खर्कमै पुगेर बालबालिकालाई खोप

हिमाल प्रेस २ भदौ २०८० १८:४० | Saturday, August 19, 2023
खर्कमै पुगेर बालबालिकालाई खोप प्रतिनिधिमूलक तस्बिर

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ।

स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो।

हुम्लामा वर्षाको समयमा खर्क तथा अग्लो लेकमा चौँरीगाईसहित अन्य पशुवस्तु चरिचराउका लागि लैजनुका साथै खर्कमा बालबालिका र गोठाला जाने भएकाले उनीहरूको उपचारका लागि घुम्ती शिविर सञ्चालन गरेको हो।

सिमकोट गाउँपालिका–१ चुवाखोला वन र सोही पालिकाको वडा नं ८ मा पर्ने रानीशैनामा रहेका खर्कमा पुगेर स्वास्थ्यकर्मीले बालबालिकालाई खोप र अन्य नागरिकको उपचार गरेको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए।

चुवाखोला र रानीशैना खर्कमा गरी आठ बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, जेइ र मिजल्स रुबेला टाइफाइडलगायत आदि रोगविरुद्धको खोप लगाइएको संयोजक भण्डारीले जानकारी दिए।

यस समयमा खर्कमा बालबालिका पनि सँगै लैजाने भएकाले उनीहरू बसोबास गरिहेका खर्कमा पुगेर खोप लगाइएको हो। यस्तै यी दुईवटा वडामा रहेका उच्च पहाडी खर्कमा गोठाला बसेका ७५ गोठालाको स्वास्थ्य जाँच गरी औषधोपचार गरिएको हो।

यसैगरी चुवाखोला खर्कमा सिमकोेट–१ मा रहेको स्वास्थ्य एकाइ दोजामका स्वास्थ्यर्की रत्न बोहरा, सोही वडामा रहेको कुम्ली आधारभूत स्वास्थ्य एकाइका धनजीत भण्डारी र वडा नं २ ठेहे स्वास्थ्यचौकीबाट खटिएका सविन भण्डारी र वडा नं ८ मा रहेका रानीशैना खर्कमा धरन शाही, खोल्सी स्वास्थ्य एकाइमा नवीन बुढालगायतको स्वास्थ्य टोली उपचारका लागि खटिएका थिए।

बालबालिकालाई खोप लगाउनकै लागि आफूहरू डेढ दिन पैदल हिँडेर खर्कमा पुगेको ठेहे स्वास्थ्यचौकीबाट खटिएका स्वास्थ्यकर्मी सविन भण्डारीले बताउनुभयो। जागिर खाएपछि नजिक टाढा नभनी काममा खटिएको उनीहरूको भनाइ थियो। बर्खायामको झरीसँगै कठिन यात्रामा खटिई सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई गाउँपालिका र स्वास्थ्य शाखाले धन्यवादसमेत दिएको छ। रासस

प्रकाशित: २ भदौ २०८० १८:४० | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast