 
                             
                                            काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने तयारी गरेको छ।
शुक्रबार उपकुलपति डा धर्मकान्त बाँस्कोटाले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद्को प्रश्नको जवाफ दिँदै परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने बताएका हुन्।
अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति बाँस्कोटाले बताए।
हालसम्म प्रश्नपत्र अंग्रेजीमा मात्र तयार गरिन्छ। तर विद्यार्थीलाई असहज भएको महसुस गर्दै त्रिविले नेपालीमा पनि तयार गर्न लागेको हो।
‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने सोच बनाएका छौँ। यसबारे अध्ययन गरिरहेका छौँ। तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने सवाल आएमा कसरी समाधान गर्ने भन्ने हाम्रो सरोकारको विषय बन्नेछ’, उपकुलपति डा बाँस्कोटाले भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार अंग्रेजी भाषामा प्रश्न बनाउननै पर्ने हुन्छ, त्यसमा नेपाली भाषा थप्न सकिन्छ तर हरेक मातृभाषा पिच्छे प्रश्न सोध्न सकिँदैन।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 