गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा

हिमाल प्रेस १० भदौ २०८० १०:३१ | Sunday, August 27, 2023
गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स-रे सेवा उपलब्ध गराएको छ।

गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन प्रत्येक वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।

गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य संस्थाबाट एक सय ५० जना महिलालाई निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान गरिएको उनले बताए। भिडियो एक्स-रेबाट आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था बुझ्न सजिलो भइरहेको उनको भनाइ छ। एम्बुलेन्ससहितको स्वास्थकर्मीको टोली हरेक महिना पालिकाभित्रका गर्भवतीको गर्भवस्थाको परीक्षण गर्न टोलटोलमा पुग्ने गरेका छन्।

‘गाउँपालिकाको बोलाई स्वास्थ्यचौकी, महादेवटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहिद स्मृति आधारभूत अस्पतालबाट निःशुल्क भिडियो एक्स-रे सेवा प्रदान भइरहेको छ,’ उनले भने, ‘त्यस्तै बगुवा स्वास्थ्यचौकी, खान्चोक स्वास्थ्यचौकी, मसेल सामुदायिक स्वास्थ्य एकाइ, ओख्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र, तान्द्राङ स्वास्थ्यचौकीबाट नियमित सेवा उपलब्ध गराइँदै आइएको छ।’

गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालिकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स-रे सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए। ‘प्रोटेबल भिडियो एक्स-रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले वडावडामा पुगेर सेवा दिँदै आएको उनले बताए।

गाउँपालिकाले यो सेवा सुरु गर्नुअघि पालिकाभित्रका गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता थियो। अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। रासस

प्रकाशित: १० भदौ २०८० १०:३१ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast