 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ- विद्यालय शिक्षा सम्बन्धी विधेयक (संघीय शिक्षा ऐनको मस्यौदा) संसद्मा टेबुल नहुँदै विरोध सुरु भएको छ। मन्त्रिपरिषद्ले प्रतिनिधिसभामा टेबुल गर्नका लागि स्वीकृत गरेको थियो। विधेयकमा आफ्ना र विगतमा सरकारसँग भएका सहमति नसमेटिएको भन्दै राहत शिक्षकहरू आन्दोलित भएका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिले आन्दोलनका लागि तयारी रहन मातहतका समितिहरूलाई निर्देशन दिएको छ।
नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बुधबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीको अध्यक्षतामा बसेको बैठकपछि जारी सर्कुलरमा संघीय शिक्षा ऐनको मस्यौदामा आफूहरूसँग सरकारले गरेका सम्झौताका बुँदा नसमेटिएकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिइएको छ।
सर्कुलरमा उल्लेख छ, ‘विधेयकको मस्यौदामा हाम्रो माग र विभिन्न समयमा भएका सम्झौता र सहमतिविपरीत हाम्रो पेसाको स्थायित्वको सवालमा चरम विभेद गरेको देखिएकाले सबै परिस्थतिको आकलन गरी सशक्त सडक आन्दोलन गर्ने भएका छौँ।’
समितिले आन्दोलनको तयारीका लागि साउन १८ गते बिहीबार आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) का सबै सदस्यलाई काठमाडौँमा डाकेको छ। साथै साउन २० गते केन्द्रीय समितिको पूर्ण बैठक बस्ने भएकाले केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरू, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 