‘पाेल’ गाडेको पाँच वर्षसम्म पनि पुगेन बिजुली

हिमाल प्रेस १७ साउन २०८० १६:४२
6
SHARES
‘पाेल’ गाडेको पाँच वर्षसम्म पनि पुगेन बिजुली प्रतिनिधिमूलक तस्बिर।

राेल्पा- सुनछहरी गाउँपालिका-२ भित्रीगाउँमा विद्युत् खम्बा (पाेल) गाडेको पाँच वर्षसम्म पनि बिजुली पुगेकाे छैन। अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निराश बनेका छन्। ‘वडा नं २ का करिब चार सय घरधुरीमा विद्युत् विस्तार गर्ने योजनाअनुसार पाँच वर्षअघिदेखि काम थालनी भए पनि अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ,’ स्थानीय अमन बुढामगरले भने, ‘खम्बा गाडेर तार झुन्ड्याएको छ। सुरुमा विद्युत् आउने आशा लाग्थ्यो, अब आशा पनि मर्न लागिसक्यो।’

झिम्रुक जलविद्युत् आयोजनाअन्तर्गत केन्द्रीय प्रसारण लाइनबाट उक्त लाइन विस्तार गर्न लागिएको हो। विद्युत् विस्तारको जिम्मा लिएको मुख्य निर्माण कम्पनीले सानासाना निर्माण व्यवसायीलाई काम दिँदा योजना निर्माणमा ढिलाइ भएको स्थानीयको भनाइ छ।

पेटीमा काम दिँदा समयमै विद्युत् विस्तार हुन नसकेको स्थानीय मनपती विकले बताइन्। जनआवाज प्राथमिक विद्यालय झेल्कुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकका अनुसार विद्युत् नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ। ‘हुनेखानेको घरमा सोलार छ। त्यसैको उज्यालोले काम चल्छ,’ उनले भनिन्, ‘गरिब विपन्नको घर सधैँ अन्धकार हुन्छ। सोलारले पनि कहिले काम गर्ने कहिले नगर्ने समस्या भइरहन्छ।’

भित्रीगाउँ रोल्पाको सबैभन्दा दुर्गम वडा हो। जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडा पुग्न सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नुपर्छ। जिल्लाका अधिकांश वडा कार्यालयसम्म सडक सञ्जाल जोडिए पनि सो वडामा अझैसम्म सडक सञ्जाल जोडिएको छैन।

विद्युत्, सडकमात्रै होइन उक्त वडा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत र अत्यावश्यक सेवाबाट समेत टाढा छ। माध्यमिक तहको विद्यालय नहुँदा यहाँका विद्यार्थी पाँच घन्टा पैदलयात्रा गरी अर्को वडामा रहेको विद्यालयमा अध्ययन गर्न जाने गर्छन्।

मगर र दलित समुदायको बाहुल्यता भएको सो वडा स्वास्थ्य सुविधाबाट समेत बञ्चित छ। वडामा दुई सामुदायिक स्वास्थ्य एकाइ रहे पनि स्वास्थ्य चौकीको सेवा लिन पाँच घन्टाको पैदलयात्रा गरेर बाहिरी गाउँ जानुपर्छ ।

प्रकाशित: १७ साउन २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =