कञ्‍चनपुर दोधरा चाँदनीको कुतियाकवरका जनतासँग उच्चस्तरीय सैनिक टोली

हिमाल प्रेस १७ साउन २०८० ८:३२
52
SHARES
कञ्‍चनपुर दोधरा चाँदनीको कुतियाकवरका जनतासँग उच्चस्तरीय सैनिक टोली

धनगढी– प्रायः घरायसी काम, खेतीपाती र सिमावर्ती भारतीय बजारमा मजदुरीमा व्यस्त रहने कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-१० कुतियाकवरका स्थानीय मंगलबार गाउँमै जम्मा भएका थिए।

जोगबुढा नदीमा रहेको झोलुंगे पुल तर्दै लस्करै उच्चस्तरीय सैनिक टोली जोगबुढा र महाकाली नदीको दोसाथको बस्ती कुतियाकवर पुगेपछि स्थानीयले ०२२ सालदेखि सीमा रक्षक भएर विकट बस्तीमा भोग्नुपरेको समस्या सुनाए।

बाढी र डुबानबाट ग्रसित हुने कुतियाकवरको स्थलगत अवस्था र प्रभावित क्षेत्रको अनुगमनका क्रममा नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा, पृतनाका सहायक रथी सुरज रावल र श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी मनोज थापालगायत सैनिक अधिकृतको टोली त्यहाँ पुगेको थियो।

बस्तीमा बाढीबाट बच्न निर्माण हुन लागेको ‘सेफ हाउस’ को छेउमा जम्मा भएका स्थानीयका तर्फबाट बस्तीका अगुवा टेकबहादुर सुनारले ०२२ देखि बसोबास रहे पनि ०२९ बाट बस्ती नदी कटान र डुबानको समस्याबाट ग्रसित रहेको बताए।

दलित समुदायको बाहुल्यता रहेको सीमावर्ती कुतियाकवर गाउँमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि बाढी र नदी कटानकै कारण विस्थापित भएर त्यसो संख्या ४२ मा साघुरिएको सुनारको भनाइ छ।

‘यति लामो समय सीमाको रक्षक भएर पनि अभावका बीच सिमाना जिन्दगी बितायौं,’ ६ वर्षदेखि कुतियाकवर सामुदायिक विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका सुनारले भने, ‘०७४ सालमा जोगबुढा पुलबाहेक बस्तीमा सरकारको कुनै सहयोग भएन, चुनावका बेला नेताले आश्वासन मात्रै छरे।’

अझै पनि वर्षातका बेला बाढी बस्ती पस्दा ३ किलोमिटर टाढा रहेको अम्बिका माविमा आश्रय लिन जानुपर्ने अवस्था रहेको उनले बताए।

‘०७८ सालको बाढीपछि त हरेक वर्षातमा स्थानीयमा बाढीको त्रास नै रहन्छ,’ उनले भने,’ अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा सेफ हाउस बन्दैछ।’

सीमावर्ती बस्तीको बाढी र कटानको समस्या बुझ्दै सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले वर्षातका बेला हुने बाढीलगायत विपद् व्यवस्थानका लागि सेना जनशक्ति र स्रोत साधनसहित तयार अवस्थामा रहेको जानकारी दिए।

‘यहाँको वस्तुस्थिति हेर्दै स्थानीय नागरिक र स्थानीय तहसँग समन्वय गरी बाढीका बेला जनधनको क्षति न्यूनीकरणका लागि हामी जहिल्यै अग्रसर छौँ,’ उनले भने, ‘वर्षातका बेला हरेक जिल्लामा तैनाथ सैनिक टोली विपत् व्यवस्थापन तथा क्षति न्यूनीकरणका लागि सदैव तयारी अवस्थामै रहन्छ।’

टोलीले मंगलबार नै कञ्चनपुरको लालझाडी र पुर्नवास नगरपालिकामा बाढीबाट प्रभावित क्षेत्र क्षेत्रको अनुगमन गरेको थियो।

बाढीबाट स्थानीयवासीलाई जोगाउन आवश्यक स्रोत साधनसहित नगरपालिकाले विभिन्न निकायसित छलफल र सहकार्य गरिरहेको दोधारा चादँनी नगरपालिकाका किशोरकुमार लिम्बूको भनाइ छ।

स्थानीय प्रशासन र स्थानीय तहबीच विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सहकार्य गर्न र साधन स्रोत जुटाएर जनशक्ति परिचालन गर्ने विषयमा सहमति जुटेकबहादुरो उनले बताए।

कुतियाकवरमै जन्मिएका ४२ वर्षीय भीमसिंह सुनारले गाउँकै प्रमुख समस्या नै बाढी र नदी कटान रहेको सुनाए।

‘पचासौँ बिघा जमिन जोगबुढा र महाकाली नदीले कटान गरिसक्यो होला,’ उनले भने, ‘दुई नदीको दोसाधको मुखमै बस्ती पर्ने भएकाले बढी क्षति हुँदै आयो।’

जोगबुढामा पुल बनेपछि त्यहाँ डुंगामा आवातजावत गर्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताए। बस्तीमा प्राथमिक तहको विद्यालय आवश्यक रहेको बताउँदै सुनारले अझै आधा घण्टा पैदल हिँडेर बालबालिका जोगबुढा पारी अध्ययनका लागि जानुपर्ने बाध्यता रहेको बताए।

पछिल्लो समय भारतीय पक्षसँग भने सीमामा कुनै खालको विवाद नरहेको सुनारको भनाइ छ। ‘यहाँ हिउँदको खेतीले गुजारा गर्नुपर्ने बेला छ,’ उनले भने, ‘वर्षातको त पाउने की नदीले कटान गरी लैजाने भन्ने टुंगो नै हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =