भएको हुँदा यसबाट पदयात्रीले मिश्रित आनन्द पाउन सक्छन्।

साँगा भञ्ज्याङबाट केही सय मिटर पर नेपाल प्रहरीले सञ्चालन गरेको विद्यालय छ। विद्यालय हुँदै अगाडि बढे केही माथि डाँडामा अति नै सुन्दर कलात्मक मन्दिरभित्र विशाल शिवलिंगसहितको नाट्यरम्भेश्वर महादेव रहेका छन्। यद्यपि महादेव नृत्य मुद्रामा कहीँकतै पनि देखिँदैन। महादेवलाई कलाशास्त्रका देव नै भने पनि हुन्छ। नाट्यविधामा भगवान् महादेवलाई नै आदिगुरु मानिन्छ। महादेवको डमरुबाट स्वर उत्पन्न भएको हुँदा डमरुको नादमा संगीतको सार छ भन्ने लाग्छ। गीतसंगीत र नाट्य एकापसमा जोडिएका छन्। एउटाको अभावमा अर्को अपूर्ण छ।

बाटोमा पलाञ्चोक भगवती मन्दिर निर्माण गरिएको छ। पलाञ्चोक पुगेर भगवतीको दर्शन गर्न नसक्नेका लागि यहीँ नै भगवतीको दर्शन गर्न सकिने भएको छ। गाउँको तरेली परेको फाँटमा हरिया मकैका बोटमा सेता धानचमरा र मकैका राता जुँगा हेर्दै, धानका खेत हेर्दै हिँड्नुको मजा नै बेग्लै। हिजोआज गाउँमा जताततै डोजर पुगेका छन्। बाटो बनेका छन्।

साउनको झरीमा रुझेको बाटो, जमेको पानी, खाल्टाखुल्टी छल्दै कतै भ्यागुतोझैँ उफ्रँदै, कतै ट्रिपलजम्प मार्दै हामी अगाडि हिँडिरह्यौँ। त्यसपछि पुग्यौँ सुन्दर शिखर शैलीमा बनेको कलात्मक राधाकृष्ण मन्दिर। पुरुषोत्तम मासको श्रावणीमा श्रीमद्भागवत पुराणवाचनसमेत भइरहेको स्थानमा राधाकृष्णको दर्शन अद्भुत रह्यो।

सहयात्री मित्र नारायणले प्रश्न गरे, ‘राधाकृष्ण किन भनिएको होला, कृष्णराधा नभनेर? राधालाई अलपत्र छोडेर हिँड्ने कृष्णको नाम किन उनीसँग जोडेको होला?’ साथीको प्रश्न जायज थियो। हुन पनि १३ वर्षको उमेर राधालाई छोडेर गएका कृष्णले एकैपटक झण्डै ६० वर्षपछिमात्र भेट गर्छन्। त्यो पनि आफ्नो बाँसुरी फिर्ता माग्न।

त्याग र मायामा महिलाको तुलना किमार्थ अरूसँग गर्न सकिँदैन। राधाको समर्पण र त्यागको मूल्य कृष्णको राजनीति, कूटनीति र धर्मनीतिभन्दा धेरै माथि र वजनदार देखियो। त्यसैले राधालाई सम्मानस्वरूप कृष्णको नामभन्दा अगाडि जोडेर राखियो। राधाकृष्ण भनियो।

कृष्णको अन्तिम बाँसुरीको धुन सुनेर आफूलाई त्यसैमा विलीन गरेकी राधा प्रेमको साक्षात् मूर्ति भगवतीस्वरूपा थिइन्। प्रेममा समर्पण हुन्छ। मिलन नै हुन्छ भन्ने छैन। प्रेम अमर रहन्छ भन्ने सन्देश दिन राधाकृष्ण भनिएको होला भनेर साथीलाई उत्तर दिइयो।

पहरामा दुई बृहत् शिलासँग जोडेर बनाएको शिवालय छ। यो शिवालय महाकालेश्वर महादेव हुन्। नामैले भन्छ, काल अर्थात् समय। तर यिनी कालमात्र होइनन् महाकाल हुन्। सृष्टिको अनादिकालदेखि अन्तसम्मको प्रतीक्षामा बसेका।

एकजना स्थानीयले भनेअनुसार महाकालेश्वरको उत्पत्ति काठमाडौँ उपत्यकासँग जोडिएको छ। उपत्यकाको पानी विष्णुको सुदर्शनचक्रले टौदहबाट काटेर बाहिर निकास गर्दा यहाँ महाकालेश्वर महादेव उत्पत्ति भएको मान्यता छ।

