काठमाडौँबाट केरुङ हुँदै हिल्सा पुग्यो चार हजार क्विन्टल खाद्यान्न

हिमाल प्रेस १४ भदौ २०८० १६:३७ | Thursday, August 31, 2023
काठमाडौँबाट केरुङ हुँदै हिल्सा पुग्यो चार हजार क्विन्टल खाद्यान्न प्रतिनिधिमूलक तस्बिर।

सिमकोट- काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ। खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका हुन्।

हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जानकारी दिएको छ। तीन दिन अगाडि खाद्यान्न लोड भएका ४० गाडी काठमाडौँबाट छुटेका थिए।

खाद्यान्नको समस्या भएको बेला कम्पनीले चार हजार क्विन्टल खाद्यान्न पैदल मार्गबाट पठाएको हो। जिल्लामा खाद्यान्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यान्न हिल्सा आइपुग्ने शाखाका प्रमुख कृष्ण अधिकारीले बताए।

खाद्यान्न सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए। उक्त खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी गरिनेछ।

उक्त खाद्यान्न अघिल्लो आर्थिक वर्षको हो। खाद्यान्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिने छ। तिब्बती मार्ग हुँदै आउने खाद्यान्न हवाई मार्गको खाद्यान्नभन्दा ढुवानी सस्तो पर्नेछ।

काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यान्न प्रतिक्वीन्टल सात हजार पाँच सय रुपैयाँ र नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न चार हजार आठ सय रुपैयाँ ढुवानी लाग्नेछ।

जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यान्नको भाडा प्रतिक्वीन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल १५ हजार पाँच सय रुपैयाँ लाग्ने गरेको कम्पनीका अधिकारीरू बताउँछन्। रासस

प्रकाशित: १४ भदौ २०८० १६:३७ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast