गायक राजेन्द्र भण्डारीको भर्खरै एउटा गीत सार्वजनिक भएको छ। गीत हो, ‘ऐय्या हो’। उनकै शब्द र संगीत रहेको गीतमा शारदा रसाइलीले साथ दिएकी छन्। सांगीतिक क्षेत्रमा सक्रिय भण्डारी आफूलाई ‘चेतना र सूचनामूलक’ गीत गाउने गायक भन्न रुचाउँछन्। उनका प्रायः गीत सन्देशमूलक र मौलिकता झल्किने किसिमका हुन्छन्।
गाउँघरमा मेलापात, विवाह, व्रतबन्धमा घन्काइने ‘अर्गानिक’ काँठे भाकालाई उनले मेटिन दिएका छैनन्। ‘रिबन केसैमा’, ‘चामलको कनिका’ ‘कफी खाउँ कि चिया’, ‘मापसे’, ‘चाइनी जो’, ‘२ रुपैयाँको सुपारी’, ‘पित्तल पनि देख्दैछु सुन’, ‘हे सानु’, ‘कल्पना’, ‘ए है परान’ लगायत उनका थुप्रै गीत चर्चित छन्। गायक भण्डारीको संगीतयात्राबारे उनीसँग सुस्मिता बजगाईंले गरेको कुराकानी :
बाल्यकाल कसरी बित्यो?
मेरो जन्म २०४१ सालमा सिन्धुपाल्चोक जिल्लामा भएको हो। सानोमा अरूसँग बोल्न लजाउँथेँ। गीत गाउने न इच्छा थियो, न रहर। दोहोरीको टुक्का आउँथ्यो। अरूलाई पछाडिबाट सिकाइदिन्थेँ मात्र।
उतिखेरको पारिवारिक पृष्ठभूमि सम्झिँदा अहिले पनि रुन मन लाग्छ। निमाराको पातमा ढिँडो खाइन्थ्यो। ११/१२ वर्षको थिएँ होला। मामाघर नजिकै थियो। एक दिन मामाघर गएका बेला मामाले मासु किनेर खानु भनेर १ सय ५० रुपैयाँ दिनुभयो। त्यो पैसाले थाल किनेर घर लगेँ। त्यसपछि थालमा भात खान पाएको थिएँ। आमाबाले मलको भारी बोक्नुहुन्थ्यो। उहाँहरूले कमाएको पैसा दुई छाक खाना जुटाउनै ठिक्क हुन्थ्यो। परिवारमा हामी तीन दाजुभाइ, एक बहिनी र आमा बस्थ्यौँ। बा प्रायः घर बस्नु हुन्नथ्यो।
स्कुले जीवन केकस्तो रह्यो? पढाइ कहाँसम्म पुर्याउनुभयो?
स्कुलमा गीत गाउने, अतिरिक्त क्रियाकलापमा भाग लिने कहिल्यै गरिनँ। स्कुल त दिनहुँ जान्नथेँ। आमालाई घरको काममा सघाउँथेँ। बहिनीले खाना बनाउँथिन्। भाइ सानै थियो। घरमा गाईबस्तु थिए। आमालाई घरको काम, बाहिर मेलापात भ्याइ-नभ्याइ हुन्थ्यो। पानी लिन पनि टाढा जानुपथ्र्यो। दाइ र म आमालाई बिहानको घरधन्धा र घाँस काट्न सघाउँथ्यौँ। ९ बजे घाँस घरमा ल्याएर हतारहतार स्कुल जान्थ्यौँ। कहिलेकाहीँ घाँस काट्न टाढा पुग्नुपर्थ्यो। दिउँसो गोठालो जान्थ्यौँ।
सरले दिएको होमवर्क पनि गर्न भ्याइँदैनथ्यो। त्यही भएर राम्रोसँग पढ्न पाइएन। पढाइमा औसतको थिएँ। राम्रोसँग पढेको ९/१० कक्षा पढ्दा हो। त्यतिखेर पढाइ कस्तो हुँदो रहेछ भन्ने अनुभव गरेँ।
एसएलसी पास गरेपछि काठमाडौँ आएँ। काम गर्न थालेँ। कलेज भर्ना भएँ। तर पढ्न पाइनँ। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काम गर्नुपर्थ्यो। एउटा अफिसमा अकाउन्टेटको काम गर्थेँ। जसले गर्दा पढाइ त्यतिकै छोडियो।
गीतसंगीतमा कसरी लाग्नुभयो?
गीत गाउन लजाए पनि शब्दचाहिँ कोर्थेँ। कापीमा गीत लेखेर राख्थेँ। बजारमा आएका नयाँनयाँ गीतका क्यासेट किन्थेँ। गाउँमा छँदा रेडियामा गीत सुन्थेँ। दोहोरीगीत धेरै सुन्थेँ। त्यतिखेर एफएम कमै थिए। त्यसमाथि गाउँमा टावर टिप्न गाह्रो। घरको छानामाथि बाँस राखेर एन्टेना ठड्याएर एफएफ सुन्थेँ। रेडियोमा बज्ने दोहोरी कार्यक्रम नछुटाई सुन्थेँ। गीतबारे सबै जानकारी थियो। गायक, गायिका, सर्जक सबैलाई चिन्थेँ। गीत नगाए पनि नियमित श्रोता थिएँ। त्यतिखेर मैले किनेका अडियो चक्का अझै दुईतीन सयजति बाँकी छन्।
गाउने सुरुचाहिँ कसरी भयो त?
नौ कक्षामा पढ्दा गौरी सरले राष्ट्रिय गीत लेख्न लगाउनुभयो। मेरो गीतलाई सरले ‘राम्रो लेखिस्’ भन्नुभयो। हाम्रोतिर त्यति मेलामहोत्सव हुँदैनथे। कतै रत्त्यौली हुँदा पछाडिबाट अरूलाई टुक्का सिकाउँथेँ। आमाले पनि तीज, तिहार र रत्त्यौलीमा गाउनहुन्थ्यो। सायद त्यसको पनि प्रभाव होला!
२०६३ सालमा दुर्घटनामा परेँ। लगभग ११ महिनाजति घरमै बसेँ। त्यतिबेला भोजराज काफ्लेको ‘भन्नु नभाको’ बोलको गीत आएको थियो। गीत सुनेपछि त्यसैको भाग दुई जस्तो लेखेर गीत बनाएँ र पठाएँ। त्यो गीत बजारमा आएन।
२०६३ सालदेखि मैले गीत लेख्न थालेको हुँ। थुप्रै गीत लेखेँ। अन्य सर्जकलाई पठाएँ तर मेरो नाम आएन। दर्जन गीत बजारमा आए तर मेरो नाम दुईतीन वटामा मात्र आयो। ती गीत पनि खासै चलेनन्।
अनि आफूले लेखेका गीतको श्रेय नपाउँदा चित्त दुख्थ्यो होला नि?
दुख्थ्यो नि किन नदुख्नु? २०६३ सालमा मैले लेखेको गीतले न्याय पायो। त्यतिखेर नयाँ मान्छेले खासै स्थान पाउँदैनथे। आफूले कोरेका शब्द बजारमा ल्याउन धेरै दुःख गरेँ। धेरै पैसा खर्च गरेँ। आफ्नै तालमा गाउँथेँ। स्टुडियोसमेत देख्न पाइनँ। गाउँदा प्राविधिक कुरा सिकाउने कोही भएन। २०६८ सालतिर दुई महिना लगाएर ‘बेरोजगारी’ बोलको गीत गाएँ। अर्को ‘गाँजाको धुवाँ’ भन्ने पनि गाएँ। त्यसपछि ‘ढिकी जाँतो’ गीत निकालेँ।
‘गीतसंगीतमा लाग्छु’ भन्दा परिवारको प्रतिक्रिया कस्तो थियो?
परिवारबाट साथसहयोग पाएँ। आमाले नै गीत गाउनुहुन्थ्यो। उहाँकै प्रेरणाबाट गीत गाउन रहर जागेको हो। मैले र आमाले एउटा गीत पनि निकालेका छौँ ‘वंश’ बोलको गीत।
तपाईंलाई सफलताचाहिँ कुन गीतले दिलायो?
२०६८/६९ सालतिर कोरिया जाने तयारीमा भाषा पढ्न थालेँ। केही समयअघि ‘मापसे’ बोलको गीत लेखेको थिएँ। २०७० सालतिर यो गीत बजारमा ल्याउने तयारी गरेँ। ट्राफिक नियमसँग सम्बन्धित भएकाले यो गीतका कारण धेरै दुःख भोगेँ। त्यतिखेर ट्राफिक सप्ताह पनि चलिरहेको थियो। ‘ज्यान तलमाथि गराइदिने’ धम्की पनि नआएको होइन। ट्राफिकबाट सुटिङ नै रोकियो।
महिनौँसम्म गीत चल्न दिइएन। तर मलाई राजेन्द्र भण्डारी भनेर चिनाउने गीत यही हो। धेरै दुःख पाए पनि सफलता दिलाउने गीत यही बन्यो। ‘मापसे’ गीतले चिनाएकाले कतिपयले ‘मापसे’ भनेर नि चिन्छन्। ‘ढिकी जाँतो’ पनि हिट भयो।
लोकदोहोरी नै किन रोज्नुभयो?
सानैदेखि दोहोरी नै बढी सुन्थेँ। मेरो रुचि दोहोरीमै थियो। अहिले पनि छ र रहनेछ। दोहोरी गीतमा बढी रमाउँछु।
अहिले दोहोरी गीतको अवस्था कस्तो छ?
अहिले दोहोरी गीतको माहोल बढेको छ जस्तो लाग्छ। ‘सालको पातको टपरी हुने’ बोलको गीत आएपछि दोहोरी गीत जमेको भन्न सकिन्छ। फिल्ममा पनि दोहोरीकै शैलीका गीत राख्न थालिएका छन्। केही समयअघि आधुनिक गीतको माहोल थियो। विवाह, मेला, महोत्सव पिकनिकलगायतमा बज्ने हिन्दी र अंग्रेजी गीतको ठाउँ अहिले लोकदोहोरीले लिइरहेका छन्। आधुनिक गीत गाउनेहरू पनि दोहोरी गीत गाउन थालेका छन्।
हालसम्म कति गीत गाइसक्नुभयो?
सयभन्दा बढी छन्।
प्रशंसकबाट कस्तो प्रतिक्रिया पाउनुहुन्छ?
मेरा गीत सदाबहार चल्ने किसिमका छन् जस्तो लाग्छ। कतिपय कलाकार ‘तपाईंको गीत गाउन सकिँदैन’ पनि भन्नुहुन्छ। मेरा लागि यही नै ठूलो कुरा हो। मेरा गीत सामाजिक सन्देश दिने खालका छन्। त्यसैले नयाँ गीत आउँदा धेरैले केही सन्देश होला भन्ने अपेक्षा गर्नुहुन्छ।
आफूले गाएकामध्ये एकदमै मन पर्ने गीत कुन हो?
आफ्ना सिर्जना सन्तानजस्तै हुन्छन्। जसरी सन्तानलाई छुट्याउन सकिँदैन। सबैलाई बराबर माया गरिन्छ। त्यसरी नै आफ्ना सबै सिर्जना मलाई उत्तिकै मन पर्छन्।
संगीतमा कसलाई प्रेरणाको स्रोत मान्नुहुन्छ?
भगवान्नाथ दंगाल, राधिका हमाल, कृष्ण पुन मेरा प्रेरणाको स्रोत हुनुहुन्छ।
दोहोरी गीतमा विकृति-विसंगति भित्रिएको गुनासो धेरैको छ, साँच्चै हो?
सबै गीत त्यस्ता छैनन्। कुनैकुनै होलान्। फेरि त्यस्तो गीत आयो भने धेरैले हेर्ने, चासो दिने, भ्युज पनि बढ्ने हुन्छ। यसो हुँदा मान्छेको हौसला बढ्छ। त्यस्तै अर्को गीत जन्मिन्छ। बीचमा त परिवारसँग बसेर सुन्नै नसक्ने गीत पनि नआएका होइनन्। तर अहिले निकै कम छन्।
दोहोरी गीतको संरक्षणका लागि के गर्नुपर्छ जस्तो लाग्छ?
यहाँ एकअर्काको खट्टा तान्ने प्रवृत्ति बढी छु। हामीले आफ्नो मौलिकता बिर्सिनु हुँदैन भन्ने लाग्छ। दोहोरी गीत परिवारसँग बसेर सुन्न सकिने हुनुपर्छ। विभिन्न संघसंस्थाले मौलिक भाकाको संरक्षण गरिरहेका छन्। अब दोहोरी गीतमा पुस्ता हस्तान्तरण हुन जरुरी छ।
असार भर्खरै सकियो। नयाँ पुस्तालाई ‘असारे गीत गाउ’ भन्दा ‘के हो असारे गीत’ भन्ने अवस्था छ। यो अवस्था बदलिनुपर्छ।