महाकालेश्वरको दर्शनपछि हामी ओरालो लाग्यौँ। अमालडोलको बाटो हुँदै नाला भञ्ज्याङ। पक्की बाटो हिँड्दै हामी नालाको पुरानो बस्ती पुग्यौँ। जहाँ चार मछिन्द्रनाथमध्ये सेतो मछिन्द्रनाथको भव्य मन्दिर छ। मन्दिर परिसरभित्र प्रवेश गरेपछि हिन्दू र बौद्ध धर्मको सहअस्तित्व, सहकार्य र सदाचारको अपूर्व संगम देख्न पाइन्छ।

यसो बुझ्दा काठमाडौँ उपत्यका तथा यस वरपरका क्षेत्रमा बौद्ध धर्मको अनुशीलन र व्यापकताको अनुमान सहजै लगाउन सकिन्छ। साथै नेवारी समुदायको आवासीय प्रबन्ध, कलाकारिता र सिर्जना पनि देख्न सकिन्छ।

पुरानो बस्तीको साँघुरो गल्लीको बाटो छिचोल्दै उग्रचण्डी पुग्दा काष्ठकला र प्रस्तरकलाका अनुपम दृश्य देखिए। उग्रचण्डी शक्तिपीठ भएको हुँदा यो मन्दिर तान्त्रिक गुरु र शक्ति परम्पराका भक्तको आस्थाको केन्द्र रहेको छ।

मन्दिरको जीर्णोद्धार गर्न मन्दिर भत्काएर त्यहाँ भएको काठलाई चाङ लगाएर राखिएको छ। मन्दिरको छेवैमा भएको ढुंगेधारामा प्रस्तरकलाको विशिष्टता देखिन्छ। नाला पुग्दा यी तीन ठाउँ सेतो मच्छेन्द्रनाथ, उग्रचण्डी र ढुंगेधारा (हिटी) हेर्न छुटाउन हुँदैन। शरीरमा रक्तसञ्चार गराउने भएर हिटी भनिएको हो भनेर एक स्थानीयले बताए। यसबाट जीवनमा पानीको महत्व र त्यसको उचित संरक्षण गर्नुपर्ने बुझिन्छ।

नालाकै पूर्वीखण्डमा हालै निर्माण गरिएको ब्रह्माको मूर्ति छ। एउटा थुम्कोलाई योजनाबद्ध पार्कका रूपमा विकास गरेर बीचमा ठड्याइएको प्रस्तरमाथि चारमुख भएको ब्रह्माको स्वर्णकार मूर्ति राखिएको छ। सडकबाट माथि पार्कमा उक्लिँदा भर्‍याङ बनाइएको छ। भर्‍याङमा दशअवतारको मूर्तिसहित स्तुति वन्दना लेखिएको छ।

ब्रह्मा सृष्टिकर्ता हुन्। प्रायः उनको चतुर्मुख मूर्ति बनाएर पूजा गरेको देखिँदैन। सायद यसको कुनै दार्शनिक पक्ष हुनुपर्छ। पौराणिक कथनअनुसार ब्रह्माको अनैतिक व्यवहारका कारण भगवान् शिवले चेतावनीस्वरूप पाँचौँ शिरोच्छेदनसहित ‘तिम्रो पूजा नहोस्’ भनेर श्राप दिएकाले उनको पूजा नगरिएको भनिन्छ। तर यहाँका स्थानीयमा आफ्नो ठाउँलाई छुट्टै चिनारी दिलाउने हुटहुटीले होला ब्रह्माको मूर्ति बनाउने विचार आएको। बनेपा या नाला जाँदा यो ठाउँ हेर्न छुटाउन नहुने रहेछ।

त्यसपछि केही पर रहेको चामुण्डादेवीको दर्शन गर्न गयौँ। घना जंगलको फेदी हुँदै सुमारा भञ्ज्याङ उक्लियौँ। बाटोमा मान्छेहरूको लस्कर देखेर स्थानीय महिला र बालबालिका आँगनबाट हामीलाई हेर्दै थिए। साना नानी बाटोमा स्वागत गर्न पनि आए। भन्दै थिए, ‘टुरिस्ट भएर किन नेपाली बोलेको?’

बालहृदयको निश्चलता देखेर हामी अभिभूत भयौँ। तर उनीहरूको त्यस प्रश्नले नेपालको अवस्थाको वर्णन गरिरहेको थियो। ससाना नानीको दिमागमा पनि ‘टुरिस्ट’ भनेको अंग्रेजी बोल्ने खैरा आँखा भएका गोरा मानसि हुन् भन्ने कुरा कोरिएको रहेछ।

सुमारामा तरकारी संकलन केन्द्र छ। तानचोक, नाला, धुलिखेल र बनेपा जान चारतिरबाट बोटोले घेरिएको यो भञ्ज्याङमा सामान्य व्यापारिक चहलपहल हुने गर्छ। हामीलाई बनेपाको चण्डेश्वर महादेव र चण्डेश्वरी भगवतीको दर्शन गरेर गोसाइँकुण्ड पुग्नु थियो। सुमारामा फर्सीका मुन्टासँग दालभात खाएर पेट भरियो।

चण्डेश्वर महादेवको मन्दिर चण्डेश्वरी भगवती मन्दिरको प्रांगणभित्र छ। चण्डेश्वरीको मन्दिर भव्य र विशाल छ। महादेवको मन्दिर केही सानो तर कलात्मक छ। मन्दिर प्रवेशद्वारभन्दा बाहिर एउटा र त्यसको केही तल फोङ्गाहिटी रहेका छन्। यी दुवै हिटी प्राचीन सभ्यताको प्रतीकका रूपमा अझैसम्म छन्। एउटा हिटीबाट पानी आउन रोकिए पनि फोङ्गाहिटीमा अझै पनि प्रशस्त पानी आउँछ।

चण्डेश्वरीको दर्शनपछि घना जंगलमा निर्मित १६ सय भर्‍याङ चढेर गोसाइँथान पुगिन्छ। पुण्यवती खोला तरेर जंगलको फेदीमा पुग्दा विशाल भव्य शेषशायी भगवान् नारायणको प्रस्तर मूर्ति बनाइएको छ। यो मूर्ति काठमाडौँ नारायणथानमा भएको शेषशायी भगवान्को जस्तै छ।

१६ सय भर्‍याङ चढ्दा बीचबाटोमा फल्चा पनि निर्माण गरिएका छन्। पहाडको टुप्पैमा पुग्दा भ्यु-टावर निर्माण गरिएको छ। यहाँसम्म पुगेपछि भने केही ओरालो लाग्नुपर्छ। अनि धुलिखेल जाने बाटो भेटिन्छ। यो उही सुमाराबाट आएको बाटो हो। यहाँबाट केही तल झरेपछि गोसाइँकुण्ड पुगिन्छ। मानव निर्मित कुण्डको बीचमा महादेवको प्रतिमा राखिएको छ। त्यसमा जलअभिषेक गरेपछि चार महादेव दर्शनको श्रावणी हाम्रो पदयात्रा पूर्ण हुन्छ। साँगादेखि यहाँसम्म हिँड्दा करिब २० किलोमिटर पदयात्रा गरिन्छ।

नजिकै रहेको श्री नैमिषारण्य-संस्कृत-गुरुकुलम् अवलोकन गरेर २८ किलो  झर्‌यौँ। यो गुरुकुल वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण, संवर्धनका साथै संस्कृत शिक्षाको प्रचारप्रसार गर्ने उद्देश्यले नैमिषारण्य विकास समितिअन्तर्गत बनेपा नगरपालिका वडा-६, गोसाइँथानमा स्थापना गरिएको हो।

गुरुकुलमा विद्यार्थीका लागि यज्ञशालाको निर्माण गरिएको छ। यज्ञशालानजिकै अष्टचिरञ्जीवी, अष्टऋषि र नवग्रह पनि निर्माण गरिएका छन्। आवाससहितको अध्ययन गर्ने व्यवस्था छ। हामी पुग्दा बटुक संगीत सिक्दै थिए। यहाँ अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिन्छ। उनीहरूलाई पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यक्रममा विषयका अतिरिक्त वेद, व्याकरण, न्याय, कर्मकाण्ड, भागवत् र दर्शन पढाइन्छ।

कक्षा ६ देखि १० सम्म पढाउने भनिए पनि हामी पुग्दा कक्षा ७ सम्मका विद्यार्थीमात्र गुरुकुलमा थिए। गुरुकुलको शान्त वातावरणको अवलोकनपपछि बस चढेर फर्कियौँ। प्रहरी स्कुलबाट सुरु भएको हाम्रो यात्रा गुरुकुलमा गएर टुंगियो।

            


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =