 
                             
                                            गलेश्वर- म्याग्दीको बेनी नगरपालिका-२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमा बित्छ। प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै त्यही तरकारी डोकोमा बोकेर बजारसम्म पुर्याएर बिक्री गर्ने उनको दैनिकी छ।
उनले मौसमअनुसार तरकारी खेती गरिरहेकी छन्। उनले दैनिक बेचिने तरकारीको हिसाब राखेकी छैनन्। ‘आफ्ने बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो,’ कार्कीले भनिन्, ‘अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ। यी सबै आफ्नै बारीमा फलाइएका हुन्।’
कार्कीले तरकारी बेच्न थालेको १० वर्ष भइसकेको छ। १० वर्षदेखि डोकोमा बोकेर तरकारी बेचिरहेको उनले बताइन्। बेनी बजारमा उनलाई ‘तरकारी आमै’भनेर चिन्ने र बोलाउने गरेका उनको भनाइ छ।
प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्याउने कार्कीले दैनिक २ हजारदेखि ३ हजार रुपैयाँसम्म कमाइ हुने बताइन्। उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर २ लाख रुपैयाँभन्दा बढी कमाइ भएको छ।
मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताइन्। ‘दैनिक थोरै भनेको २ हजार रुपैयाँ आम्दानी हुन्छ। प्रायः ३ हजार ५ सयसम्म भइरहन्छ,’ उनले भनिन्, ‘बर्खे तरकारी बेचेर २ लाख ६५ हजारसम्म पनि कमाएको छु।’
तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलमा चारतले पक्की घर बनाएकी छन्। कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गर्छन्। चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक पनि हुन्।
कार्कीलेजस्तै आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत पाँच वर्षदेखि घर चलाउँदै आएकी छन् मंगला गाउँपालिकाकी चन्द्रमाया सापकोटाले पनि। ३८ वर्षिया सापकोटाको दैनिक ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म आम्दानी हुने बताइन्।
उनले बर्खे बालीभन्दा हिउँदे बालीबाट बढी आम्दानी गर्ने गरेको बताइन्। ‘हिजोआजको समयमा फलेको तरकारीबाटभन्दा हिउँदे बाली चना, केराउ, साग, जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको १ हजार ५ सय रुपैयाँसम्म आम्दानी गरेको छु,’ उनले भनिन्।
कार्की र सापकोटाजस्तै जिल्लाका धेरै महिला पछिल्लो समय तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। जिल्लाका कृषकले अहिले गोलभेँडा प्रतिकिलो १ सय ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्। वर्षाको समयमा यहाँका किसानले आलु, प्याज, बर्खे खुर्सानी, भेन्टा रायोको सागलगायत हरियो तरकारी बेच्ने गर्छन्।
साथीले गरेको देखेर आफूले पनि सकिँदो रहेछ भनेर तरकारी खेती सुरु गरेको स्थानीय अप्सरा घिमिरेले बताइन्।
बारीमा फलेको तरकारी नजिकको बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा अप्ठ्यारो लागेको भन्दै उनले उमेरले साथ दिएसम्म यही व्यापार गर्ने बताइन्। ‘बजारका घरघरमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो। अहिले आफ्नो पेसा/व्यापार हो भन्ने बुझेको छु। अब सकुञ्जेल यही काम गर्ने हो,’ अप्सराले भनिन्। उनका अनुसार बेनी बजारमा प्रत्येक बिहान अर्गानिक तरकारी किन्ने ग्राहकको भीड हुन्छ। प्रायः ‘मर्निङ वाक’ गर्नेले तरकारी किनेर लैजाने उनले बताइन्। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 