 
                             
                                            काठमाडौँ- विद्यालय शिक्षासँग सम्बन्धित विधेयकका मस्यौदामा समावेश गरिएका विभेदकारी प्रावधानको विरोधमा सरोकारवालाहरू संयुक्त रूपमा आन्दोलन गर्न सहमत भएका छन्।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शुक्रबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, अभिभावक महासंघ नेपाल, अभिभावक संघ नेपाललगायतका संस्थाहरूको नेतृत्वसँग भएको छलफलमा यस्तो सहमति जुटेको नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए। छलफलमा विद्यालय शिक्षा विधेयकका अधिकांश मस्यौदा शिक्षामैत्री नरहेकाले आगामी दिनमा तय गर्ने रणनीतिका विषयमा परामर्श भएको थियो।
छलफलले नयाँ बन्ने ऐन अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, निजी क्षेत्रलगायत शैक्षिक सरोकारवालाहरूको पक्षमा हुनुपर्ने निष्कर्ष निकालेको छ। यसका लागि आन्दोलन नै एकमात्र विकल्प भएको गिरीले बताए। महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रथम चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ।
सरकारले साउन १६ गते विद्यालय शिक्षासँग सम्बन्धित विधेयकको मस्यौदा संसद्मा टेबुल गर्न स्वीकृति दिएपछि विधेयकमा रहेका मस्यौदाका विषयमा विरोध हुँदै आएको छ। विरोधमा शिक्षक, विद्यालय कर्मचारी र निजी क्षेत्रले ऐक्यबद्धता जनाउँदै आएका छन्।
निजी क्षेत्रले बिहीबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको थियो। शिक्षक संघसंगठनले पनि आआफ्नो तर्फबाट विरोधका कार्यक्रम आयोजना गर्दै आएका छन्।
विद्यालय शिक्षा विधेयक : सडक आन्दोलनमा जाने शिक्षक संघको निर्णय

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 