गौर हत्याकाण्डका पीडितले न्याय नपाए हेग जाने प्रभु साहको चेतावनी

हिमाल प्रेस ११ भदौ २०८० १६:३५ | Monday, August 28, 2023
गौर हत्याकाण्डका पीडितले न्याय नपाए हेग जाने प्रभु साहको चेतावनी

काठमाडौँ- आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका पीडितलाई राज्यले न्याय नदिए अन्तराष्ट्रिय अदालत हेगमा गएर मुद्दा हाल्ने चेतावनी दिएका छन्। आज सोमबार पार्टीको केन्देरीय कमिटीको बैठकमा बोल्दै साहले १७ वर्षसम्म गौर हत्याकाण्डका पीडितले न्याय नपाएको भन्दै यस्तो चेतावनी दिएका हुन्।

उनले भने, ‘यदी सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर बस्दैनन्। हाम्रो पार्टी चुप लागेर बस्दैन। पीडितहरू नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छन्। यो चेतावनी दिन चाहन्छौँ।

सत्तामा रहेकाहरूको कुर्सी हल्लिने भएपछि दर्ता भएको मुद्दाको प्रक्रिया अघि नबढाइएको आरोप पनि साहले लगाए। गौर हत्याकाण्डमा २७ जनाको ज्यान गएको थियो।

‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो। मुद्दा दर्ता छ। मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ। १७ वर्ष अगाडी मुद्दा दर्ता छ तर कानुन लाग्दैन। सरकारले भन्छ हामी छानबिन गर्छौैं, तर कुर्सी हल्लिने भएपछि भन्छ केहीदिन रोक्नुपर्छ,’ उनले भने, ‘यो कानुनको शासन हो? कुर्सीको शासन भन्ने कि कानुनको शासन भन्ने? न्यायको लागि सरकार बनेको हो कि? कुर्सी बचाउन सरकार बनेको हो भन्ने प्रश्न आउँछ?’

सरकारमा भएकाहरूले पीडितलाई न्याय नदिएर कानुनी शासनको खिल्ली उडाउने काम गरिरहेको उनको भनाइ छ। त्यस्तै उनले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नगरिएको भन्दै आपत्ति जनाए।

सुन तस्करीमा पनि गठबन्धनका ठूला नेताहरू मिलेर सुनकाण्डमा नाम जोडिएका शीर्ष नेताहरूलाई जोगाउने काम गरिरहेको पनि उनको भनाइ छ।

प्रकाशित: ११ भदौ २०८० १६:३५ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast