पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री कूटनीतिमा अब्बल मानिन्छन्। उनले आफ्नो कार्यकालमा अमेरिकाबाट स्काई ट्रक ल्याउने सम्झौता गरेका थिए। नेपालमा संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी लगायो। तराई केन्द्रित दलहरू आन्दोलनमा थिए। नाकाबन्दी खुलाउन राजनीतिक नेतृत्वबाट निकै पहल भयो। तर खुलेन। अन्ततः सैन्य कूटनीतिमार्फत नाकाबन्दी हट्यो। पत्रत्रिकामा प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पहलमा नाकाबन्दी हटेको समाचार छापिए। यद्यपि उनी सेनापतिबाट बाहिरिएपछि उनमाथि अनेकन् आरोप लाग्यो। तर पनि शान्त रहे। उनकै पालामा द्रुतमार्ग निर्माण सेना मातहतमा आएर कार्यावन्यनमा गएको हो। उनै क्षेत्री यतिबेला पारिवारिक भेटघाटका लागि अमेरिकामा छन्। नेपालमा केही नेता र सांसदहरू सेना घटाउने अभव्यिक्ति दिएर विवादमा तानिएका छन्। यसै विषयमा क्षेत्रीसँग हिमाल प्रेसले गरेको टेलिफोन वार्ताको सम्पादित अंश :
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
म सेवानिवृत्त भएको पाँच वर्ष पुगिसक्यो। तर अझै पनि नेपाली सेनामै छु जस्तो लाग्छ। सेनामा लामो समय बिताएर नेतृत्वसम्म पुगेको र हाम्रो परिवार नै सेनामा रहेकाले नेपाली सेना तथा मुलुकसँग भित्रैदेखि आत्मीयता छ। मुलुकलाई कथा-कवितामा भने जस्तो नभएर साँच्चै आमा नै मानेर हामी राष्ट्रहितमा लाग्यौँ।
अहिले म पारिवारिक भेटमा अमेरिका आएको छु। म यहाँ लामो समय बिताउन सक्दिनँ। केही सातामा फर्किहाल्छु। कहिले चितवन, कहिले काठमाडौँ, कहिले पहाड घरतिर त कहिले अमेरिका गरेर समय बितिरहेको छ। कहिलेकाहीँ अध्यापन र सामाजिक कार्यमा पनि संलग्न हुँदै आएको छु।
अमेरिकामा लामो समय बस्नु मन नलाग्नुको कारण?
नातिनातिनाका कारणले अमेरिका आइरहनुपर्ने हुन्छ। नेपालीमा भनाइ छ नि ‘साउँको भन्दा ब्याजको माया।’ यस्तै हुँदो रहेछ। यहाँको याद आउँछ। उनीहरूले पनि बोलाउने गरेकाले बेलाबेलामा आउँछु। केही साता बस्छु। बाबु यतै पढ्न आयो अनि यतै बस्यो। के गर्ने? उनीहरू अहिले होइन अलिक पछि फर्कने भन्छन्। हामी तीन भाइले सेनामा गरेको दुःख सम्झेर उनीहरू त्यसतर्फ जान मानेनन्। कत्ति सम्झाउँदा पनि गएनन्।
मैले बच्चा जन्मिँदा पनि श्रीमतीलाई भेट्न पाएको थिइनँ। सेनामा त्यसरी जान नपाउने भन्ने होइन। कहिलेकाहीँ कामले परिस्थिति त्यस्तै भएर आउँछ। हामीपछिका पुस्ता निकै सोचेर मात्र यस्तो सेवामा प्रवेश गर्छन्। अहिले हाम्रो चार भाइ खलकमा एक जना मात्र सेनामा छन्। तर पनि हामी कतै न कतै जोडिएका छौँ। आफ्नो धर्ती भनेको आफ्नै हो। त्यसैले पनि विदेशमोह छैन।
अब प्रसंग बदलौँ, केही सांसदहरू नेपाली सेनाको खासै काम नभएकाले संख्या घटाउने भन्दैछन्। यसबारे तपाईँले पनि सुन्नुभएको छ कि?
सुनेको छु। नेताहरूले सेनाको संख्या कटौतीबारे बोलेका कुरा सुन्दा अचम्म लागिरहेको छ। केही नेता र पूर्वमन्त्रीका अभिव्यक्ति सुनेपछि नेतृत्वसँग कुराकानी पनि गरेँ। कतिपय दलका नेतालाई त पार्टीको आधिकारिक धारणा नै त्यही हो भने सोहीअनुसार भन्नुपर्यो नत्र तपाईँका सांसद किन जे पनि बोल्दै हिँडेका छन् भनेर प्रश्न गरेको छु। केही सांसदले भनेजस्तो नेपाली सेना कमजोर छैन। सेनाको संख्या घटाउनुपर्छ भनेर सडकमा बोल्दै हिँड्ने कुरा होइन। त्यसरी बोल्नुअघि सेनाको संख्या र जिम्मेवारी के हो अहिले केमा लागेका छन् भनेर स्पष्ट हुन आवश्यक छ।
केही सांसदहरूले आफू लोकप्रिय बन्न संसद्मा सेनाको संख्या घटाउने अभिव्यक्ति दिएका हुन्। यसमा कुनै तुक छैन। नेपालका राजनीतिक नेतृत्वमा कसिमन खाने र कमाउने संस्कार बसेको छ। यिनै सिपाहीहरू कति त मन्त्रीको निवासमा बसेका हुन्छन्। मन्त्रीको घर र निवास गरिरहेका हुन्छन्। अनि बाँकी आठ पृतनामा बाँडिएर रहेका छन्। जिल्लाजिल्लामा निश्चित संख्यामा इन्फेन्ट्री तोकिएको हुन्छ। त्यसअनुरूप काम गर्ने हो नि। अनि बाँकी कति हुन्छ? त्यो हिसाब गरे भइहाल्छ। किन सेनालाई हिलो छ्याप्ने? सेना नगरिक र मुलुकको सुरक्षाका लागि हो।
सेनाको चुस्तता, आधुनिकीकरण र संख्याबारे पुनर्विचार गर्ने चलन थियो। तर अहिले रोकिएको हो र?
रिभ्यु हुन आवश्यक हो र भइरहेको पनि हुन्छ। हरेक वर्ष सबै पृतनाले आफ्नो क्षेत्रका लागि आवश्यक संख्या र पृतनमा कहाँ कति किन भन्ने सबै स्पष्ट पारेर आउँछन्। अनि नियमित हुने पीएसओज बैठकमा त्यसबारे छलफल हुन्छ। पृतनापतिहरूको बैठकमा पनि यस विषयमा छलफल हुन्छ। पूर्वप्रधानसेनापति र जनरलहरूसँग सल्लाह लिने चलन छ। अनि सेनाको सुझाव सरकालाई जाने हो। तर अन्तिममा सेना सरकारको निर्णयमा सेना अघि बढ्छ। सरकारले दरबन्दी दिएमा सेनाले थप्नुपर्ने हुन्छ। यो नियमित प्रक्रिया हो। यसलाई अनेकन् उपाय लगाउन खोजिएको मात्र हो।
सेनाको जिम्मेवारी धेरै भएर पनि संख्या बढेको हो?
पक्कै। नेपाली सेनाले ट्रयाक खोल्नेदेखि उद्धार गर्नेसम्मको काम गरिरहेको छ। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूको सबैको संरक्षण पनि सेनाको जिम्मेवारी हो। पछिल्लो समय सरकारले काठमाडौँ-निजगढ द्रुतमार्ग खोल्ने जिम्मा सेनालाई दियो। चार वर्षअघि पाएको जिम्मेवारीमा सुरुमा सेना अलमलिएझैँ देखिए पनि काम भइरहेको छ। नेपाली सेनाले असजिलो स्थानमा बाटो जोड्ने काम गरिसकेको छ। कतै गर्द पनि छ। अब केही स्थानमा टनेल र पुल आवश्यक छ। त्यो काम पनि अघि बढेको छ।
पहिला उक्त मार्ग नेपाली सेनाको व्यवस्थापनमा बन्ने भनिएको थियो। ठेकेदारको समस्या र यति ठूलो विकास आयोजनामा जिम्मेवारी पाउँदा सेनालाई केही समस्या भएको हो। अब सेना स्पष्ट छ। सके समयमै नसके केही महिना थपेर आयोजना सम्पन्न हुनेछ। तर त्यसतर्फ राजनीतिक नेतृत्वबाट हस्तक्षेप हुनु भएन। सेना कमाउनभन्दा पनि मुलुकको रक्षाका लागि खटिएको हो भन्ने सन्देश दिनुपर्छ। सेनाले सरकारले उपलब्ध गराएको काम गर्ने हो। सेनाले चाहेका सबै परियोजना सरकारले दिँदैन नि। सेनाको जिम्मेवारीमा बन्नुपर्छ भनेमा मात्र सेनाले काम पाउँछ। यति नबुझी सेनामाथि आरोप लगाउने काम भइरहेको छ। त्यस्ता मानिस जोसुकै भए पनि सेनाले निगरानीमा राखेको हुन्छ। किनकि मुलुक कमजाेर बनाउने काममा लाग्ने विषयलाई सेनाले सामान्य रूपमा लिँदैन।
उसो भए सेनाले के गरेको छ? किन त्यत्रो संख्या चाहिन्छ? भन्नेहरूलाई के भन्नुहुन्छ?
मुलुकको यस्तो अवस्था कसले बनाएको हो? यसमा राजनीतिज्ञको हात छैन? सबै क्षेत्रमा राजनीतिकरण हुँदा के हुन्छ भन्ने त कक्षा १२ पछिको पुस्ता विदेश पढ्न भनेर पलायन हुनुले देखाएकै छ। सरकारले तोकेको जुनसुकै जिम्मेवारी सेनाले पालना गरेको छ। भीरमा ज्यानको बाजी लगाएर झुन्डिएर पनि सेनाले काम गरेको छ। सेनालाई प्रहरी जस्तो संयन्त्रमा लैजाने सपना देखेको हो भने बिहान उठेर मुख धोए हुन्छ। त्यस्तो अकांक्षा पूरा हुन सक्दैन। सेना मुलुक हितमा दृढ छ र रहन्छ।
हो, सेनाले राजसंस्थालाई नगरिकले नरुचाएपछि नागरिकलाई साथ दिएको थियो। गणतन्त्रमा सेना अभ्यस्त भइरहेको अवस्था छ। तर गम्भीर प्रश्न छ- सेनालाई धारे हात लगाएर राजनीतिज्ञले मुलुकमा के गर्न लागेका ? सात प्रदेशमा भएका जिल्लामा सेना राख्दा त कतिपय अवस्थामा प्राकृतिक विपत्ति आउँदा सेनाले काम गर्न नभ्याउने अवस्था छ। शान्ति सेनामा पठाएर रेमिट्यान्स र सेनाप्रति युवाको आकर्षण केन्द्रित गर्न बाध्य छ।
सेनाले पनि कतिपय सूचना बाहिर नल्याउँदा भित्र केके न गरेको छ भन्ने परेको पनि त हुनसक्छ नि हैन?
सेना र सञ्चारमाध्यमको सम्बन्ध राम्रो छ। सेनाले एउटा सूचनाका लागि एउटा विभाग नै छ। सहायक रथी प्रमुख रहने र उहाँ नै सैन्य प्रवक्ताका रूपमा रहने व्यवस्था छ। सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण कतिपय सूचना सम्बन्धित स्थानमा गएको हुन्छ। तर पत्रकारलाई भनिएको हुँदैन। चासो दिएर सोधेमा भन्न मिल्ने जति भनिएको हुन्छ। अनि सेनाले कसलाई सूचना दिने-नदिने रणनीतिक चासोको विषयलाई ध्यानमा राखेको हुन्छ।
नेपाली सेना र निजामती कर्मचारीको व्यवहार पनि फरक हुन्छ। सेना राजनीति गर्दैन। उसको कुनै युनियन हुँदैन। हुन्छ त चेन अफ कमान्ड। सुरक्षाको प्रमुख रणनीतिक दृष्टिकोण र बाहिर ल्याउन नहुने विषयबाहेक सार्वजनिक गरेकै हुन्छ। नेपाली सेना सूचना अधिकारी र प्रवक्ता चयन गरेर संविधान र ऐनको परिधिमा छ। त्यही आधारमा समाचार पनि आएका छन्। सेनाले सूचना लुकाएको वा नल्याउने भन्ने होइन। सेनाले राजनीति बुझ्छ तर गर्दैन। सेना अन्य निकायजस्तो जसले जता लग्यो त्यतै फर्कने पनि हुँदैन । प्रधानसेनापतिले नयाँ नेतृत्व चयनमा पनि सबै प्रशिक्षण, विगतको अनुभव, कारबाही सबै नियालेर मात्र आफूपछिको प्रमुख सिफारिस गरेको हुन्छ। यस्ता विषय अहिले भनिरहने र हल्ला गर्ने विषय होइन। सेनामा अनुशासन उल्लंघन गर्नेहरू कारबाहीमा परिरहेका हुन्छन्। ती सबै समाचारका विषय होइनन्।
नेपाली सेनाले शान्ति सेनामा पनि नाम कमाएकै छ नि हैन?
हो, नेपाली सेनाले शान्ति सेनामा पनि उत्तिकै नाम कमाएको छ। स्थल सेनामा नेपाली सेना उच्च स्थानमा छ। कुनै मुलुकले मिसायल हान्दा पनि कब्जा गर्ने स्थलसेनाले नै हो। त्यसमा नेपाली सेनाको क्षमता साँच्चै लोभलाग्दो छ। जुन राष्ट्रसंघीय मिसनमा देखिएकै छ। फिल्डमा जाँदा लडाइँ लड्ने हो। त्यो कति आवश्यक पर्छ भनेर राज्यले तय गर्ने हो। नेपालमा अहिले पनि शक्ति मुलुकको धारणाअनुसार दुई लाखभन्दा बढी सेना आवश्यक पर्छ।
शान्तिको पहलमा ‘नम्बर वान’ मा कहलिएको नेपाली सेना विकास निर्माणमा ठूलो अनुभव नभएर केही आलोचित भए पनि असजिलो स्थानमा सडक जोड्ने र ट्र्याक खोल्नेमा प्रशंसा कमाएकै हो। नेपाली सेनाको आलोचना भए पनि सीधै किन, के र कसो भन्दैन। जसरी हाम्रो मुलुकको नीति असंलग्नता छ। त्यसैले पनि नेपाली सीधै जाइलाग्दैन। तर जाइलागेकालाई छाडेका पनि त छैन। विगत नियाल्ने र वर्तमान अवस्थाअनुसार नै निर्णय लिने हो। नेपाली सेना शान्ति सेनामा नेताको भाषणले छानिएको होइन। काम गरेर छानिएको हो।
नेपाली सेना कमजोर पनि छैन र अहिले गरिएको हल्लाले मुलुक हित पनि गर्दैन भन्ने हो?
पक्कै। नेपाली सेना कमजोर कहल्यिै छैन। म प्रधानसेनापति हुँदा एक उदाउँदो शक्ति मुलुकका समकक्षीले मसँग भनेका थिए- ‘यहाँको हतियार र बन्दुक देखेर म छक्क पर्छु। हाम्राले यस्तो हतियार चलाउनै पाएका छैनन्।’ नेपाली सेनाले एम १६ हतियार लिएको अवस्थालाई देखाउँदै उनले त्यसो भनेका थिए। उनी ‘नेपाली आफ्नो खुकुरीमा पारङ्गत अनि एम १६’ भन्दै झस्किएका थिए। नेपाली सेना द्वन्द्वकालमा बढेको हो। त्यो द्वन्द्वकाल किन लम्बियो यसको उत्तर नेताले पटकपटक दिइसकेका छन्। अहिले त झन् जिम्मेवारी बढेको छ। सेना त्यसै बसेको छैन। त्यसैले संख्या घटाउने, पुनर्संरचना गर्ने जस्ता कुरा गरेर बेमौसमी बाजा बजाउन आवश्यक छैन। खर्च कटौती गर्ने हो भने अन्य धेरै ठाउँ छन्। सेनामा आँखा लगाउने काम त्यति राम्रो होइन। नेपाली सेना जनताको सेना भएर बसेको छ र बसिरहनेछ।
सेनाले आफूलाई चाहिने सामान बनाउँदा, आफ्ना सिपाहीलाई बस्ने स्थानको जोहो गर्दा, क्यान्टिन र किराना चलाउँदा समेत व्यापार गरेको भन्नेहरू छन्। यस्तो जहाँ पनि हुन्छ। सेना पृतनाबाट कमान्डमा गएको र कमान्डबाट पुनः पृतनामा फर्केको अवस्था छ। सेना प्रदेशअनुरूप नै छ। त्यसलाई अन्यथा नलिईकन थप आधुनिक र अब्बल बनाउन प्रशिक्षण बढाउन आवश्यक छ। सबैको सुरक्षामा सेना चाहिने, जिम्मेवारी बढाउँदै जाने अनि सेनाको घटाउनुपर्छ भन्ने! त्यो पनि तर्क हो? हचुवाका भरमा कुतर्क गर्दै हिँड्नु राम्रो होइन।