पार्टीको कार्यवाहक खनाललाई नदिई किन उपाध्यक्षलाई बाँड्छन् नेपाल?

हिमाल प्रेस २२ साउन २०८० ८:५८ | Monday, August 7, 2023
पार्टीको कार्यवाहक खनाललाई नदिई किन उपाध्यक्षलाई बाँड्छन् नेपाल?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा. वेदुराम भुसाललाई दिएका छन्। आफू विदेश भ्रमणमा जानुअघि नेपालले आफ्नो अनुपस्थितिमा पार्टीको कामकारबाही सञ्चालन गर्न भुसाललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

अध्यक्ष नेपालले भुसाललाई सोमबार बिहान कार्यवाहक अध्यक्षको पत्र दिँदै कुशलतापूर्वक जिम्मेवारी सम्हाल्ने विश्वास लिएका छन्। अध्यक्ष नेपाल पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार नै विदेश गएका छन्।

नेपाल भदौ १ सम्म ती देशको भ्रमणमा रहने जनाइएको छ। अध्यक्ष नेपाललाई बिदा गर्न समाजवादीका दोस्रो स्तरका नेता त्रिभुवन विमानस्थल पुगेका थिए।

यसअघि इन्डोनेसिया भ्रमणका क्रममा नेपालले उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक दिएका थिए। पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा झलनाथ खनाल पर्छन्। तर उनलाई कार्यवाहक नदिइ नेपालले उपाध्यक्षहरूलाई दिने गरेका छन्  नेपालले खनाललाई कार्यकारी पद दिन चाहेका छैनन्।

नेपाल-खनाल टकवराकै कारण कार्यवाहक पद पनि खनाललाई नभइ अरूलाई दिने गरिएको छ। खनाल नेपालका कट्टर आलोचक हुन्। पार्टी स्रोतका अनुसार नेपालको कार्यशैली देखि सैद्धान्तिक विचारधारामा समेत खनाल असन्तुष्ट छन्। यही कारण आफू नजिकको उपाध्यक्षलाई नेपालले कार्यवाहक थमाउने गरेका छन्।

यति मात्र नभई पार्टीका हरेक बैठकमा नेपाल खनालबीच टसल देखिन्छ। हिजोको समाजवादीको स्थायी समिति बैठकमा पनि खनालले नेपालको नेतृत्वमाथि प्रश्न गरेका थिए। एमाले विभाजनको औचित्य पुष्टि नभएको खनालले जनाएका थिए। तर अध्यक्ष नेपालले त्यो कुराको खण्डन गरेका थिए।

महाधिवेशनमा केन्द्रित राजनीति

समाजवादीको महाधिवेशन आउँदो फागुनमा हुँदैछ। नेपालले आउँदो महाधिवेशनमा आफै वा आफ्नो पक्षको कसैलाई अध्यक्ष बनाउने सोचमा छन्। तर यता खनाल त्यो रोक्न चाहन्छन्।

पार्टी निर्माण देखि नै खनाल-नेपालबीच गुटगत टकराव छ। पार्टी स्रोतका अनुसार खनाल पनि एक पटक पार्टीको कार्यभार चलाउन चाहन्छन्। यही कारण उनी नेपाललाई कमजोर बनाउने रणनीतिमा लागेका हुन्।

प्रकाशित: २२ साउन २०८० ८:५८ | Monday, August 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast