सुन प्रकरणमा कृष्णबहादुर महरामाथि सीआईबीले छानबिन गर्नुपर्छ : गगन थापा

हिमाल प्रेस २९ साउन २०८० १३:४६ | Monday, August 14, 2023
सुन प्रकरणमा कृष्णबहादुर महरामाथि सीआईबीले छानबिन गर्नुपर्छ : गगन थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले सुन तस्करी प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल छानबिन हुनुपर्ने बताएका छन्। कांग्रेस संसदीय दलको बैठकमा थापाले महराबारे पार्टीले नभई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गरी स्पष्ट पार्नुपर्ने बताएका हुन्। आइतबार माओवादीको पदाधिकारी बैठकमा सुन तस्करीको प्रकरणबारे महरालाई स्पष्ट पार्नुपर्ने भनिएको थियो। तर उक्त बैठकमा महरा नै सहभागी थिएनन्।

‘सुन तस्करी प्रकरणमा नाम जोडिएका सबै अनुसन्धानको दायरामा आउनुपर्छ। माओवादीको पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महरालाई यसबारे स्पष्ट पार्न भनेछ,’ थापाले भने, ‘यो प्रकरणमा स्पष्ट त अनुसन्धानपछि सीआईबीले पारिहाल्छ नि पार्टीले गर्ने हो र?’ सुन तस्करी प्रकरणमा महरा र उनका छोरा राहुलको संलग्नता रहेको आरोप लगाइएको छ।

राहुल आफैँले पनि सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग कुराकानी भएको स्वीकारी सकेका छन्। तर उनले कसैसँग कुरा हुँदैमा तस्करीकै लागि भयो भनेर आरोप लगाउन नहुने बताएका छन्।

उनले सोमबार फेसबुकमा लेखेका छन्, ‘हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौँ कि कोही व्यक्तिसँग सम्पर्क हुदैँमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हो। राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौँ र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौँ।’

सुन तस्करसँग सम्पर्क रहेको राहुल महराद्वारा स्वीकारोक्ति

प्रकाशित: २९ साउन २०८० १३:४६ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast