कोशी प्रदेश सरकार गठनलाई लिएर दोस्रो पटक अदालत जाँदै हिक्मत

हिमाल प्रेस ६ भदौ २०८० ८:२५ | Wednesday, August 23, 2023
कोशी प्रदेश सरकार गठनलाई लिएर दोस्रो पटक अदालत जाँदै हिक्मत हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो।

संसद्को अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेले बताएको छ। कोशी सरकार गठनविरुद्ध मुद्दा हाल्न काठमाडौँ आउँदै गरेको कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए।

अहिलेको सरकार असंवैधानिक भन्दै खारेज गर्न र ठूलो दलका हिसाबले एमालेको सरकार बनाउन माग गर्दै रिट दायर गर्न लागिएको कोशी प्रदेश एमाले दलका उपनेता रामबहादुर राना मगरले बताए।

यसअघि गएको असार २२ पनि एमाले अदालत गएको थियो। सभामुखको समेत हस्ताक्षर लिएर सरकारमा दाबी गरेको भन्दै अदालत पुगेको एमालेको मुद्दामाथि सुनुवाइ गर्दै उद्धव थापाको नियुक्ति सर्वोच्चले बदर गरिदिएको थियो।

त्यसपछि पुनः भएको सरकार गठनमा कांग्रेस संसदीय दलका नेता थापा २७ दिनभित्र दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। यसैबीच आजै कोशी प्रदेशसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसभन्दा पहिले कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे बस्नेछ।

कार्यव्यस्था परामर्शको समितिको बैठकबाट आजका एजेण्डा तय हुने कोशी प्रदेश सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए। तर बैठक बस्नेरनबस्ने भने निश्चित नभएको प्रवक्ता अमात्यले जानकारी दिए।

प्रकाशित: ६ भदौ २०८० ८:२५ | Wednesday, August 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast